रुपन्देहीका फर्निचर उद्योगीले भने – उद्योग गर्ने वातावरण छैन

1.3K

रुपन्देहीका फर्निचर उद्योगीले भने – उद्योग गर्ने वातावरण छैन

रुपन्देहीका फर्निचर उद्योगीहरुले भारतीय घुमन्ते कामदारलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् । उनीहरुका कारण नेपाली उद्योग फष्टाउन नसकेको बताउँदै सरकारले नै भारतीय कामदारलाई निरुत्साहित गर्ने नीति लिनुपर्ने बताएका हुन् ।
त्यस्तै दर्ता नभएका उद्योगहरुलाई पनि कानुनी दायरामा ल्याएर दर्ता गर्नुपर्ने उनीहरुको माग छ । नेपालमा दक्ष कामदारको अभाव, फर्निचरमा उद्योगमैत्री वातावरणको अभाव, उद्योग सञ्चालन भईरहेको जग्गामा समस्या लगायतका कारण सञ्चालनमा रहेका उद्योगहरुले गति लिन नसकेको बताउँदै यी समस्या समाधान हुनेगरी नीतिगत व्यवस्था गर्न उनीहरुले सरकारसंग आग्रह गरेका हुन् ।
बुटवल फर्निचर उद्योग संघ रुपन्देही अन्तरगत गठित अनुगमन उपसमिति तिलोत्तमाले आयोजना गरेको समिक्षा सहितको व्यवसायिहरुको भेलामा बोल्ने वक्ताहरुले कामदारको अभाव, उद्योगमैत्री वातावरणको अभाव तथा दर्ता भएर सञ्चालन गरेका उद्योगको आसपासमा बस्तीको विकास हुने र त्यही वस्तीका कारण उद्योग विस्तापित हुनुपर्ने समस्या रहेको बताएका थिए ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष तेजप्रसाद पराजुली, कोषाध्यक्ष नेत्र रुचाल, पूर्व अध्यक्ष विष्णु श्रेष्ठ लगायतले स्वदेशमै गरीखाने वातावरण बनाईदिन आग्रह गर्नुभएको थियो । त्यस अवसरमा तिलोत्तमा नगरपालिकाका शाखा अधिकृत कृष्णप्रसाद पाण्डेले व्यवसायीलाई राहत हुनेगरी नगरपालिकाले नीति निर्माण गर्ने र दर्ता नभएका व्यवसायीलाई दर्ताको लागि सहजिकरण गर्न नगरपालिका तयार रहेको बताउनु भयो । त्यस्तै भारतीय कामदारलाई निरुत्साहित गर्ने अभियानमा पनि नगरपालिकाको साथ सहयोग रहने भनाई राख्नुभयो ।
अनुगमन उपसमितिका संयोजक लिलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक विनोद न्यौपाने, सदस्यहरु प्रकाश न्यौपाने, डिल्लीराज गौतम, खिम खड्का, गोविन्द श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, मेघराज ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो ।