रुपन्देहीमा रात्रीकालिन बजार सञ्चालनको लागि मापदण्डको मस्यौदा तयार

1.3K

रुपन्देहीमा रात्रीकालिन बजार सञ्चालनको लागि मापदण्डको मस्यौदा तयार

रात्रीकालिन बजार सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सञ्चालन मापदण्डको मस्यौदा तयार गरेको छ । व्यवसायीहरुले जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने विषयमा बहस सुरु गरेपछि प्रशासनले मापदण्डको खाका तयार गरेर व्यवसायिक संघसंस्थासंग छलफल समेत गरेको हो ।
प्रशासनले रातीको समयमा अपराधिक कृयाकलाप पनि हुनसक्ने सम्भावित जोखिम हटाउनको लागि रात्रीकालिन बजार सञ्चालनको लागि मापदण्ड तयार गरेको हो । तयार गरिएको मापदण्डमा नसमेटिएका र सुधार गर्नुपर्ने कुराहरु के के हुनसक्छन् व्यवसायिक संघसंस्थासंग छलफल गरेर सुझाव मागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनु भयो । ‘रात्रिकालिन व्यवसायमा मनोरञ्जन पनि जोडिन्छन्, जसका कारणबाट अपराधिक गतिबिधि पनि हुन सक्छन् ।’ उहाँले भन्नुभयो–‘रात्रीकालिन बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ ?, कसरी मर्यादित बनाउन सकिन्छ ?, त्यसको लागि मापदण्डको खाका तयार गरिएको हो ।’
प्रशासनले तयार गरेको मापदण्डको मस्यौदामा होटल लगायत मनोरञ्जनात्मक व्यवसायलाई बढी फोकस गरिएको छ । जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएपछि प्रारम्भ हुनेगरी तयार गरिएको मापदण्डमा रात्रीकालिन बजार सञ्चालन गर्ने स्थानमा सिसिटीभि र लाईटलाई अनिवार्य गरिएको छ । कम्तिमा ३० दिनको रेकर्ड रहने गरी सिसिटिभिको व्यवस्था गर्नुपर्ने छ भने लाईन गईहालेमा पनि वैकल्पिक लाईको प्रवन्ध मिलाएको हुनुपर्ने छ ।
महिला कामदारको सुरक्षालाई विशेष महत्व दिईएको छ । त्यसबाहेक व्यवसायिक आचारसंहिता, श्रम ऐन अनुसारको श्रमिकको न्यूनतम पारिश्रमिक, महिला कामदारलाई पूर्ण सुरक्षाको प्रत्याभूति गराउने प्रावधान राखिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले रात्रीकालिन बजार सञ्चालनको लागि सुरक्षालाई फोकस गरिएको र निर्धारण गरिएको मापदण्ड पालना गर्न व्यवसायीहरु तयार हुनुपर्ने बताउनु भयो ।
त्यस्तै होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्ने व्यवसायीले व्यवसायको प्रकृति अनुसार सम्वन्धित निकायमा दर्ता गरी व्यवसाय सञ्चालनको लागि लिनुपर्ने अनुमति लिई सञ्चालन गर्नुपर्ने छ । त्यस्तै व्यवसाय सञ्चालन गर्ने समय र राज्यले गर्ने स्वास्थ्य मापदण्ड सम्बन्धि व्यवस्थाको पनि पालना गर्नुपर्ने छ । सबै व्यवसायी कर्मचारी तथा कामदारहरुले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएको हुनुपर्ने छ । व्यवसाय सञ्चालन गर्दा राज्यले जारी गरेका कानुनी प्रावधानहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । त्यस्तै सबैले देख्नेगरी मुल्यसूची राख्नुपर्ने छ ।
त्यस्तै सेवाग्राहीले पनि श्रमजीवि महिलाहरु प्रति सम्मानजनक व्यहार गर्नु पर्ने छ । उनीहरुको मर्यादामा आँच आउने कुनै पनि गतिबिधि गर्न पाईने छैन । नृत्य गर्ने कलाकारहरुले उत्तेजक पोशाक लगाई नृत्य गर्न पाईने छैन । रात्रीकालिन बजारमा सञ्चालित प्रतिष्ठानले आफ्ना कामदार कर्मचारीलाई ड्रेस तथा परिचय पत्रको व्यवस्था गर्नुपर्ने छ भने कार्यस्थलमा उनीहरुले अनिवार्य रुपमा ड्रेस लागाउने र परिचयपत्र भिरेको हुनुपर्ने छ ।
रात्रीकालिन बजारमा मापदण्ड अनुसार काम भए/नभएको अनुगमन गर्नको लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक सहने गरी अनुगमन समितिको परिकल्पना गरिएको छ । अनुगमन समितिमा जिल्ला समन्वय अधिकारी जिल्ला समन्वय समितिको कार्यालय, प्रहरी नायव उपरीक्षक जिल्ला प्रहरी कार्यालय, ससस्त्र प्रहरी नायव उपरीक्षक ससस्त्र प्रहरी बल, सम्बन्धित स्थानीय तहका अधिकृत र व्यवसायिक संस्था रहने छन् । व्यवसायिक संघसंस्थाहरुको सुझाव सल्लाह अनुसार मापदण्डको मस्यौदामा सुधार गरेपछि मात्रै कार्यान्वयनमा जाने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।