बुटवलको सडक निर्माणमा तीन दिन भित्र वेस तयार नभए ठेक्का तोड्न सिफारिस गरिने

1.3K

बुटवलको सडक निर्माणमा तीन दिन भित्र वेस तयार नभए ठेक्का तोड्न सिफारिस गरिने

पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग र र उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्गमा पर्ने बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक विस्तार कार्यमा तीन दिनभित्र वेस तयार नभए ठेक्का तोड्ने र वैकल्पिक व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरिएको छ । त्यसको लागि बिहिबार (आजै)देखि काम थाल्नु पर्ने छ ।
बुटवलको मुख्य सडक निर्माणमा देखिएको समस्याबारे विशेष अनुगमन तथा सहजीकरण समितिको बिहिबार बसेको बैठकले तीन दिन भित्र वेस तयार नभए नभई काम अगाडि नबढेमा सडक विभागलाई ठेक्का तोड्ने र वैकल्पिक व्यवस्था गर्ने गरी सडक निर्माण गर्न सिफारिश गर्ने निर्णय भएको विशेष अनुगमन तथा सहजीकरण समितिका संयोजक बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
बैठकले विद्युतका पोलहरु सबै समयमा नसारेकाले गाड्नुपर्ने स्थानमा २ दिनभित्रमा सम्बन्धित निर्माण व्यवसायीलाई गाड्न लगाउने र तत्काल गाड्न नसकिएको वा गाड्न नपर्ने पोलहरु एकीकृत गरी व्यवस्थित गर्न विद्युत प्राधिकरणका कार्यालय प्रमुख र खानेपानी पाइपहरु व्यवस्थित गरी गाड्नु पर्ने वा नपर्ने यकिन गरी ३ दिनभित्र उचित व्यवस्थापनका लागि नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुखलाई जिम्मेवारी तोक्ने निर्णय गरिएको छ ।
त्यस्तै नेपाल टेलिकमको ट्राफिक चोकमा भएको म्यानुअल चेम्बरलाई ७ दिनभित्र सबै कार्य सम्पन्न गर्ने व्यवस्थापनका लागि नेपाल टेलिकमको निर्देशनालयका निर्देशकलाई जिम्मेवारी तोक्ने निर्णय गरिएको अनुगमन तथा सहजीकरण समितिका संयोजक पन्थीले बताउनु भयो ।
बैठकमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्रलाल उपाध्याय, दुरसञ्चार कार्यालय बुटवलका उपप्रबन्धक नेत्रनारायण खनाल र भगवानराम कलवार, बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपककुमार झा, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतो, नेपाल खानेपानी संस्थान बुटवलका विजय श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजु, निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सुवित श्रेष्ठ, पेम्बा लामा र प्रविण मिश्रा, बुटवल ४ का अध्यक्ष नरिश्वर शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार लगायत सहभागी हुनुहुन्थ्यो ।