थप शक्तिशाली बन्दै गृहमन्त्री खाँण

1.3K

थप शक्तिशाली बन्दै गृहमन्त्री खाँण

रुपन्देहीको क्षेत्र नं. ३ बाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेद्वार बन्नुभएका गृहमन्त्री बालकृष्ण खाँण थप शक्तिशाली बन्नुभएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहुन भएका गृहमन्त्री खाँणसँग राप्रपाका नेता दीपक बोहोरा प्रतिस्पर्धामा हुनुहुन्छ ।
काँग्रेस सहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेद्वार गृहमन्त्री खाँणलाई राष्ट्रिय जनमुक्ति पार्टीले समेत आफ्नो उम्मेद्वारलाई निश्कृय पारेर समर्थन गरेको छ । त्यसो त राप्रपा नेता बोहोरालाई नेकपा एमाले र जनता समाजवादी पार्टीको समर्थन छ ।
राष्ट्रिय राजनीतिलाई नै प्रभाव पार्न सक्ने नेता खाँण उम्मेवार बनेपछि उहाँको समर्थनमा अन्यदलका कतिपय नेताहरुबाट समेत भित्रि रुपमा सहयोग पर्ने आश्वासन पाएको काँग्रेसका क्षेत्रीय सभापति सुशिल गुरुङ बताउनु हुन्छ । त्यस्तै सियारी गाउँपालिकामा अध्यक्षमा प्रतिस्पर्धा गरेका राप्रपा नेता रमाकान्त गुप्ता, राप्रपा सिद्धार्थनगरका अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, जसपाका सुद्धोदन गाउँपालिका अध्यक्षमा भरथरी यादव, एमालेका पूर्व वडा अध्यक्ष पनि नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको छ ।
त्यस्तै अघिल्लो निर्वाचनमा पार्टीबाट विद्रोह गरी चुनाव लडेका ओमकुमार श्रेष्ठ पनि अहिले कारवाही फिर्ता भई नेता खाँणको चुनावी अभियानमा खटिनु भएको छ । नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनीधि भरथरी यादव पनि पार्टीबाट विद्रोह गरेर जसपामा जानु भएको थियो । पछिल्लो समयमा अन्य पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गर्नेको संख्या ३ हजार भन्दा बढी रहेको क्षेत्रीय सभापति गुरुङ बताउनु हुन्छ । यसले अन्यदलमा गईरहेको १० हजार बढी भोट नेपाली काँग्रेसमा आउने उहाँको आँकलन छ । त्यस्तै एमालेमा घनश्याम भुसाल निकटका व्यक्तिहरुले पनि गृहमन्त्री खाँणलाई सहयोग गर्ने र राप्रपामा पनि असन्तुष्टहरु आफूहरुलाई सहयोग गर्ने आश्वासन पाएको गुरुङ बताउनु हुन्छ ।
रुपन्देहीको क्षेत्र नं. ३ मा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट नेता मोजीव अली उम्मेदवार हुनुहुन्थ्यो । रुपन्देहीमा पाँच दलीय सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टी बिच क्षेत्र नं. २ मा प्रतिनीधि सभामा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वारलाई समर्थन गर्ने र अन्य क्षेत्रमा जनमुक्तिले आफ्नो उम्मेवार निश्कृय पारेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ ।
आफ्नो उम्मेद्वारी निश्कृय भएपछि जनमुक्तिका नेता मोजीव अली गृहमन्त्री खाँणको चुनावी अभियानमा खटिनु भएको राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेमबहादुर थापा बताउनु हुन्छ । उहाँले भन्नुभयो–‘सहमति अनुसार हामी अहिले चुनावी अभियानमा खटिएका छौं, पाँच दलीय गठबन्धनले हामीलाई सहयोग गर्नुहुनेछ भने हामीले उहाँका उम्मेवारलाई जिताउने छौं ।’
गृहमन्त्री खाँणले पार्टी छोडेका नेताहरुलाई पनि पार्टीमा फर्काउनु भएको छ भने राप्रपा नेता बोहारालाई भईरहेका नेता कार्यकर्ताले पनि साथ छोड्दै गएका छन् । ‘उहाँलाई कार्यकर्ताले मात्रै होईन, आफ्नै स्वास्थ्य पनि साथ छोड्दै गएको छ ।’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता रुपन्देही ३ (क)का सत्ता गठबन्धनका उम्मेदवार सन्तोष पाण्डेले भन्नुभयो ।
तर राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले भने जनतामाझ खासै प्रभाव नराख्ने एकाध व्यक्तिको वहिर्गमनले चुनावमा खासै फरक नपर्ने बताउनु हुन्छ । उहाँले यस क्षेत्रको विकासको लागि दीपक बोहोराको ठूलो लगाव रहेको र त्यो कुरा जनताले पनि बुझेकाले चुनाव जित्नेमा आफूहरु ढुक्क भएको बताउनु भयो ।
रुपन्देहीको क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनीधि सभामा काँग्रेस नेता गृहमन्त्री खाँण सहित प्रदेश सभा क मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डे तथा प्रदेश ख मा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल उम्मेद्वार हुनुहुन्छ । त्यस्तै एमाले राप्रपा र जसपा गठबन्धनबाट प्रतिनीधि सभामा राप्रपा नेता बोहोरा सहित प्रदेश सभा सदस्य पदमा क बाट जसपाका महेन्द्र यादव र ख बाट एमालेका तुलसी चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । रुपन्देहीको क्षेत्र नं. ३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७, १८ र १९, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतीया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ र १४ पर्दछन् । उक्त क्षेत्रमा करिव १ लाख ३६ हजार मतदाता छन् ।