निर्वाचनलाई र निश्पक्ष बनाउन सञ्चार माध्यमको भूमिका

1.3K

निर्वाचनलाई र निश्पक्ष बनाउन सञ्चार माध्यमको भूमिका

आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सञ्चार माध्यमले सहि र सत्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिईएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कले सोमबार गरेको स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सञ्चार माध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन् ।
उनीहरुले मतदाता सचेत गराउने, उम्मेद्वार र दलहरुको घोषणापत्रबारे चर्चा गर्ने र निर्वाचनलाई शान्तपूर्वक सम्पन्न गर्न सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कुँवरले मतदाता सचेत गराउने र आचार संहिताको पूर्ण पालना गराउनमा सञ्चारकर्मी र सञ्चार माध्यमले सकरात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले प्रशासनका तर्फबाट पत्रकारहरुलाई सहज रुपमा रिर्पोटिङ गर्ने वातावरण बनाउन आफूहरु तयार रहेको पनि बताउनु भयो । उहाँले निर्वाचन सबै पक्षको सहयोगले मात्रै शान्तिपूर्ण, भयरहित, स्वतन्त्र र निष्पक्ष हुने उल्लेख गर्नुभयो ।
त्यस अवसरमा यूरोपियन यूनियन डेलिगेशन टु नेपालका उपप्रमुख जोयल इभोनेटले मंसिर ४ गते हुने निर्वाचनमा मतदातालाई सजग र सक्षम उम्मेद्वार छनौटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले हरेक क्षेत्रमा राजनीतिकरण हुँदा त्यसले चुनौती थपिने भएकाले सहि र तथ्यपरक सूचना निर्वाचनका बेलामा सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले सुरक्षाका हिसाबले रुपन्देही मजबुद रहेको बताउँदै सुचना प्रवाहमा समन्वय गर्न तयार रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष फ्रि मिडिया नेटवर्कका संयोजक रामराज पोख्रेलले रुपन्देहीका सञ्चार माध्यमले निर्वाचनका बिषयमा सहि सूचना सम्प्रेषण गर्ने गरेको बताउँदै सुचना प्रवाहमा प्रशासन र निर्वाचन आयोग समेत गम्भिर बन्नुपर्ने बताउनु भयो । कार्यक्रममा युरोपियन यूनियनका बरिष्ठ कार्यक्रम अधिकृत शिव भण्डारी, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनीका अजित ठाकुर, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवलप्रसाद कसजु, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, महासंघ रुपन्देहीका सचिव विनोद परियार लगायतले भनाई राख्नुभएको थियो ।