पूर्वमन्त्री झाँक्रीले भनिन् : पानीजहाज र रेल ल्याउने हावादारी गफ मात्रै हो

1.3K

पूर्वमन्त्री झाँक्रीले भनिन् : पानीजहाज र रेल ल्याउने हावादारी गफ मात्रै हो

पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले हावादारी गफमा नअलमलिन मतदातालाई आग्रह गर्नुभएको छ । उहाँले एमाले तर्फ ईंगित गर्दै पानी जहाज, रेल, घरघरमा पाईपलाईनबाट ग्याँस जस्ता हावादारी गफमा नअलमलिन मतदातालाई आग्रह गर्नुभएको हो ।
रिपोटर्स क्लवले बीहिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आवश्यकताको आधारमा प्रष्ट एजेण्डा ल्याउनेलाई साथ दिन पनि आग्रह गर्नुभयो । मुलुकको दीर्घकालिन हित सहि नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताउँदै उहाँले गठबन्धन देश र जनताको हितमा रहेको दावी गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले दुई तिहाई मतको कदर गर्न नसकेको एमालेलाई फेरी मत दिन नहुने बताउँदै मतदातासंग गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले नागरिकता विधेयक राष्ट्र र जनताको हितमा रहेको बताउँदै एमालेले त्यसलाई चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाउनु भयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद पहाडीले संघीयता र संविधानलाई संस्थागत गर्नको लागि ५ दलीय गठबन्धन भएको बताउँदै आगामी निर्वाचनमा जुन दलले टिकट पाए पनि सबै एक भएर प्रतिस्पर्धा गर्ने बताउनु भयो ।
नेकपा एमाले लुम्बिनी प्रेदेश सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले आगामी निर्वाचनमा गठबन्धनसंग सामना गर्ने शक्ति एमालेसंग रहेको दावी गर्नुभयो । उहाँले पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएको बताउँदै निर्वाचन आयोगले निगरानी गर्नुपर्ने भनाई राख्नुभयो ।