समाजसेवी बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेले आफ्नो जन्मदिनको अवसरमा अपाङ्ग आश्रममा सहयोग गर्नु भएको छ । आफ्नो जन्मदिनको अवसरमा सोमबार बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमा आश्रीतलाई खाना सहित खाद्यान्न तथा नगद सहयोग प्रदान गर्नुभएको हो ।
उहाँले विगत ९ वर्षदेखि आफ्नो जन्मदिनमा प्रत्येक वर्ष सोही आश्रममा सहयोग गर्दै आउनु भएको छ । जन्मदिनमा हरेक वर्ष उक्त अपाङ्ग आश्रममा सहयो गर्दै आएको र सोही अनुसार यो वर्षपनि आफू सक्दो सहयोग गरेको उहाले बताउनु भयो ।
सहयोग ग्रहण गर्दै आश्रमका अध्यक्ष डोलबहादुर रामदामका अनुसार अहिले उक्त अपाङ्ग आश्रममा ३८ जनाले आश्रय लिईरहेका छन् । एउटा व्यक्तिले सुरु गरेको आश्रममा सामाजिक संघसंस्था र व्यक्तिले सहयोग गरेपनि अहिलेसम्म तीनै तहका सरकारबाट कुनै प्रकारको सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो ।
त्यसबाहेक अहिले त्यहाँ आश्रीत अपांगता भएका व्यक्तिहरुले अगरबत्ति र हार्पिक बनाउने र बजारमा बेच्ने समेत गरेका छन् । त्यसले उनीहरुको जीवनयापनलाई केही सहज बनाएको रामदामले बताउनु भयो ।