बुटवलमा नेवारी संस्कृतिको ‘घिन्ताङ घिसि’ नाच प्रदर्शन गरिएको छ । गाईजात्रा पर्व २०७९ को अवसरमा नेपालभाषा साहित्य तःमुँज्या काठमाण्डौले लोपोन्मुख घिन्ताङघिसि नाच बुटवलमा प्रदर्शन गरेको हो ।
बुटवल नेवा समाज बुटवलको वडा नं. १ र २ को समन्वयमा भएको घिन्ताङघिसि नाच बुटवल उपमहानगरपालिका वडा नं. १ को गणेस्थानबाट सुरु गरि पुलचोक, जीतगढी किल्ला, कालिकामन्दिर, गल्लामन्डी हुँदै विश्वहिन्दु महासंघ प्रदर्शन गरिएको बुटवल नेवा समाज वडा नं. १ का अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रम समापनका अवसरमा बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यस्ता कार्यक्रमले लाेप हुन लागेका कला संस्कृतिकाे संरक्षण र पुनरुत्थान हुने विश्वास व्यक्त गर्नुभयाे ।
गाईजात्रामा प्रदर्शन गरिने घिन्ताङघिसि नाच नेवार समुदायको पुरानो संस्कृति हो । यो अहिले लोपोन्मुख अवस्थामा रहेको नेपालभाषा साहित्य तःमुँज्या काठमाण्डौका संयोजक राजविर डंगोलले बताउनु भयो । काठमाण्डौ उपत्यकामा सिमित रहेको यो नाचको सांस्कृतिक जगेर्ना गर्नको लागि उपत्यका बाहिर प्रदर्शन सुरु गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार भोली शुक्रबार पाल्पा र ४ गते नारायणगढमा प्रदर्शन गरिने छ ।
गाईजात्रामा प्रदर्शन गर्ने घिन्ताङघिसि नाच नेवार समुदायको सांस्कृतिक नाच हो । तर पछिल्लो समय यो नाच लोप हुँदै गएको र यसको संरक्षणको लागि नेवार समुदाय भएको स्थानमा प्रदर्शन गरि उनीहरुलाई आफ्नो कला संस्कृतिको बारेमा जानकारी पनि गराउने र पुर्नउत्थान पनि होस भन्ने उद्देश्यले प्रदर्शन गरिएको संयोजक डंगोल बताउनु हुन्छ ।