उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै मन्त्री रानाले भने–जनताको कामलाई महत्व दिनुहोस्

70

उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै मन्त्री रानाले भने–जनताको कामलाई महत्व दिनुहोस्

लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले मातहतका उत्कृष्ट कर्मचारी, कार्यालय र उपभोक्ता समितिलाई सम्मान गरेको छ । मन्त्रालयले उत्कृष्ट कर्मचारीको रुपमा उर्जा जलस्रोत तथा सिचाई सवडिभिजन कार्यालय पुर्वी रुकुममा कार्यरत कार्यालय प्रमुख योगेन्द्र महतो र उत्कृष्ट कार्यलयको रुपमा जलस्रोत तथा उर्जा डिभिजन कार्यालय रुपन्देहीलाई सम्मान गरेको हो ।
त्यस्तै गुमानखोला कालीजंग सिचाई उपभोक्ता समिति रोल्पा, माकर डिप ट्युवेल जलउपभोक्ता समिति वर्दघाट नवलपरासी र प्रपन्ना बर्कनापथ कुलो सिचाई आयोजना दाङलाई उत्कृष्ट उपभोक्ता समितिको रुपमा ८ हजार रुपैंया नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
मन्त्रालयको प्रथम वार्षिक उत्सव तथा प्रदेश जनस्रोत दिवसको अवसरमा सोमबार मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा उर्जा जलस्रोत तथा सिचाई मन्त्री वीरबहादुर राना, राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र सचिव दिपक घिमिरेले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री रानाले मुलुकको समृद्धिको मुल आधार जलस्रोत भएको बताउँदै जलस्रोतको व्यवस्थित प्रयोग गरेर सिचाई र उर्जाको विकासमा लगाउनु पर्ने भनाई राख्नुभयो । उहाँले मुलुक विकासको प्रमुख आधार कृषिमा व्यवसायिक विकास र उर्जा विकास भएको बताउँदै उहाँले त्यसको लागि सिमित स्रोत साधनको उच्चतम प्रयोगमा जोड दिनुभयो । मन्त्री रानाले आजका मन्त्री कर्मचारी पनि भोलीका जनता नै भएको बताउँदै भोलीका दिनलाई पनि हेरेर उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।
त्यस्तै राज्यमन्त्री श्रेष्ठले सम्मानले काममा उत्साह र हौसला बढ्ने बताउदै यसले कार्यालय, कर्मचारी तथा उपभोक्ता समितिको कार्यक्षमतामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव घिमिरेले मन्त्रालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । अघिल्लो वर्ष प्रदेश मन्त्री परिषद्को निर्णयबाट उर्जा जलस्रोत तथा सिचाई मशाखाको रुपमा रहेको कार्यालयलाई मन्त्रालय बनाईएको थियो । त्यस संगै आजकै दिनदेखि यो मन्त्रालयले काम गर्न सुरु गरेको प्रशासन महाशाखा प्रमुख रमेश गौतमले जानकारी गराउनु भयो । मन्त्रालयले ‘कृषिको आधार : सिचाईमा सुधार’ र ‘उज्यालो प्रदेश : लुम्बिनी प्रदेश’ नारा सहित सिचाई र विद्युतीकरणलाई विशेष जोड दिएको छ । त्यसै अवसरमा मन्त्रालयले प्रकाशन गरेको जलस्रोत पुस्तक विमोचन गरिएको छ ।