रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उम्मेद्वार गुरुङको उम्मेद्वारी खारेज

1.3K

रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उम्मेद्वार गुरुङको उम्मेद्वारी खारेज

अन्ततः रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेद्वारी खारेज भएको छ ।
यस अगाडि गुरुङको उम्मेवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । संगै सर्बोच्च गएका गुरुङको उम्मेवारी तत्काल खारेज नगर्न भन्दै सर्बोच्चले अल्पकालिन अन्तरिम आदेश दिएको थियो । शुक्रबार सर्बोच्चका न्यायाधिश द्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको ईजलासले गुरुङको उम्मेदवारी खारेज गरिदिएको हो ।
गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रारम्भिक दृष्टिकोण दिएको हो । ‘निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कालोसूची कायम रहेको भन्ने देखियो ।’ आदेशमा भनिएको छ–‘कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन ।’
शुक्रबार दुबै पक्षसँगको छलफलपछि न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) मा कालोसूचीमा रहेको व्यक्ति त्यस अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था छ ।