रुपन्देही ३ को चुनावी वातावरण : गृहमन्त्री खाँणलाई सहज बन्दै, बोहोरालाई चुनौती थपिँदै

224

रुपन्देही ३ को चुनावी वातावरण : गृहमन्त्री खाँणलाई सहज बन्दै, बोहोरालाई चुनौती थपिँदै

बहालवाला गृहमन्त्री एवं पाँच दलीय गठबन्धनबाट काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र तीन दलीय गठबन्धनबाट राप्रपा नेता एवं पूर्वमन्त्री दीपक बोहरा चुनावी मैदानमा उत्रिएपछि रुपन्देही क्षेत्र नम्बर ३ मुलुकभर चर्चामा छ । पटक–पटक निर्वाचन जित्दै आएका यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुबै नेता अहिले गठबन्धनको आडमा निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न दौडधुप गरिरहेका छन् । ‘हेबिवेट’का दुई नेताको प्रतिस्पर्धाले यहाँको निर्वाचन रोचक हुने देखिन्छ ।
खाँण र बोहरा दुबै नेता सहजै मतदातासँग घुलमिल गर्न सक्नेमा पर्छन् । मतदातालाई प्रभावित पार्नसक्ने खुबी भएका यी नेता चुनावी मैदानमा उत्रिँदा क्षेत्र नम्बर ३ रुपन्देहीकै मुख्य केन्द्रमा छ । खाँण केन्द्रीयस्तरमा राम्रो पहुँच राख्ने नेतामा पर्नुहुन्छ । बहालवाला गृहमन्त्री र प्रभावशाली नेता भएकाले खाँणसँग मतदाता प्रभावित भइरहेका छन् । यसले उहाँलाई हौसाएको छ । बोहराले भैरहवा क्षेत्र सामान्य प्रभाव राख्ने भए पनि घाँटीमा समस्या हुँदा बोल्न सक्नु भएको छैन । उहाँका कुरा अन्य नेताहरुले मतदाता माझ पुर्याएका छन् । यसले गर्दा उहाँलाई मतदाता प्रभावित पार्न समस्या भइरहेको राप्रपाका नेताहरु नै स्वीकार गर्छन् ।
खाँणलाई पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीको समर्थन छ भने बोहरालाई एमाले र जसपाको साथ छ । अहिले खाँणले आफ्ना विगतका कामलाई देखाएर र आगामी योजनाबारे बेलिविस्तार गर्दै मतदाता समक्ष गईरहनु भएको छ । ‘रुपन्देहीलाई मुलुककै विकासको केन्द्र बनाउने मेरो र गठबन्धनको लक्ष्य छ ।’ गृहमन्त्री खाँणले भन्नुभयो–‘यसका लागि निर्वाचिन पछि सिद्धार्थ रिङरोड, सेमलारमा अत्याधुनिक कृषि थोक बजार लगायतका योजनाबाट पहिलो चरणको काम सुरुवात हुने छ । अरु योजना पनि जिल्लामा ल्याइने छ ।’
निर्वाचनको मिति नजिकिँदै जाँदा क्षेत्र नम्बर ३ मा स्वतन्त्रदेखि दलगत उम्मेदवारहरुले चुनावी अभियानलाई आक्रामक बनाउँदै लगेका छन् । दलहरुमा हारजितको जोडघटाउ भइरहेको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको मतपरिणाम अनुसार सत्ता गठबन्धनसँग ४० हजार १ सय ८५ मत छ भने राप्रपासहितको एमाले गठबन्धनको ४८ हजार ६ सय २८ मत छ ।
तर, पछिल्ला दिनमा स्थानीय तहको मत परिणामको समिकरण फेरिएको छ । निर्वाचन माहोल तात्दै जाँदा भने गणितीय हिसाबमा बोहराभन्दा खाँण अगाडि देखिन थालेको गठबन्धनको दावी छ । ‘धेरै कारणबाट हामी अघि देखिएका छौं, न्युटल मतदाता हाम्रो पक्षमा लागिसक्नुभएको छ’, काँग्रेस क्षेत्रीय सभापति सुशील गुरुङले भन्नुभयो । गठबन्धन दलहरुका अनुसार घनश्याम भुसाल एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवार बन्दा रुपन्देही ३ मा एमालेका कम्तिमा ४ हजार मत प्रभावित भएको बताइन्छ । क्षेत्र नम्बर १ मा भुसाललाई सत्ता गठबन्धनले सहयोग गरेका कारण पनि भुसाल पक्षकाले क्षेत्र नम्बर ३ मा खाँणलाई सहयोग गर्ने भएका हुन् । ‘हाम्रा ४ हजार बढी मत दायाँवायाँ हुँदैनन्, सबै सत्तागठबन्धनलाई जानेछन्’, भूसालका सहयोगी मनोजकुमार रिजालले भन्नुभयो–‘यस हिसाबले पनि खाँणजी अझै बलियो बन्दै जानु भएको छ ।’
उक्त ४ हजार मत खाँणलाई आउँदा बोहराको चार हजार मत घट्ने र यही मतका आधारमा खाँण र बोहरा बराबर अवस्थामा आउने हिसाब गठबन्धनको छ । यसबाहेक खाँणलाई राष्ट्रिय जनमुक्ति पार्टीको पनि समर्थन मिलेको छ । जनमुक्तिको यस क्षेत्रमा ३ हजार बढी मत छ । अर्कातर्फ चुनावी अभियानकै क्रममा राप्रपा, एमाले, जसपा लगायत अन्य पार्टी र स्वतन्त्र गरी करिब ३ हजार ५ सय कार्यकर्ता कांग्रेस प्रवेश गरेको बताइन्छ । यसले पनि खाँणलाई सहज हुँदै गएको दावी गरिएको छ ।
‘हामी अहिले साढे ६ हजार मतले अघि छौं ।’ गुरुङ भन्नुहुन्छ–‘अन्तिम दिनसम्म यो संख्या दोब्बरले बढ्ने छ । गठबन्धनप्रति आकर्षण छ ।’ एमाले, राप्रपा र जसपा गठबन्धनले भने बोहराले यस क्षेत्रको विकासमा योगदान दिएकाले जित सहज भएको दावी गरेको छ । ‘त्यसै त हामी ८ हजार मतले अघि थियौं, त्यसैमा पार्टी प्रवेश गर्नेक्रम पनि बढीरहेको छ ।’ राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले भन्नुभयो–‘विगतमा बोहराजीले यस क्षेत्रमा गरेको विकास निर्माणले गर्दा पनि हामी सहज जित्छौं ।’
राप्रपाका नेताहरुले अहिले विभिन्न ठाउँमा आयोजना गरिने कोणसभाहरुमा आफ्नो मत जोगाए जित निकाल्न कुनै अप्ठ्यारो नभएको बताउँछन् । दुबै गठबन्धनका उम्मेदवारले आ–आफ्नो जितको दावी गरिरहँदा अहिलेसम्मको आँकडाअनुसार राजनीतिक रुपमा चतुर खेलाडी मानिएका खाँण र बोहरा नै मुख्य प्रतिस्पर्धी देखिनु भएको छ । उहाँहरु मध्ये कसले बाजी मार्छ ? त्यो भने मंसिर ४ पछि नै थाहा हुने छ । तर, ‘हेबिवेट’का यी दुई नेताको प्रतिस्पर्धा भने कडा हुने देखिन्छ । यसमा केही स्वतन्त्र उम्मेदवार र अन्य राजनीतिक दलहरुले ल्याउने मतले पनि खाँण र बोहराको हारजितमा प्रभाव पार्न सक्ने बताइन्छ ।
बोहरा अहिलेसम्म ९ पटक मन्त्री भइसक्नु भएको छ । पञ्चायतदेखि गणतन्त्रसम्म सत्ताको स्वाद लिएका बोहरालाई अहिले खाँण चुनौति बन्नु भएको छ । कतिपय मतदाताले बोहराले सत्ताका लागि पार्टी फुटाउने र मन्त्री बन्न मरिहत्ते गर्ने आरोप समेत लगाउँछन् । मतदाताको यस्तो आरोपले खाँणलाई सहजता दिएको छ । खाँण पनि पटकपटक मन्त्री हुनु भएको नेता हो । बोहरालाई ९ पटक मन्त्री हुँदा क्षेत्र र जिल्लाको विकासमा खासै काम नगरेको आरोप छ । तर, बोहराले भैलोभुज लगायत खानेपानीको योजना ल्याएको बताउँदै आउनु भएको छ । खाँणले गौतमबुद्ध विमानस्थल, विशेष आर्थिक क्षेत्र, भैरहवा–बुटवल व्यापारिक मार्ग, तिनाउ र दानव नदीमा दर्जैनौं पुल निर्माण, जनताको तटबन्ध कार्यक्रम, खानेपानी र सिंचाई योजना जिल्लामा ल्याउन भूमिका खेलेको बताउँदै आउनु भएको छ । बोहरालाई अहिले एमाले र जसपाको मत पूरै आफूतिर आउँछ की आउँदैन भन्ने चिन्ता छ । खाँण भने एमाले र जसपाकै मत तानेर जित्ने दाउमा हुनुहुन्छ ।
खाँण २०७४ मा समानुपातिक सांसद हुँदा तत्कालीन एमाले नेता भुसालले बोहरालाई फराकिलो अन्तरले पराजित गर्दै प्रत्यक्ष निर्वाचन जित्नु भएको थियो । त्यसबेला भुसाल बाम गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो भने बोहरालाई काँग्रेसको समर्थन थियो । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाउनु भएको थियो । २०७० मा भने खाँणले भुसाललाई ८६ मतले पराजित गर्नु भएको थियो । यस क्षेत्रबाट २०६४ सालमा पनि खाँण नै वियजी हुनु भएको थियो । क्षेत्र नम्बर ३ मा बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा क्षेत्रमा पर्ने सबै पालिका काँग्रेसले जितेको छ । १ लाख ३२ हजार ७९१ मतदाता रहेको क्षेत्र नम्बर ३ मा दलगत र स्वतन्त्र गरी २२ जना प्रतिस्पर्धामा छन् ।