रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ ।
सैनामैना नगरपालिका वडा न. १ बाट जग्गा नापजाँचको सुरुवात गरिएको हो । जग्गा नापजाँचको शुरुगर्दै नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाका सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सैनामैनाको सुकुम्बासी समस्या समाधान गर्न संविधानतः सरकारले एक पटकका लागि सबै भूमिहिनलाई लालपुर्जा वितरण गर्ने बताउनुभयो । नगरप्रमुख शर्माले आफ्नै कार्यकालमा सबै भूमिहिनलाई जग्गाको स्वामित्व प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसको लागि आयोगलाई आवश्यक पर्ने सबै सहयोग गर्न नगरपालिका तयार रहेको उहाँले बताउनु भयो ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गर्नु भयो । उहाँले संविधान प्रदत्त अधिकारको प्रयोग गरेर भुमिहिन दलित, सुकुम्बासीलाई भोगचलन गरे अनुसारको जग्गा दिनेगरी आयोगले काम गर्ने जानकारी गराउनु भयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राना, पूर्व नगरप्रमुख चित्रबहादुर कार्कीले पनि भनाई राख्नुभएको थियो ।