स्वच्छ खानेपानीमा नगरको विशेष ध्यान छ : नगरप्रमुख खाँण

1.3K

स्वच्छ खानेपानीमा नगरको विशेष ध्यान छ : नगरप्रमुख खाँण

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले स्वच्छ खानेपानी खान पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले स्थानीय सरकारले त्यसलाइ विशेष ध्यान दिएको बताउनु भएको छ । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २४ औं साधारण सभाको बुधबार योगीकुटीमा उद्घाटन गर्दै नगरप्रमुख खाँणले हरेक नगरबासीलाइ स्वच्छ खानेपानी प्रयाप्त मात्रामा उपलब्ध गराउनु पर्ने बताउनु भएको हो । पानीको स्वच्छता र प्रयाप्ततालाई ध्यानमा राखेर वितरण प्रणालीलाइ बैज्ञानिक बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
विपन्न नागरिकको अवस्थालाई मध्यनगर गर्दै पानीको शुल्क न्युनतम कायम गर्न पनि उहाँले निर्देशन दिनुभयो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता आधारभुत सेवा सुविधामा बृद्धि गर्दै पर्यटन, कृषि, उद्यमशीलाको विकास र रोजगारीको सिर्जना गरी नगरलाई समृद्ध बनाउने बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख जगेश्वरीदेवी चौधरीले नगरका सबै नागरिकलाई खानेपानीको पहूँचमा ल्याउनु पर्नेमा जोड दिनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गुणनिधि पोखरेलले गुणस्तर, मात्रा, समानता र विश्वस्नीयतालाई कायम राख्दै उपभोक्तालाई स्वच्छ खानेपानीको पहूँचमा ल्याउन ध्यान दिनु पर्ने बताउनु भयो । ११ वटा खानेपानी आयोजना सञ्चालन भइरहेको र अबको दुइ बर्षमा ती आयोजना पुरा हूँदा सम्पूर्ण रुपन्देहीबासी स्वच्छ खानेपानीको पहूँचमा पुग्ने जानकारी दिनुभयो ।
कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त कार्यालय प्रमुख अतुलेश कुमार कर्ण, खानेपानी महासंघका जिल्ला अध्यक्ष धु्रबकुमार धिताल, एमालेका नगर अध्यक्ष तामनाथ पाण्डे, माओवादी केन्द्रका नगर अध्यक्ष वेलप्रसाद शर्मा, जनमोर्चाका नगर अध्यक्ष रुकबहादुर पराजुली, वडा नं. २ का वडाध्यक्ष डिलबहादुर भट्टराई, संस्थाका अध्यक्ष झविन्द्र भण्डारी, निर्वतमान अध्यक्ष तथा सल्लाहकार हरिप्रसाद तिवारी, शंकरनगर आनन्दवन खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष केशवराज न्यौपाने लगायतले खानेपानी, सरसफाइ र ढल निकासको उचित व्यवस्थापनमा सबैको सहयोग र सहकार्य आवश्यक भएको बताउनु भएको थियो ।