रुपन्देहीको क्षेत्र नं. २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङ विच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले पूर्वगृहमन्त्री राप्रपा नेता निरञ्जन थापा सहित आईतबार निर्वाचन आयोगको कार्यालय बुटवल उपमहानगरपालिकामा पुगेर उम्मेदवारी दर्ता गराउँदा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले काँग्रेस माओवादी नेता कार्याकर्ताको दलबल सहित पुगेर प्रतिनीधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिकाको केही भाग र सैनामैना नगरपालिकाको केही भाग रहेको क्षेत्र नं. २ मा पर्ने तीन वटै नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले जितेको छ । २०७४ को निर्वाचनमा पौडेललाई जिताउन खटिएका गुरुङ एमालेको विभाजन पछि नेकपा एकीकृत समाजवादीमा लाग्नु भएको थियो । र अहिले पौडेलसंग प्रतिस्पर्धामा उत्रिनु भएको छ ।
स्थानीय निर्वाचनमा गठबन्धन सफल भएकाले प्रतिनीधि तथा प्रदेश सभा सदस्यमा पनि सत्ता गठबन्धन सफल हुने सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेता गुरुङले बताउनु भयो । उहाँले आफ्नो उम्मेदवारी दर्ता पछि पत्रकारहरुसंग बोल्दै यस क्षेत्रको विकासको लागि निरन्तरताको क्रमभंगताको लागि आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिनुभयो ।
अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित एमाले उपाध्यक्ष पौडेलले पनि आफ्नो जीत सुनिश्चित रहेको प्रतिक्रिया दिनुभएको छ । उम्मेदवारी दर्ता पछि उहाँले भन्नुभयो–‘स्थानीय निर्वाचन पछि तिनाउमा धेरै पानी बगिसकेको छ ।’ उहाँले यस अगाडि आफूले सुरु गरेको विकासलाई पूर्णता दिनको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।
यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनीधि सभामा गुरुङ सहित प्रदेश सभामा कबाट नेपाली काँग्रेसका दीर्घबहादुर (कुमार) केसी र खबाट माओवादी केन्द्रका बामदेव क्षेत्रीले उम्मेदवारी दर्ता गराउनु भएको छ भने एमालेका प्रतिनीधि सभामा उपाध्यक्ष पौडेल सहित प्रदेश सभामा कबाट लिला गिरी र खबाट भोजप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
रुपन्देहीको क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीले पनि प्रतिनीधि सभा र दुई वटै प्रदेश सभामा उम्मेदवारी दर्ता गरेको छ । त्यस्तै प्रतिनीधि समाभा डा. निकोलस भुसालले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै नेपाली काँग्रेसका नेता गोकर्ण पौडेलले पनि यही क्षेत्रबाट प्रतिनीधि समा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताउनु भएको छ ।