नागरिकता विद्येयक चाँडो स्वीकृत गर्न गृहमन्त्री खाँणको आग्रह

173

नागरिकता विद्येयक चाँडो स्वीकृत गर्न गृहमन्त्री खाँणको आग्रह

गृहमन्त्री बालकृष्ण खाँण प्रतिनीति सभा र राष्ट्रिय सभाले पारित गरेको नागरिकता विद्येयक स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गर्नुभएको छ । उहाँले नागरिकता विधेयक अविलम्ब स्वीकृत हुनुपर्ने बताउनु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीद्वारा आयोजित कोभिड–१९ रोगविरुद्धको पूर्ण खोप र १५ महिना भन्दा कम उमेरका बालबालिकाहरुको नियमित खोप दीगोपना सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको नागरिकता विधेयक अझै स्वीकृत किन हुन सकिरहेको छैन आफूले बुझन नसकेको बताउनु भयो ।
सबै राजनीतिक दलको सहमतिमा ल्याइएको नागरिकता विधेयक स्वीकृत गर्न आग्रह गर्दै नागरिकताबाट वञ्चित भएका नेपाली नागरिकलाई आफू नेपाली भएको अनुभूति दिलाउन पनि नागरिकता विधेयक स्वीकृत हुन आवश्यक रहेको भनाई राख्नुभयो ।
सीमाको रक्षा गरेर बसेका नेपाली नागरिकका सन्तान आफ्नै देशमा अनागरिक भएर बस्नुपरेको पीडाबारे उल्लेख गर्दै उहाँले विधेयक स्वीकृतपश्चात् सरकारी स्वामित्वमा रहेका कार्यालयमा जागिर, उद्योगी, व्यवसायी बन्नसक्ने बताउनु भयो ।
उहाँले पूर्व सरकारले ल्याएको विधेयकमा सार्क मुलुक बाहेकका राष्ट्रमा बस्ने नेपालीहरुले प्राप्त गर्ने नागरिकताको विषयमा मात्र संशोधन गरी अन्य विषयहरु जस्ताको त्यस्तै रहेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउँदै उनीहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्ने बताउनु भयो । स्वयंसेविकाहरु सेवानिवृत हुँदासमेत उनीहरुको जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्नसमेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।