कांग्रेस–नीति समाजवादी, व्यवहार व्यक्तिवादी

1.4K

कांग्रेस–नीति समाजवादी, व्यवहार व्यक्तिवादी

aRJUN-nARASING-KCअर्जुननरसिंह के.सी.-

…..केवल प्रजातन्त्रवादकै चर्चा गर्नु बोक्रे कुरा मात्र हो। राजनीतिक परिवर्तनले मात्र जनताको वास्तविक कल्याण हुन्न। यद्यपि क्रुर स्वेच्छाचारी शासनको तल थिचिएका हामी नेपालीहरूलाई हाल प्रजातन्त्रवादको बोक्रे आदर्श पनि निकै राम्रो लाग्नेछ र हामी यस आदर्शको विषयमा कुनै सम्झौता गर्न तैयार हुने छैनौँ। परन्तु …न्यायपूर्ण आधारमा सामाजिक ब्यवस्थाको पुनःनिर्माण नभएसम्म समाजको सर्वाङ्गीण विकास असम्भव छ। राजनीतिक क्षेत्रमा प्रजातन्त्रवाद स्थापित भए पनि यदि आर्थिक शोषण कायमै छ भने जनताले सुख र शान्ति पाउन्नन्। यसै कुरालाई ध्यानमा राखी नेपाली काङ्ग्रेसले राजनीतिक र आर्थिक समानताको आधारमा खडा भएको प्रजातन्त्रवाद आफ्नो लक्ष बनाएको छ।”  – नेपाली काँग्रेसको पहिलो घोषणापत्र, बि.सं. २००६ बाट।

आफ्नो करिब ७० वर्षको जीवनमा नेपाली काँग्रेस आज नवयुगको चौबाटोमा आइपुगेको छ। युगको परिवर्तनसँगै काँग्रेसको भूमिका, दायित्व र जिम्मेवारीमा पनि स्वाभाविक परिवर्तन आएको छ। तर आफ्नो सिद्धान्त, मान्यता, प्रतिबद्धता, लक्ष्य र जनउत्तरदायित्वमा हेरफेर आएको छैन। यसका संस्थापक सदस्य जो–जति जिवित हुनुहुन्छ, उहाँहरू पनि सक्रिय राजनीतिमा हुनुहुन्न। तर स्थापनाकालका मूल्य, मान्यता, प्रतिबद्धतालाई बिर्सेर काँग्रेस उदासिन भएर निरुद्देश्य चल्न सक्दैन। हामी आज पनि प्रथम घोषणापत्रको मूल लक्ष्यलाई नै पूर्णता दिन नसकीरहेको अवस्थामा छौँ।

स्थापनाको ३ वर्ष र एकीकरणको एक वर्षमै नेपाली काँग्रेसले २००७ सालको जनक्रान्ति सम्पन्न गर्‍यो। २००७ सालमा राजा त्रिभुवनलाई उनको जीवनको दोस्रो शाही घोषणामार्फत ‘….हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानअनुसार हवोस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएको…..’ भन्ने ब्यहोरा समावेश गराउन सफल भएको नेपाली काँग्रेसको ऐतिहासिक संघर्ष र प्रयासद्वारा संविधानसभाबाट संविधान बनाउने २००७ सालमा गरिएको शिलान्यासले २०७२ सालमा पूर्णता हासिल गरेको छ। ‘काँग्रेसले संविधानसभाद्वारा संविधान निर्माणको बाटो २०१४ सालमै परित्याग गर्‍यो, त्यसैले यो एजेन्डा हाम्रो हो’ भन्ने हाम्रा कतिपय प्रतिपक्षीको आरोपलाई ऐतिहासिक वास्तविकताले उचित जवाफ दिएको छ। २०२४ साल जेठ १० गते ‘संविधान परिषदको निर्माणका लागि जनता संगठित गर्नु काँग्रेसको निर्णय’ भन्दै ‘राजा महेन्द्रको संविधान च्यात’ भन्ने ब्यहोराको पर्चा वितरण गरिएको थियो। जननायक बीपी कोइरालाले २०२८ असोजमा भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै भन्नुभएको थियो,“यदि मेरो पार्टीले सत्ता पायो भने म संविधानसभा बोलाउने छु, जसले प्रजातान्त्रिक पद्धतिमा आधारित संविधान तयार गर्नेछ।” यी दुवै सन्दर्भलाई प्रा. डा. राजेश गौतमले २०७२ सालमा ३ खण्डमा प्रकाशन गरेको ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काँग्रेस’ पुस्तकमा सप्रमाण उल्लेख छ।

संविधानसभाबाट संविधान बनेपछि काँग्रेसको भूमिका के हो? तेह«ौँ महाधिवेशनको तयारी चलिरहेको वर्तमान स्थितिमा प्रत्येक विचारवान काँग्रेस–जनको कण्ठबाट यो प्रश्न स्वतः उठ्छ, उठ्नुपर्छ। वैचारिक पुनर्जागरण र संस्थागत विकासको पहिलो जिज्ञासा यही हो।

                                                         

प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक परिवेशमा बेलायतको म्याग्नाकार्टा आधुनिक विधिको शासनका लागि प्रस्थान विन्दु र हाम्रा लागि पनि चासो र प्रेरणाको विषय बन्न पुग्यो। बेलायतले ‘म्याग्नाकार्टा’ घोषणाको आठ सयौँ वार्षिकोत्सब सन् २०१५ मा मनायो। इङ्गल्याण्डका तत्कालिन राजा जोनको हुकुमी र स्वेच्छाचारी शासनबाट आजित भएका ‘ब्यारोन’ (भारदार) हरूले शासनमा सुधारको माग राखे पनि राजाले टेरपुच्छर नलगाउँदा ब्यारोनहरूले आफ्नो सेना तयार गरेर राजालाई तह लगाउने कदम चलाएपछि सन् १२१५ मा लण्डनभन्दा ३२ किलोमिटर पश्चिमस्थित रनीमेडको मैदानमा पुगेर राजाले ६३ बुँदे ‘म्याग्नाकार्टा’ (बडापत्र वा महाधिकारपत्र वा धर्मपत्र) गरिदिए, जसलाई आधुनिक विधिको शासन, संसदीय पद्धति तथा कानुनी राजको जग बसाल्ने काम मानिन्छ। राज्यव्यवस्थामा निरंकुशताको अन्त्य, साझेदारीको विकास र जनताको शासनका लागि म्याग्नाकार्टाले उत्प्रेरणा र साहस दिएको मान्नुपर्छ। लोकतान्त्रिक राज्य व्यवस्थामा इतिहासको उठान् कसरी हुन्छ भन्ने यो उदाहरण हो। तर हामीकहाँ बुद्धकालमै राज्य सञ्चालनमा प्रजातान्त्रिक प्रणाली र शब्दावली अवलम्बन गरेबाट नेपालमा प्राचीन कानुनी राज्य व्यवस्थाले पनि प्रजातान्त्रिक पद्धति स्थापना गरेको इतिहास बिर्सनु हुँदैन। त्यसैले प्रजातन्त्र हाम्रो संस्कृति हो, हाम्रो, सभ्यताको द्योतक, परम्परा र मूल्य–मान्यता हो।

म्याग्नाकार्टा निरंकुश राजा र सामन्ती भारदाहरूकावीचको लिखत हो। तर पनि म्याग्नाकार्टाबाट उब्जेका कतिपय प्रावधानहरू विश्वका आधुनिक लोकतान्त्रिक आन्दोलनका एजेण्डा र मुलुकको कानुन बनेका छन्। जस्तै, कर उठाउने र अन्य महत्वपूर्ण राजकीय मामिलामा निर्णय गर्दा राजाले ब्यारोनहरूको सल्लाह र सहमतिमा मात्र गर्ने म्याग्नाकार्टाको प्रावधान, बेलायती उपनिवेशको रुपमा रहेका १३ वटा अमेरिकी राज्यहरूबाट स्वतन्त्रता संग्राम चलाउँदा ‘जनप्रतिनिधित्व हुँदैन भने कर लगाउन पाइन्न’ (नो ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसन) को नारा ल्याए भने नेपाल वा भारतका संसदहरूले जननिर्वाचित संसदबाहेक बजेट, कर, आर्थिक कानुन आदि अरु कसैले बनाउन नपाइने संवैधानिक व्यवस्था गरे। म्याग्नाकार्टाले लोकतान्त्रिक व्यवस्थाका मूल्यलाई यसरी स्थापित गर्‍यो।

काँग्रेसको सन्दर्भमा मैले यो उदाहरण दुई कारणले प्रस्तुत गरेँ। पहिलो, लोकतन्त्रको अन्तर्राष्ट्रिय लहर, आयाम र सरोकार हुन्छ, र दोस्रो, लोकतन्त्रको संस्कृति लोकतान्त्रिक आन्दोलनको इतिहासबाटै विकसित हुन्छ। तर हाम्रो र बेलायती संसदीय स्वरुपमा कुनै फरक छैन भन्ने होइन। बेलायतमा संसदले पार्टीहरू जन्मायो भने हामी कहाँ पार्टीहरूले संसदलाई जन्म दिए। बेलायतमा १६८८ को ‘गौरवशाली क्रान्ति’ ले मात्र संसदको सर्र्वोच्चता स्थापित गर्‍यो भने नेपालमा पार्टीहरूका अथक लोकतान्त्रिक संघर्षबाट संविधानको सर्र्वोच्चता तथा निर्णायक संसदको स्थापना गर्‍यो। संसदीय प्रणालीको प्रसंगमा बेलायत र नेपालको पहिलो मौलिक अन्तर यही हो।

लोकतन्त्रको स्वभाव पोखरीको पानी जस्तो स्थिर होइन नदीको पानीजस्तो गतिशील हुन्छ। लोकतन्त्र भनेको निरन्तर जागरुकताको मूल्यमा टिक्ने पद्धति भएकोले यसको परिमार्जन प्रक्रिया पनि अन्त्यहीन हुन्छ। हिजोसम्म लोकतन्त्रको अभ्यास गरेकैले लोकतन्त्रवादी कहलाइहालियो, आजदेखि जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिबाट लोकतन्त्र सुदृढ र विकसित हुँदैन। लोकतन्त्र भनेको योगदानको ब्याज खाने, अंश पाइने वा मनपरि गर्ने लाइसेन्स होइन। म आफ्नो पार्टी नेपाली कांग्रेसभित्र मात्र यस्तो समस्या रहेको भनिरहेको छैन, सबै पार्टीहरूमा मात्रात्मक रुपमा विद्यमान समस्या हुन्। आज नेपाली काँग्रेसमा जुन खालका वस्तुगत, परिवेशगत, व्यक्तिगत, मनोगत चुनौति र समस्यारुपी खिया लाग्न थालेको छ, त्यस्ता समस्या अन्य पार्टीमा पनि प्रायः उत्तिकै देखिन्छन्। ती समस्याको समाधान पनि पार्टीभित्रै खोज्नुपर्छ। पाखुराको घाउ बाउलाले छोपेर निको हुँदैन, झन् उकुच पल्टेर पाक्दछ। त्यसलाई खुला राखेर उपचार गर्‍यो भनेमात्र सही उपचार हुनसक्छ। तसर्थ वर्तमान परिवेश र यथार्थको धरातलबाट केलाउँदा अबको नेपाली काँग्रेसले आफ्नो कार्यशैलीमा सुधार गर्न वैचारिक तथा व्यवहारिक रुपमा गहिरिएर सोच्नुपर्ने केही अपरिहार्य पक्षलाई उल्लेख गर्ने प्रयत्न गरेको छु ः

१.आन्तरिक लोकतन्त्र र जनताको अपेक्षा

नेपाली काँग्रेसको सम्पूर्ण इतिहास लोकतान्त्रिक आन्दोलनको इतिहास हो। यस अवधिमा काँग्रेसले आपूmलाई देश–विदेशमा शिर ठाडो गरेर हिँड्ने र आँखा चिम्लेर विश्वास गर्न सक्ने राष्ट्रिय शक्तिको पहिचानका साथ आपूmलाई स्थापित गर्‍यो। तर पार्टीभित्र आज आएर आन्तरिक सुधारको अभियान निकै शिथिल र कमजोर भएको छ। लोकतन्त्र भनेको पद्धति मात्र होइन, योसँग प्रक्रिया जोडिएको हुन्छ र प्रक्रियासँगसँगै प्रवृत्ति पनि जोडिएको हुन्छ। ‘लोकतन्त्रवादी’, भनेर सुनाउने होइन, बनेर देखाउने रुप हो, ब्यवहार हो। त्यसैले लोकतान्त्रिक प्रक्रिया र प्रवृत्तिलाई एकीकृत गर्दै पार्टीमा आन्तरिक लोकतन्त्र संस्थागत ढङ्गले विकसित हुनुपर्छ। पार्टीको आन्तरिक लोकतन्त्र, संस्थागत र संगठनात्मक क्रियाशीलताका क्रममा सद्भाव, पारदर्शी र शान्तिपूर्वक नेतृत्व हस्तान्तरणको शिलशिला अत्यन्त महत्वपूर्ण मानिन्छ। यसो हुन नसक्दा नेतृत्वको लागि अप्रिय र घीन लाग्दो होडबाजी, गुटबाजी र दिशाहीन प्रवृत्तिले मौका पाउँछ। यदि नेतृत्वको प्रवृत्ति परिवर्तन हुन सकेन भने पद्धति मात्रको परिवर्तनले संकल्पित लक्ष्य हासिल हुनै सक्दैन। त्यस्तै जतिसुकै राम्रो नीति निर्माण भए पनि कार्यान्वयनकर्ताको नियत सफा नभए नीति परिणाममूखी हुँदैन।

त्यसैले यस्ता विसंगति र विकृतिलाई सच्याउन संस्थागत प्रक्रियाको स्थापना र वैचारिक पूर्नजागरणको आवश्यकता भएको हो आज। लोकतान्त्रिक पार्टीभित्र निर्वाचन र प्रतिस्पर्धा हुनु संस्कृति हो, तर निर्वाचनपछि तिक्तता रहिरहनु विकृति हो। विजेताले पराजितलाई स–सम्मान साथै लिएर हिँड्ने लोकतान्त्रिक संस्कार र पराजितले विजेतालाई सहयोग गर्ने उदार भावना र परिपाटीको विसर्जनका साथै कार्यकर्ताबाट विश्वास आर्जन गरेकाहरूलाई किनारा लगाउने दुस्शाहस बढ्दै गएको छ, जो खतरनाक परिणतिको लक्ष्यण हो। पार्टी आज यतैतिर दिशाहीन मानिसहरूको गुट, उपगुट, गिरोह र निहीत स्वार्थमा सीमित हुँदै गएको छ।

पार्टी भनेको जनताको संस्था हो। जनताको इच्छा, लक्ष्य र कार्र्यकर्ताको निष्ठा र त्यागलाई लत्याएर कसैले एकलौटी चलाउन सक्दैन। त्यसकारण जनताले पार्टीबाट के चाहेका छन् भन्ने वस्तु स्थिति नेतृत्वले अनिवार्य रुपमा बुझेकै हुनुपर्छ। आन्तरिक लोकतन्त्र, जनउत्तरदायित्व, पारदर्शिता, सामाजिक न्याय र सामाजिक समावेशिता, कुनै पनि लोकतान्त्रिक पार्टीका अनिवार्य ५ आधार स्तम्भ हुन्। नेपालको वर्तमान सन्दर्भमा जनताले पार्टीबाट यी ४ कुरा चाहेका छन्ः

१. सहज शान्ति, सुरक्षा र सामाजिक सद्भावको वातावरण,

२. आधुनिक नेपालको निर्माण र विकासको संयोजन गर्ने योग्यता, संकल्प र समर्पण भएका, परिवर्तनका           संवाहक नेता गण,

३. गरीब, सिमान्तीकृत र उपेक्षित जनसमुदायसमेतको अगुवा, न्यायदाता र संरक्षक संस्थाको रुपमा पार्टीहरूका गतिविधि,

४. राज्यमाथि जनताको नियन्त्रण संस्थागत गर्ने कार्यपद्धतिमा माध्यम वा सहजकर्ताको रुपमा पार्टीहरूको भूमिका।

यस कसीमा हेर्दा हामी कति परिणाममूखी र सफल बन्न सकेका छौँ, त्यसको हेक्का राख्नु आवश्यक भएको छ। हामी आपैmँले आफ्नो पार्टीको सम्पूर्ण मूल्याङ्न गर्न सकेनौँ भने अरु कसैले यसको गलत मूल्याङ्कन गर्ने मौका लिनसक्छ। तसर्थ यस्तो मूल्याङ्कनको जिम्मेवारी पार्टीको सर्र्वोच्च निकाय, महाधिवेशनकै हो भन्ने कुरामा कुनै द्विविधा छैन।

२.परम्परागत मनोवृत्ती र नीतिगत कमजोरी

राजनीतिक दलको आन्तरिक पतन सबभन्दा घातक हुन्छ। आफ्नै वरिपरि हामी कतिपय पार्टीको आन्तरिक पतनले बर्वादी निम्त्याएको उदाहरण देख्नसक्छौँ। काँग्रेसजस्तो पार्टी संस्थामूखीभन्दा व्यक्तिमूखी, नीतिमूखीभन्दा नेतामूखी, र अझ बढेर नातमूखी हुनथाल्यो भने लोकतन्त्रको के हविगत हुन्छ? जसले गर्दा पार्टीका हरेक अंग र अपव्यय पराक्रम होइन, नेताको परिक्रमा र भक्तिभाव प्रदर्शन गर्न विवश हुन्छन्। त्यो अवस्थामा ‘लोक’ एकातिर ‘तन्त्र’ अर्कैतिर, ‘राज’ एकातिर ‘नीति’ अर्कैतिर हुनजान्छन्। कार्यकर्तालाई ‘चाकरीकर्ता’ को जमात बनाएपछि के हुने ? यो रोग नेपाली काँग्रेस र समकालीन अन्य सबै पार्टीमा मात्रात्मक रुपमा विद्यमान छ।

पञ्चायतको प्रतिबन्धित अवस्थामा हाम्रो पार्टी नेताहरूलाई नै संस्था मानेर पनि चलेकै हो। समकालीन राजनीतिमा बिपी, गणेशमानजी, सुवर्णजी, सूर्यप्रसादजी, किसुनजी, गिरिजाबाबुहरुकोे व्यक्तित्व, बर्चश्व र प्रभावको कारण समयक्रममा उहाँहरूकै वरिपरि राष्ट्रिय शक्ति र सामथ्र्यको रुपमा पार्टीको विकास भयो। तर, आज पनि संस्थाभन्दा व्यक्तिकै वरिपरि पार्टी घुमिरहने वा घुमाइरहने प्रवृत्तिले काँग्रेस वा कुनै पार्टीको पनि हित सम्भव छैन। वैचारिक मृत्यु भएको पार्टी निष्ठावान र इमानदार कार्यकर्ताका लागि प्रकारान्तरले फगत यातना–यन्त्रको थलो हुनपुग्छ। नीतिबिहिन पार्टी र दिशाविहिन नेतृत्वले पार्टी चलाउँदा लोकतन्त्र कुण्ठित र नोकरशाहीतन्त्रको यन्त्र मात्र हुन्छ।

पार्टीको लागि घातकसिद्ध भएका प्रवृत्ति र गतिविधिहरूप्रति हामी जति पारदर्शी र कडाइका साथ उपचारात्मक कदम चलाउँछौँ, जनसमर्थन र सफलता त्यति नै मिल्दै जानेछ। सिद्धान्त र ब्यवहारमा विरोधाभास, लोकतन्त्र स्थापनामा सफलता तर यसलाई संस्थागत गर्नमा विफल, लोकतन्त्रका निम्ति लड्ने तर ब्यवहारमा प्रजातन्त्रवादी हुन नसक्ने, सत्तामूखी अनुत्तरदायी र आत्मकेन्द्री प्रवृत्ति छोड्न नसक्ने, समकालीन नेतृत्वमा आमरुपमा देखिएका कटु यथार्थ हुन्। त्यसैले आन्तरिक लोकतन्त्र, संस्थागत विकास, प्रतिनिधित्व तथा समावेशिता, वित्तीय पारदर्शिता, नयाँ पुस्ता वा युवा नेतृत्वलाई अवसर दिने कुरामा धेरै नै कमजोरी देखापरेका छन्। यी विसंगति र कमजोरीलाई पार्टीको १३ औँ महाधिवेशनले पनि निमिट्यान्न पार्न सकेन भने ‘रूखभन्दा ऐँजेरु ठूलो’ भएर आउँछ। यस्तो अवस्थाबिरूद्धको जागृति वर्तमान नेपाली कांग्रेसको अस्तित्व रक्षाकै निम्ति जरुरी भएको छ।

आज कांग्रेसको क्रियाशील सदस्यता वितरणको जुन पक्ष र संयन्त्र छ, त्यो वैचारिक राजनीतिको शक्ति होइन निर्वाचनमूखी भएर एकोहोरिएको छ। पार्टीको महाधिवेशनमा सैद्धान्तिक बहसभन्दा पनि निर्वाचनतिर मात्र ध्यान गएको देखिन्छ। पार्टीले के प्रस्ताब पारित गर्दैछ, वर्तमान राष्ट्रिय जटिलता र चुनौतिको सामना गर्न कस्तो नीति अख्तियार गरिँदैछ भन्ने सवाल फगत औपचारिकता हुँदैछ। पार्टीको क्रियाशील सदस्य हुने व्यक्तिमा के कस्तो वैचारिक, नैतिक योगदान, गुण वा क्षमता आवश्यक हुन्छ भन्ने सम्बन्धमा हामीले कहिल्यै ध्यान दिन आवश्यकसम्म ठानेनौँ। तेह«ौँ महाधिवेशनको सिलसिलामा सक्रिय सदस्यता दिँदा साविकका ९ हजार क्रियाशील सदस्य छुटेका छन्। यसलाई कसरी न्यायोचित परिभाषा दिने ? स्थानीय गुटबन्दी, रिसइबी र प्रतिशोधजस्ता अराजनीतिक प्रवृत्तिको कारण महत्वपूर्ण र आवश्यक व्यक्ति पनि छुटेको देखिन्छ। व्यक्ति विशेषप्रति होइन प्रवृत्तिलाई औल्याउनु पर्छ। क्रियाशील सदस्यता वितरणलाई महाधिवेशन वा निर्वाचनमूखी बनाउनुभन्दा पनि त्यसलाई न्यायोचित, संगठनमूखी र जनमूखी बनाउनुपर्ने नितान्त खाँचो र समस्या छ। त्यसैले पार्टी विधानमा संशोधन गरी निर्वाचन महाधिवेशन र नीतिगत महाधिवेशनका रुपमा दुई छुट्टाछुट्टै महाधिवेशनको जरुरत बढेर आएको छ। पार्टीका सम्पूर्ण निकाय, अंग, तह र पक्षलाई जनतावीच उनीहरूको सर्र्वोत्तम भलाइका लागि पूर्ण क्रियाशील बनाउन सकेमा मात्र लोकतान्त्रिक पार्टीको साख, लोकप्रियता र सान्दर्भिकता कायम रहने कुरामा माथिदेखि तलैसम्म हेक्का राख्नु जरुरी छ। त्यसैले अब काँग्रेस महासमितिको बैठक हरेक वर्ष आयोजना गर्नै पर्ने बाध्यकारी प्रावधान पार्टी विधानमा राख्नुपर्छ।

३. भष्टाचार नियन्त्रण: सदाचारको प्रबद्र्धन

आर्थिक गतिविधिमा होशियारी अपनाइएन भने पार्टीबाट जनतामा विवाद र बदनामीको सन्देश जान्छ। यसले लोकतान्त्रिक संस्कारमा समेत जहरिलो असर पार्छ। हार्वार्ड विश्वविद्यालयका प्रख्यात राजनीतिशास्त्री स्यामुएल पी. हटिङ्टनले ‘जर्नल अफ डेमोक्रेसी’ मा प्रकाशित आफ्नो लेखमा ‘लोकतन्त्रको इतिहास धीमा र सुस्थिर हुँदैन, यो त अघि बढ्ने, अनि पछि हट्ने अनि फेरि मडारिँदै अघि बढ्दै शिखरमा पुग्ने समुद्री लहरको एक अनुक्रम जस्तै हुन्छ’ भन्दै उल्लेख गरेका छन्, “विगतको रेकर्डलाई हेर्दा के देखिन्छ भने भविष्यमा प्रजातन्त्रको सुदृढीकरण तथा विस्तारलाई प्रभावित पार्ने दुई प्रमुख निर्णायक कारकतत्व, अािर्थक विकास र राजनीतिक नेतृत्व हुनेछन्। आर्थिक विकासले प्रजातन्त्रलाई सम्भव बनाउछ भने राजनीतिक नेतृत्वले त्यसलाई वास्तबिक तुल्याउँछ।” हटिङ्टनका भनाइको आसय यही हो कि भ्रष्टाचारले आर्थिक विकासलाई अवरूद्ध बनाउँछ। आर्थिक विकास अवरूद्ध भएको अवस्थामा प्रजातन्त्र फस्टाउने अपेक्षा गर्न सकिन्न।

तर आर्थिक अनुशासनको अभाव, भ्रष्टाचार, दण्डहिनता जस्ता मुलुकको वर्वादीको मूख्य रोगले पार्टीहरूलाई सुरक्षित आश्रयस्थल र कतिपय नेतालाई त संरक्षक बनाएका छन्। काँग्रेसमात्र होइन, आजसम्म कुनै पार्टीले यस्ता रोग भित्राउने आफ्नो कुनै नेता वा कार्यकर्तालाई पार्टीगत कारवाही गरेको अपवाद पनि छैन, बरू उनीहरू नै नेतृत्व र निर्णयकर्ता छन्। भ्रष्टाचारीबाट सदाचारी दमित हुनपुगे भने पार्टीमा निष्ठा र नैतिकताको राजनीति धिक्कारको विषय हुने खतरा पैदा हुन्छ। भ्रष्टाचारी र सदाचारी एकै ठाउँमा बस्न सक्दैनन्, राख्नु पनि हुँदैन। तर कतिपय नेतृत्वको मनोवृत्तिमा ‘ऐँजेरुलाई हरियाली र गलगाँडलाई गहना’ ठान्ने  प्रवृत्ति र निहित स्वार्थ देखिन्छ। यस्तो प्रवृत्तिको उन्मुलन गर्नु आजको प्रमुख चुनौति र आवश्यकता हो। पार्टीको १३ औँँ महाधिवेशनबाट यो रोगको उपचार हुनैपर्छ भन्ने सबैको चाहना हो।

४.नीति समाजवादी, व्यवहार व्यक्तिवादी

नेपाली कांग्रसले २०१२ को वीरगन्ज महाधिवेशनबाट विधिवत र सर्वसम्मत प्रक्रियाबाट पार्टीको आधारभूत सिद्धान्त र लक्ष्यका रुपमा समाजवादलाई अँगाल्यो। त्यसपछि भूमिसुधार, विर्ता उन्मुलन, वनको राष्ट्रियकरण, अर्थतन्त्रको संस्थागत परिचालन र विकासका साथै शोषण, अन्याय र असमानताका सबै बाध्यताहरू चुँडाल्ने क्रान्तिकारी कदमहरू चलाइए। गरिव, किसान, उपेक्षित र तिरस्कृत समुदायसम्म आर्थिक पहुँच र सामाजिक न्याय पुर्‍याउने चेष्टामा प्रजातन्त्रलाई माध्यम बनाउनमा कांग्रेस निरन्तर केन्द्रित भयो। तर हामीले कांग्रेसको समाजवादी चिन्तन र सामाजिक न्यायको अवधारणालाई पूर्णता दिन र व्यवहारमा लागू गर्न पटक्कै सकेनौँ। त्यसैले काँग्रेसका बिरोधमा हाम्रा प्रतिपक्षीमात्र होइन, लेखक, विश्लेषक तथा बुद्धिजीवीहरूले पनि औँला ठड्याएका छन्—‘नेपालमा चाहिँ योजनाविदहरूले गरीबी बढाए भने अर्थविदहरूले असमानता,…….१९९० तिर नेपाली कांग्रेसका अर्थमन्त्रीहरूले त्यही सहजमार्ग (पञ्चायतकालीन अर्थमन्त्रीहरूले पहिल्याएको राजपथ) समातेर मुलुकलाई निरन्तर द्वन्द्वको भड्खालामा पुर्‍याए’ (सी.के.लाल, ‘चौबाटामा माओवादीहरू’ शीर्षक लेख, नागरिक दैनिक, कार्तिक २१, सोमबार २०६८)। यस्ता आलोचनालाई मार्गदर्शक सल्लाहका रुपमा हामीले ग्रहण गर्ने कि नगर्ने ? पार्टीले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवादलाई सही ढङ्गले ब्यवहारमा अपनाएको भए न त नेपालको अर्थतन्त्र आज यति दयनीय हुन्थ्यो, न १० वर्षे हिँसात्मक द्वन्द्व यति विध्वंशक नै हुन पाउँथ्यो। यसको जिम्मेवार को ? पार्टीभित्र यो चाहनाको स्वर क्रमशः निकै बलवान हुँदैछ कि काँग्रेसले लोकतान्त्रिक समाजवादलगायतका आफ्ना आधारभूत सिद्धान्तलाई १३ औँ महाधिवेशनबाट पुनःस्थापित गरोस्।

प्रजातान्त्रिक समाजवादले पनि भूमण्डलीकरण र विश्वब्यापीकरणको यथार्थलाई अन्धो भएर उपेक्षा गर्ने होइन। भूमण्डलीकरण र विश्वब्यापीकरणको क्रमसँगै निजीकरण र स्वतन्त्र आर्थिक गतिविधिको जुन वित्तीय युग छ, त्यसबाट अछुतो वा एकाङ्गी रहने वा त्यसदेखि टाढै बस्ने भन्ने सम्भव छैन। अहिलेको भूमण्डलीकरण तथा विश्वब्यापीकरणभित्रै पनि निर्धन–मैत्री एवं साधन र अवसरप्रति सबैको समान पहुँच र गरिबको अझ बढी पहुँच प्रत्याभूत गर्ने अर्थ नीति निर्माण गर्न सकिन्छ। समाजवादको प्रमुख ध्येय यही हो। २०४६ मा प्रजातन्त्रोदय पश्चात पनि यस्तो अर्थनीति निर्माण गर्न हामी प्रचुर मात्रामा चुकेका छौँ। आर्थिक बृद्धिका क्रममा गरिबको सहभागिता नरहेको र लाभांश गरिबसम्म नपुग्ने विकासले केवल आर्थिक विषमताको खाडलमात्र फराकिलो बनाउँछ। त्यसकारण, धनी र गरिबवीचको अन्तर भयावह रुपले बढेको तथ्याङ्क सार्वजनिक भएकै छन््। राष्ट्रिय दृष्टिकोण र संकल्प बोकेर सामाजिक न्याय र ब्यापक समानताको प्रबद्र्धन गर्ने कार्यमा समाजवादलाई गति दिन हामी संकल्पित नरहेकै कारण मुलुकले यो परिणति भोग्नुपरेको हो। परिणाम स्वरुप, हाम्रो शासकीय परिपाटी ‘भण्डार खनेर आँगन पुर्ने’ प्रवृत्तिको हुन गयो।

कृषिप्रधान अर्थतन्त्र रहेर पनि कृषिक्षेत्र निर्वाहमूखी मात्र रहनु नेपालको अर्थतन्त्रको सबभन्दा ठूलो दुर्बल पक्ष हो। अहिले कृषि क्षेत्र गरिबीको डरलाग्दो बस्ती बनिरहेको छ। साधनप्रतिको पहुँच र अवसरको समानताको अभ्यास–क्षेत्र, कृषि रहनु पर्दछ। यसबाट मात्र नेपालको गरिबी भरपर्दाे रुपमा घटाउन सकिन्छ।

नेपालको समस्या गरिबी र असमानता दुबै हो। यस अर्थमा भरपूर रुपमा उत्पादनको बृद्धि हनसक्ने र त्यस्तो बृद्धि गरिबको घर–आँगनबाट प्रारम्भ हुने नीतिको प्रत्याभूतिले मात्र गरिबी र असमानताको समस्या एकैसाथ समाधान गर्न सक्दछ। अबको नेपाली काँग्रेसले यही आर्थिक तथा समाजवादी बाटो लिनु आवश्यक भएको छ।

५. गुट, फुट र भागबण्डाको महामारी

पार्टी भनेको विचार, चिन्तन र बहसको अनुशासित समुह हो। पार्टीमा मत विभाजन हुनसक्छ, तर मन विभाजन हुन नदिनु नेतृत्वको खुबी हो। पार्टीभित्र स्वार्थ–समुहका रुपमा अनेकौँ गुट उपगुट बनेका छन्, जसले पार्टीको स्वाभाविक विकासमै असर पुर्‍याउन थालिसकेका छन्। त्यसैले ‘संस्थागत’ र ‘प्रजातान्त्रिक’ काँग्र्रेसका नाममा हुने विभाजन सदाको निम्ति अन्त्य हुनुपर्छ। हामी कुनै खेमाको काँग्रेस होइनौँ, नेपाली काँग्रेस हौँ भन्ने भावनाको निर्माण प्रथम आवश्यकता हो। वैचारिक रुपले हेर्दा अहिलेका अनेक समुहहरू काँग्रेसको लोकतान्त्रिक संस्कार, वैचारिक मान्यता र परम्पराको मूल्यमा पैदा भएका झाँकी हुन्, लक्ष्यमा पुर्‍याउने इन्जिन होइनन्। पार्टीभित्र हरेक एजेन्डाले बहस समुह वा विचार समुह सिर्जना गर्नसक्छ। एउटै परिवारका सदस्यहरूमध्ये पनि प्रत्येकका आ–आफ्नै रुचि र मनले खाएको अर्को व्यक्ति हुनसक्छ। तर, निश्चित विधि र प्रणालीभित्र ती सबैलाई आबद्ध गरेर नेतृत्व दिने र सिस्टमका आधारमा पार्टी चलाउने पद्धतिको विकास र प्रयास हुनै सकेन। नेतृत्वको अभाव जनाउने यो गम्भीर परिस्थिति हो।

म सानो छँदा त्रिदेवको समान अस्तित्व र महिमा हुँदाहुँदै पनि महादेवलाई देवाधिदेव किन भनियो भन्ने सम्बन्धमा मेरी आमाले गाउँको एउटा गम्भीर विवादको प्रसंगमा बुवाको आवेगलाई नियन्त्रण र संयोजन गर्न व्यंग्यात्मक रुपमा भन्नुभएको उपमा मेरो स्मृतिमा सँधै ताजा रहेको छ— महादेवको वाहन साँढे, उनकी पत्नी पार्वतीको वाहन सिंह, महादेवको घाँटीको हार सर्प, छोरा गणेशको वाहन मुसो र अर्का छोरा कुमारको वाहन मयूरबीच एक आपसमा भेट भयो भने एउटाले अर्कालाई जिउँदो छोड्दैनन्। एकअर्काका शिकार र शिकारीबीच सबैलाई समेटेर, समन्वय गर्ने कौशल सफल नेतृत्वको विशेषता हो र सबैबीच संयोजन गर्नसक्ने भएकैले महादेवलाई देवाधिदेव पनि भनिएको हो।

समकालिन पार्टी नेतृत्वमा यस्तो संयोजनकारी भूमिकाको सर्वथा अभाव छ। कुशल नेतृत्वले बाघ र बाख्रालाई एउटै घाटको पानी पिउने सुरक्षित स्थिति दिनुपर्छ। कतिपय विमतिहरुका बाबजुद सहमति खोज्नु, जुनसुकै विचारको भए पनि उसको योग्यता र क्षमतालाई पार्टीहितमा परिचालित गर्नु नेतृत्वको धर्म हो। तर त्यस्तो क्षमता भएको नेतृत्व नदेखिनु पार्टीको गम्भीर समस्या हो। ‘गाई मारेर गधा पोस्नु’ नेताको विशेषता होइन, गाई र गधा आ–आफ्नो क्षमता र हैसियतअनुसार योगदान दिन सकुन् र एकसाथ बाँच्न पाउन् भन्ने समतावादी ब्यवहार नै सफल नेताको खुबी हो। नेतृत्व कार्यकर्ताको न्यायाधीश पनि हो। तर विभाजनकारी र भागबन्डाको कुसंस्कार पार्टी र सत्तामा यति नराम्रोसँग हावी भएको छ कि, यसले गर्दा योग्य, जनप्रिय, परिश्रमी र पराक्रमी कार्यकर्तालाई लत्याएर आसेपासेलाई अवसर दिने प्रवृत्ति अनियन्त्रित हुँदैछ। यसले गर्दा पार्टीका ऊर्जावान तथा नयाँ पुस्ताका होनहार कार्यकर्ताहरूको आस्था र निष्ठा डग्मगाउने, टिक्नै नसक्ने वा पलायन हुने विवश वातावरण पैदा हुँदैछ।

६. कमजोर प्रविधि

सूचना प्रविधिको अवस्थालाई हेर्ने हो भने काँग्रेस स्थापनाको अवस्था, ००७ सालको क्रान्तिताकाको स्थिति, २०१५ सालको पहिलो आमनिर्वाचन वा ०४६ सालको जनआन्दोलनभन्दा आज अतुलनीय सुविधामा पुगेको छ। एक्काइसौँ शताब्दीमा उपलब्ध अत्याधुनिक प्रविधि, पार्टीको कार्यशैलीमा अपनाएको हुनुपर्ने हो। गाउँ, नगर, क्षेत्र र जिल्लामा क्रियाशील र साधारण सदस्य, उनीहरूका भूमिका, पाएको अवसर, पार्टीमा निजको योगदानका साथै, पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरू, बौद्धिक, औद्योगिक, व्यवसायिक तथा प्रशासनिक र अन्य क्षेत्रमा पार्टीलाई योगदान पुर्‍याएका सबैका सम्पूर्ण गतिविधिबारे अद्यावधिक रेकर्ड राख्न अत्याधुनिक प्रविधिको उपयोग गर्नु नितान्त आवश्यक छ। केन्द्र, क्षेत्र, जिल्ला र स्थानीय नेतृत्वबीचको सञ्चार र समन्वय तार टुटेको टेलिफोन जस्तो छ। केन्द्रका प्रत्येक निर्णय र प्रस्ताबना तत्काल मातहतका निकायमा पुग्ने र यसमार्फत तत्काल स्थानीय तहमा पुर्‍याउने व्यवस्थापन हुनु अनिवार्य छ। तर त्यसो हुन सकेको छैन। कुनै नेता, कार्यकर्ता वा शुभेच्छुकका बारेमा अभिलेख चाहिँएमा पनि दौडादौड गरेर खोज्नुपर्ने, जो आफ्नो नजिकका आसेपासे र अघिल्तिर पर्नेगर्छ उसैको उत्थान हुने अहिलेको अवस्था रहन दिनु नेतृत्वकै कमजोरी हो।

भित्तामा झुण्ड्याइएको क्यालेन्डर एक्काइसौँ शताब्दीको भएर के हुन्छ जब कि मानसिकता र प्रविधि १९ औँ शताब्दीकोे छ भने। एउटा जीवन्त र सशक्त पार्टी संगठनलाई अत्याधुनिक विद्युतीय सूचना प्रविधियुक्त अनिवार्य रुपमा चाहिने विभागहरूमा, अनुशासन, संसदीय मामिला, प्रशिक्षण, प्रचार–प्रसार, सांस्कृतिक, लेखा, विदेश, अभिलेख तथा रेकर्ड हुन्। बहिखातावाला पुरानै मुन्सी कार्यशैलीबाट एककाइसौँ शताब्दीको राष्ट्रिय पार्टी सञ्चालित हुन सक्दैन। अब पुरानै मोडेलको प्रविधिमा पार्टीलाई युगानुकूल बनाउन सकिन्न। यो बिडम्बनाको अन्त्य अबका दिनमा हुनैपर्छ।

७.फितलो र मोलाहिजापूर्ण अनुशासन

पार्टीको सामथ्र्य र उपयोगितालाई अनुशासनले मात्र सम्भव बनाउँछ, लक्ष्यतिर उन्मुख र समर्पित गराउँछ। लोकतान्त्रिक पार्टीभित्र वाद, प्रतिवाद र संवादको स्थितिले लोकतान्त्रिक संस्कार जीवन्त र सुदृढ बनाउन अनुकूल वातावरण निर्माण गर्छ। पार्टीका नीति तथा कार्यक्रममाथि बहस, विवाद र संवाद गर्नु अनुशासनहीनता होइन। कहिलेकाहीँ व्यक्तित्वको टकराहट पनि स्वाभाविक गतिविधिका रुपमा हुने गर्छ। यो लोकतन्त्रको सबल पक्ष हो। तर हाम्रो पार्टीभित्र अनुशासनको कारवाही ‘दोष हेरी होइन मानिस हेरी’ हुनेगर्छ। या हुनै सक्दैन। कसैले पार्टी हित विपरितका छाडा बकवास गर्दै हिँड्दा पनि आँखा र कान बन्द गरेर बुझ पचाउने, कसैलाई अनुशासनको कारवाही निजको पत्ता साफ पार्ने वा प्रतिशोधको नियतले गर्ने प्रवृत्ति बढिरहेको छ।

यस्तो पक्षपाती र अराजनीतिक मनोवृत्तीले पार्टी चल्न सक्दैन। पार्टीमा कोही पनि जन्मजात बरिष्ठ वा कनिष्ठ हुँदैन, कार्यकर्ताबाट पाउने समर्थन, सम्मान र जनप्रियताबाट हुन्छ। कार्यकर्ताहरुले आआफ्ना स्थानबाट पार्टी हितमा पुर्‍याएका योगदानको निष्पक्ष र न्यायोचित मूल्यांकन गर्ने परिपाटीको विकास हुन बाँकी नै छ। मुख हेरेर होइन योगदान र कार्यकर्तावीचको जनप्रियता हेरेर पुरस्कृत गर्ने र अवसर दिने परिपाटी बसाल्नुपर्नेमा नेतृत्वको कार्यशैलीमा मनोमानी प्रवृत्ति हावी भइरहेको छ, जसले पार्टी अनुशासनलाई बलियो होइन, कमजोर बनाउँदै लगेको छ। अनुशासनहिनताले सिङ्गो पार्टीमात्र होइन संस्था र नेतृत्वको आसनका पेचकिला पनि खुकुल्याइदिन्छ।

नेपाली काँग्रेसले विगतमा धेरै नै लोकप्रिय निर्णय गरेको छ। १२ औँ महाधिवेशनबाट छुवाछुत मान्ने मानिस कांग्रेसको नेता वा कार्यकर्ता वा साधारण सदस्य समेत हुनसक्दैन, त्यस्तालाई पार्टीबाट निष्काशन गर्नेसम्मको नीति पार्टीले पारित गरेको थियो। महिला हिंसा, बहुविवाह वा घरेलु हिंसा मच्चाउने जोकोही नेता, कार्यकर्तामाथि कारबाही गर्ने प्रतिबद्धता पनि लिइयो। विद्यालयलाई शान्ति क्षेत्रका रुपमा कायम राख्न र सोहीअनुसारका व्यवहार प्रदर्शित गर्न पार्टीका सम्पूर्ण अवयवलाई निर्देशन जारी गरियो। राम्रा निर्णय त गरियो, तर त्यसलाई कहिल्यै अनुगमन गरिएन। अनुगमन गर्ने कुनै संयन्त्र पनि पार्टीभित्र छैन। यसले गर्दा पार्टीलाई परिणाममुखी र अनुशासनमूखी बनाउन गम्भीर समस्या पैदा भएको छ। पार्टी संयन्त्र कहिलेकाहिँ केवल कुरा उठाउने र निर्णय गर्ने ‘टकिङ् क्लब’ को रुपमा परिणत हुँदैछन्। यसलाई सच्याउन नसक्नु पार्टीको अर्को गम्भीर समस्या हो। नयाँ नेतृत्वले यसलाई पनि सच्याएर पार्टीलाई नयाँ गति दिनु जरुरी छ।

उपयुक्त कटु यथार्थको कसीमा जाँच्दा नेपाली काँग्रेस आज अवसर र चुनौतिको दोसाँधमा आइपुगेको छ। यहाँभित्र ‘बदला’ होइन धेरै कुरा बदल्नु जरुरी छ। काँगे्रसको १२ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’, ‘विधि र संस्थागत ढङ्गले पार्टी चलाउने महाधिवेशन’ जस्ता धेरै विशेषण वा संज्ञा दिइयो, तर ती सबै प्रतिबद्धता झुटो नारा सावित भए। संस्थागत ढङ्गका कुरा त परै जाओस, केन्द्रीय कार्यसमिति केवल केही पदाधिकारीमा सीमित रह्यो। विभागहरू प्रायः निष्कृय रहे, कार्यसम्पादन समिति गठनै भएन, भातृ संस्थाहरूको दशौँ वर्षदेखि अधिवेशन नै भएन।

त्यसैले नाराले निष्ठा तय गर्दैन भन्ने हेक्का राखौँ। १३ औँ महाधिवेशनलाई एकता, आन्तरिक लोकतन्त्र, संस्थागत र विधिसंगत रुपबाट सञ्चालन गरिने लोकतान्त्रिक राष्ट्रिय शक्तिको रुपमा पुर्‍याउन बासी विचार र व्यक्तिवादी ढर्राबाट होइन, सामुहिक नेतृत्वद्वारा नयाँ जोश र जाँगरबाट काँग्रेसलाई गति दिन जरुरी ठानेर पार्टीभित्र वैचारिक पूर्नजागरण नितान्त आवश्यक ठहराएर यी पंक्ति साथीहरूसमक्ष राखेको हुँ। गुट, उपगुट र भागबण्डाको राजनीतिको पूर्णतः अन्त्य गर्दै एउटा वैचारिक सशक्त जनमूखी संस्थाका रुपमा नेपाली काँग्रेसलाई पुनःस्थापित गर्न पार्टीभित्र वैचारिक पुनर्जागरण र संस्थागत विकास आजको अनिवार्य आवश्यकता भइसकेको छ। यो जिम्मेवारीमा आ–आफ्नो स्थानबाट सरिक हुन म सम्पूर्ण साथीहरूलाई विनम्रतापूर्वक हार्दिक आग्रह गर्दछु।

पार्टी जीवनका तात्कालिक र आधारभूत समस्याबारे चिन्तन मनन गर्दा मैलै यिनै मुख्य समस्या र चुनौतिभित्र नेपाली कांग्रेस अल्झिरहेको पाएँ। त्यसैले, यस आलेखले हामीमा नयाँ जागृति र वैचारिक पूनर्जागरणको वातावरण बन्ला, पार्टी जीवनमा सुधार ल्याउन सघाउला र पार्टी पद्धतिमा सुधार र स्वच्छ दर्पणका रुपमा काम गर्ला भन्ने मेरो विश्वास छ। मैले निरन्तर रुपमा यिनै मान्यताहरूमा दृढताका साथ संघर्ष गर्दै आएँ। तसर्थ, पार्टीमा विद्यमान विकृति र विसंगतिका विरूद्ध निरन्तर संघर्ष गर्दै क्रियाशील र समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै साथीहरूको साथ र समर्थनको अपेक्षा गर्दछु। तब मात्र काँग्रेसले आपूmभित्रका विकृतिको उपचार गर्ने शक्ति र उपाय पाउने छ। नेपाली काँग्रेस आफै भित्रबाट २१ औँ शताब्दी अनुकूलको पार्टी हुने छ।सभार सेतोपाटी

Email : arjunnkc@gmail.com