रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णु पौडेल चुनावी तयारी भन्दा पनि यस क्षेत्रको विकासे योजनामा बढी केन्द्रीत हुनु भएको छ । चुनावी अभियानमा रहनु भएका पौडेल यतिवेला घरदैलो तथा कोण सभाहरुमा केन्द्रित हुनु भएको छ ।
तिनाउ–दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी–तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमास्थलको सञ्चालन, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन, बुटवल–नारायणगढ सडक बिस्तार, बुटवल–बेलहिया सडक बिस्तार, बुटवलमा सिग्नेर पुल निर्माण र बुटवल–चन्द्रौटा ६ लेन सडक बिस्तार लगायतका दर्जन बढी बिकास योजना रुपन्देहीको मुहार फेर्ने परियोजनाहरु हुन् ।
लुम्बिनी गुरुयोजना, मुलुककै लामो सैनामैना चक्रपथ, मोतिपुर औद्योगिक क्षेत्र, सैनामैनामा लामिरह जलासय निर्माण, बुटवल–बेथरी सडकलगायत योजनाहरु सम्पन्न गरी रुपन्देहीलाई बिकासको रोलमोडल सहित पूर्वअर्थमन्त्री समेत रहनु भएका विष्णु पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त हुनुहुन्छ ।
आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका नेकपा एमालेका उपाध्यक्ष पौडेलले घरदैलो अभियान तथा जनतासँगको छलफलमा समेत आफूले सुरु गरेका, सम्पन्न भएका तथा परिकल्पना गरेका बिकास योजनामा बढी चिन्तित देखिनु भएको हो । राजनीतिक भाषण र अरुको आलोचनामा भन्दा बिकास योजनाबारे बढी ध्यान केन्द्रित गरेका पौडेललाई आफ्नो चुनावभन्दा बढी बिकास योजनाहरु सम्पन्न गर्ने चिन्ता छ ।
विभिन्न सार्वजनिक कार्यक्रम तथा सभा सम्मेलनमा समेत आफूलाई अरुको टिप्पणी गर्ने फुर्सद नभएको बताउने पौडेलले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई रुपन्देहीलाई बिकासको नमुनाका रुपमा स्थापित गर्नेतर्फ आफ्नो ध्यान रहेको बताउनु हुन्छ । कसैको आलोचना र टिकाटिप्पणीबाट मुलुकको विकास नहुने कुरा बताउँदै पौडेलले विकासका कामहरुमा जनतालाई भ्रमित र आतंकित बनाउनेहरुसँग सचेत रहन आग्रह गर्नुभयो ।
विकासको नाममा कसैलाई पनि घरबारविहीन नबनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफूलाई चुनावमा हुने जितहारभन्दा बढी विकास योजनाबारे चिन्ता व्यक्त गर्नुहुन्छ । आगामी मंसिर ४ गतेको निर्वाचनमा आफूलाई जिताएर अधुरा विकास योजनाहरु पूरा गर्ने जिम्मेवारी सुम्पिन उहाँको आग्रह छ ।