भूकम्प पुनरावृत्तिको सम्भावित सयम आएपछि लुम्बिनी प्रदेशमा भूकम्पबाट हुने जोखिम न्यूनिकरणको विषयमा छलफल थालिएको छ । ठूला तथा विनासकारी भूकम्प ५ सयदेखि ७ सय वर्षमा पुनरावृत्ति हुने त्यसका अनुसन्धानकर्ताहरुले विश्लेषण गरेका छन् । पश्चिम नेपालमा पछिल्लो सयम सन् १५१५ मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यस्तै पूर्वी नेपालमा ८.४ रेक्टर स्केलको विहार–नेपाल भूकम्प सन् १९३४ (वि.सं. १९९०), ६.९ रेक्टर स्केलको उदयपुर भूकम्प सन् १९८८, मध्ये नेपालमा सन् १२५५ मा ८.४ रेक्टर स्केल र सन् २०१५ (बि.सं. २०७२ मा गोरखाको वारपाक केन्द्र बनाएर ७.८ रेक्टर स्केलको (ठूला विनासकारी) भूकम्प गएको थियो ।
पश्चिम नेपालमा भने सन् १५१५ पछि ठूला विनासकारी भूकम्प गएको छैन । यदि पश्चिम नेपालमा भूकम्पको पुनरावृत्ति भयो भने ८.५ रेक्टर स्केल भन्दा ठूलो भूकम्प जाने र त्यसले ठूलो जनधनको क्षती गर्ने भूकम्प विद् डा. दिपक चम्लागाई बताउनु हुन्छ । नेपालमा गएका भूकम्पहरुको वितरणबाट नेपालमा पूर्वमा प्रदेश १, मध्ये नेपालमा वागमती प्रदेश र पश्चिम नेपालमा सुदुरपश्चिम प्रदेशमा गरी भूकम्पका तीन वटा क्षेत्र प्रष्टसंग देख्न सकिने उहाँले बताउनु भयो । पूर्वी नेपाल र मध्ये नेपालमा पुनरावृत्ति भईसकेकाले पश्चिम नेपालको सम्भावनालाई नकार्न नसकिने उहाँले बताउनु भयो ।
उहाँका अनुसार नेपालमा गएको ६० वर्षको अवधिमा करिव १ हजार ७ सय वटा भूकम्प गएका छन् । त्यसमध्ये ६ रेक्टर स्केल भन्दा माथिका १० वटा मात्रै छन् । त्यस्तै ५ देखि ६ रेक्टर स्केलका ९८ वटा भूकम्प गएका छन् । बाँकी सबै साना हुन् । ठूला विनासकारी भूकम्पको पुनरावृत्ति ५ सय देखि ७ सय वर्ष रहेको पाईएको उहाँले बताउनु भयो ।
पश्चिम नेपालमा भूूकम्पको पुनरावृत्तिको सम्भावना देखिएपछि ईयु ईचको आर्थिक सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र युएनडिपि, युनिसेफ, युएनवुमनको नेतृत्वमा सञ्चालित विपद् तयारी परियोजनाः शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना अन्तरगत युनिसेफको सहयोगमा लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले बुधबार बुटवलमा भूकम्पीय जोखिम एवं प्रभाव सम्बन्धि कार्यशाला गोष्ठी गरेको हो ।
कार्यशाला गोष्ठीमा बोल्दै आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले सम्भावित जोखिम बाट जोखिनको लागि पूर्व तयारी आवश्यक रहेको र यस्ता कार्यक्रमले नागरिकलाई सचेत बनाउने बताउनु भयो । उहाँले जोखिम न्यूनिकरण गर्नको लागि सरकारको तर्फबाट के गर्न सकिन्छ र नागरिक तहबाट के गर्नुपर्छ सबै सचेत हुनुपर्ने भनाई राख्नुभयो । भूकम्प प्रतिरोधी संरचनामा पनि कमजोर रहेको बताउँदै त्यसका बावजुध पनि जोखिम कसरी न्यूनिकरण गर्न सकिन्छ, त्यसतर्फ अग्रसर हुनुपर्ने उहाँको भनाई छ ।
त्यस्तै मन्त्रालयको सचिव कोमलप्रसाद धमलाले भूकम्पको पूर्वानुमान गर्न नसकिने बताउँदै जोखिम कम गर्नको लागि विज्ञको सुझाव अनुसार तयारी गर्नुपर्ने भनाई राख्नुभयो । त्यस्तै मन्त्रालयका प्रशासन योजना तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख उपसचिव दामोदर भण्डारीले विपद् न्यूनिकरणको लागि के कस्तो रणनीति बनाउन सकिएला, त्यसको लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भयो ।
कार्यशाला गोष्ठीमा युनिसेफ भैरहवाका शंकर पौडेलले सहरी विपद् भुकम्पीय पुर्व तयारी (सुपर परियोजना) को बारेमा पृष्ठभूमि, क्षेत्र तथा सूचक सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै युएनवुमनकी समा श्रेष्ठ, युनिसेफ भैरहवाकी फिल्ड अफिसर रिद्धी शर्मा, युएनआरसिओकी तेजमाया डंगोलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।