असन्तुष्ट दललाई राजनीतिको मुल धारमा आउन गृहमन्त्री खाँणको आग्रह

1.3K

असन्तुष्ट दललाई राजनीतिको मुल धारमा आउन गृहमन्त्री खाँणको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले चुनाव लक्षित सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाईएको बताउँदै ढुक्क भएर निर्वाचनमा भाग लिन आम मतदातालाई आग्रह गर्नु भएको छ । नागरिकको जीवन रक्षा गर्ने राज्यको पहिलो दायित्व भएको बताउँदै उहाँले त्यसमा सरकारको तर्फबाट कुनै कसर बाँकी नरहेको बताउनु भयो ।
राजनीतिको मुल धारमा नआएका राजनीतिक दलहरुलाई पनि राजनीतिको मुल धारमा आउन उहाँले आग्रह गर्नु भयो । गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले बुधबार बुटवलमा आयोजना गरेको प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा बोल्दै गृहमन्त्री खाँणले विप्लव नेतृत्वको नेकपालाई लक्षित गरेर राजनीतिको मुल धारमा आउन आग्रह गर्नुभएको हो । ‘सरकार सम्वाद र वार्ता गर्न तयार छ ।’ उहाँले भन्नुभयो–‘उहाँहरुलाई पनि सहमति र सहकार्यका लागि सार्थक रुपमा प्रस्तुत हुन मेरो आग्रह छ ।’
उहाँले आसन्न निर्वाचनमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘आफ्ना विचार र कुराहरु राख्न पाईन्छ, तर निर्वाचन विथोल्न पाईन्न ।’ निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताउँदै गृहमन्त्री खाँणले आसन्न प्रतिनीधि तथा पव्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने पनि विश्वास व्यक्त गर्नुभयो । देशभर एकै चरणमा निर्वाचन गर्न लागिएको कारण सिमित जनशक्तिका बिच पनि शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाईने बताउँदै गृहमन्त्री खाँणले शान्ति सुरक्षालाई चुस्त व्यवस्थापन मिलाउन प्रहरी प्रशासनलाई निर्देशन गर्नुभयो ।

उहाँले असन्तुष्ट राजनीतिक दलहरुले उठाएमा कतिपय कुरामा कानुन संशोधन तथा ऐन र्मिाण गर्नुपर्ने बताउँदै त्यसमा पनि सरकार सकारात्मक रहेको भनाई राख्नुभयो । मुलुकमा दीगो शान्ति र सुशासनका लागि दलीय सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताउँदै गृहमन्त्री खाँणले सहमति, सहकार्य र एकताको सुत्रमा बाधिन ती दललाई आग्रह गर्नुभयो । ‘शान्ति र सुशासनको लागि सहमति, सहकार्य र एकता अपरिहार्य छ, यो नेपाली जनताको चाहना पनि हो ।’ उहाँले भन्नुभयो–‘जनताको बृहत्तर हित नै हामी सबैको लक्ष्य हो ।’ प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेको गृह मन्त्रालयका प्रवक्ता, सुरक्षा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणी पोखरेलले बताउनु भयो ।