आज विजया दशमी : ११.५१ बजे टिकाको उत्तम साईत

1.3K

आज विजया दशमी : ११.५१ बजे टिकाको उत्तम साईत

आज विजया दशमी, अर्थात दशैंको मुख्य दिन । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टिका, जमरा लगाएर हर्षोल्लासका साथ धुमधामसंग दशैं मनाईँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले टिका लगाउने उत्तम साईत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेको र साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी गराउनु भएको छ ।
घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका लगाउने पश्चिम र लगाइदिने पूर्व फर्कनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत बिहान १० बजेर ३४ मिनेटमा तोकिदिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।
देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष अधिकारीले बताउनु भएको छ । त्यस्तै आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।