पत्रकार महासंघ रुपन्देहीको साधारण सभा : सदस्य शुद्धिकरण अभियान चलाउने प्रस्ताव पारित

84

पत्रकार महासंघ रुपन्देहीको साधारण सभा : सदस्य शुद्धिकरण अभियान चलाउने प्रस्ताव पारित

नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्य शुद्धिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महासंघ रुपन्देहीको आईतबार बुटवलमा सम्पन्न साधारण सभाले पत्रकारिता पेशा छोडेकालाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धिकरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभाको यो निर्णयसँगै महासंघलाई सदस्य शुद्धिकरण गर्ने बाटो खुलेको छ ।
कुनै समयमा सक्रिय पत्रकारिता गरेका तर, पछिल्लो समय पत्रकारिता छाडेका वा अन्य पेशा व्यवसायमा संलग्नहरुलाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धिकरण अभियान चलाउने प्रस्ताव सर्वसम्मत पारित भएको हो । त्यस्तै बुटवलमा पत्रकारिता र आमसञ्चार बिषयमा उच्च तहको शिक्षा अध्ययनका लागि पहल गर्ने र महासंघको अगुवाईमा ‘पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र’ स्थापनाका लागि स्थानीय सरकारसँग समन्वय गरि जग्गा व्यवस्थापन गर्ने प्रस्ताव पनि पारित भएको छ ।
साधारण सभाले सदस्य शुद्धिकरण, पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना सहित १२ बुँदे प्रस्ताव पारित गरिएको महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जानकारी गराउनु भयो । स्वतन्त्र, मर्यादित, निष्पक्ष र व्यवसायिक पत्रकारिताको विकासका लागि पत्रकार, सञ्चारसंस्था र समग्र संचारक्षेत्रको विकास र सवलीकरण लागि भूमिका खेल्ने, पत्रकारहरुलाई श्रम अनुसार पारिश्रमिक पाउने आधार तय गर्न सञ्चारमाध्यमका सञ्चालक व्यवस्थापक र पत्रकारिहरुविच छलफल गरि श्रमजीवि पत्रकारहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन पहल गर्ने, पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि विधागत तथा पुर्नताजगी तालिमहरु सञ्चालन गर्ने प्रस्ताव पारित भएका छन् ।
महासंघका सचिव विनोद परियारका अनुसार सदस्य पत्रकारहरुको तत्तकालीन र दीर्घकालिन समस्या र स्वास्थ्य उपचारमा सहयोग गर्ने गरि पत्रकार कल्याणकारी कोष बृद्धि गर्ने, पत्रकारहरुको सुरक्षाका लागि दुर्घटना बिमालाई निरन्तरता दिंदै निशुल्क स्वास्थ्य बिमाका लागि पहल गर्ने, हाल भएका पत्रकारिता पुरस्कारको राशि बढाउने र महिला पत्रकारिता कोष स्थापनाका लागि पहल गर्ने, कोभिड लगायतका अन्य कारणबाट पेशाबाट पलायन पत्रकारहरुलाई पत्रकारितामा पुनःस्थापित गर्न पहल गर्ने, पत्रकार आचार संहिताको पालना गराउँदै व्यवसायिक र मर्यादित पत्रकारिता गर्न सदस्यहरुलाई जिम्मेवार बनाउने, नयाँ पत्रकार उत्पादनका लागि सञ्चारमा रुची राख्ने, सिर्जनाशिल युवाहरुलाई पत्रकारितामा तालिम दिने, पत्रकारका नाममा पत्रकारिताको मूल्य र मान्यता विपरित युटुब, अनलाईन सञ्चार माध्यम मार्फत सूचना प्रवाह गर्ने, समाजमा पत्रकारिताको विश्वास गिराउने गतिविधि गर्ने व्यक्तिको पहिचान गरि कानुनी दायरामा ल्याउन राज्यलाई सहयोग गर्ने प्रस्ताव पारित भएको छ ।
साधारण सभामा उपाध्यक्ष अमृता अनमोलको संयोजकत्वमा रेखा भुसाल र सरु राना सदस्य रहेको प्रस्ताव लेखन समिति गठन गरिएको थियो । उक्त समितिले ल्याएको प्रस्तावलाई सदस्यहरुको सुझाव अनुसार थपघट तथा संशोधन सहित पारित गरिएको सचिव परियारले बताउनु भयो ।