बुबा !!

39

बुबा !!

अर्जुन ज्ञवाली /

गतिवान् समय रोकिने रहेनछ कहिल्यै

वेगवान् नदीजस्तो अविरल अविरल

तर सम्झनाहरू अझ वेगवान् हुँदै छन् आज

हजुरको सम्झना इन्द्रेणी जस्तो भएर

फैलिरहेको छ मनको आँगनमा

अनायासै आँखाहरू अश्रुयुक्त हुनपुग्छन् !!

बुबा !!

अतीतको आँगनमा फर्कँदा

भित्री मन चिमोटिएजस्तो लाग्छ बेस्सरी

विह्वल बन्छ कहालिएको मस्तिष्क

बिर्सन नसकिएका बिस्कुनहरू सम्झनाका

अहो! कति तीव्र छलाङ लगाइसक्यो समयले

लाग्छ म जड भएर बाँचिरहेको छु

मन असाध्य द्रवित भएको छ आज !!

बुबा!!

सुम्सुम्याउँछु बढेका हजुरका दाढीहरू

लुटुपुटु हुन्छु हजुरका मायालु काखमा

छचल्किन्छ्न हजुरको काधिकुरी चडेका यादहरु

आर्द्र भएर कहालिन्छ मन

कस्तो हुने थियो होला

एकपल्ट मात्र पनि भेट्न,

देख्न पाए हजुरलाई

साह्रै नै तिर्खाएको छ मन हजुरको लागि !!

बुबा!!

हजुरको अनुहार

जीवन्त भन्दा जीवन्त भएर

आउँछ मेरो सामु

हजुरले गरेको रमझम वृष्टि स्नेहको

हजुरले दिएको अमूल्य संस्कार

हजुरले देखाएको अद्वितीय जीवनमार्ग

हजुरका स्नेहसिक्त दृष्टिहरू

हजुरले फैलाएका आशीर्वादका हत्केलाहरू

अहो ! सम्झनाले मात्र पनि कण्ठ अवरूद्ध हुन्छ!!

बुबा !!

समयका निष्ठूर हत्केलाहरूले

मेटाइसकेका छन् सबै सुन्दर चित्रहरू अतीतका

कतै कुनै आडम्बर नभएको हजुरको चरित्र

अविरल कार्यशील हजुरका हत्केलाहरू

एकएक गर्दै अगाडि आउँछन्

विभिन्न दृश्य–परिदृश्यहरू

चारै दिशामा हजुरलाई नै देख्छु

अश्रुयुक्त आँखाहरू स्थिर हुन्छन्

हजुरको जिवन्त तस्बिरहरूमा

बुबा ! खै किन किन मन व्यथित छ आज !!