बुटवल उपमहानगरपालिकामा जनप्रतीनिधीहरुको सय दिनका उपलब्धि सार्वजनिक

28

बुटवल उपमहानगरपालिकामा जनप्रतीनिधीहरुको सय दिनका उपलब्धि सार्वजनिक

बुटवल उपमहानगरपालिकामा उपविजेता, पूर्व जनप्रतीनिधी र दलका नेताहरुको लागि सम्पर्क कक्ष स्थापना गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले सम्पर्क कक्षको उद्घाटन गर्नु भएको हो ।
बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपबिजेताहरुको लागि सम्पर्क कक्ष स्थापना गरिएको नगर प्रमुख पाण्डेयले बताउनुभयो । उहाँले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापिन गर्नका लागि साझा कक्ष स्थापना गरिएको बताउनुभयो ।
उहाँले सम्पर्क कक्षमा आउन र नगरसँग सम्बन्धित कार्यहरु सोही कक्षबाट गर्नका लागि पूर्व जनप्रतिनिधि, उपबिजेताहरु र राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो ।
त्यस्तैगरी बुटवल उपमहानगरपालिकाले १ सय कार्यदिनका उपलब्धि सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले १ सय दिनका उपलब्धि सार्वजनिक गर्नुभयो ।
१ सय दिनका उपलब्धि सार्वजनिक गर्दै नगरप्रमुख पाण्डेयले भन्नुभयो–‘हामी निर्वाचित भएदेखि नै सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौं । बुटवल हामी सबैको र हामी सबै बुटवलको भन्ने भावनासहित बुटवलको सम्मुनत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेछौं ।’
असल शासन, कुशल प्रशासन, चुस्त सेवाप्रवाह र प्रभावकारी कार्यका लागि निरन्तर समर्पित रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बुटवलका समस्याहरु समाधानका लागि संघ र प्रदेशसँग समेत सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । बुटवललाई सबल आर्थिक केन्द्रका रुपमा स्थापित गर्नका लागि सबैको साथ जरुरी रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा प्रमुख पाण्डेयले १ सय दिनको अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, कृषि बजार केन्द्र स्थापना, आम्दा अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको जानकारी गराउनु भयो ।
यस्तै बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि बढाइएको छ ।
डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरुका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि च्यानलाइज गर्ने र तारजाली लगाउने काम गरेको गरिएको नगरप्रमुख पाण्डेले बताउनु भयो ।
त्यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि चरणबद्ध रुपमा योजनाहरु कार्यान्वयनमा जाने बताउनुभयो । उहाँले बुटवललाई सहमति र सहकार्यका आधारमा सबैलाई साथ लिएर अघि बढ्ने बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध र सफल बनाउने योजना सफल पार्नका लागि कर्मचारी संयन्त्र प्रतिबद्ध भएर लाग्ने बताउनु भयो ।