कटुवा पेस्तोल सहित तीन भारतीय पक्राउ

191

कटुवा पेस्तोल सहित तीन भारतीय पक्राउ

रुपन्देहीमा कटुवा पेस्तोल सहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । एउटै मोटरसाईकलमा सवार भारतको सिद्धार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदी हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी गराउनु भयो ।
भारतीय नम्बर प्लेट युपी ५५ एडी ०६८४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले आईतबार राती साढे ८ बजेको समयमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शंकास्पद उनीहरुलाई प्रहरीले पिछा गरेपछि भाग्ने क्रममा मोटरसाईकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिएर पल्टिएको थियो । मोटरसाईल पल्टिदा उनीहरु तीन जना घाईते भएको पनि प्रहरीले जनाएको छ । मोटरसाईलक चालक मेदी हुसेनले बोकेको कालो प्लाष्टिकको झोलामा कटुवा पेस्तोल, के.एफ. ९ एम.एम. लेखिएको दुई राउण्ड गोली र एक थान चक्कु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।