प्रतिनीधि सभाका ५ मध्ये रुपन्देहीमा एमालेले ३ क्षेत्रमा जित निकालेको छ । रुपन्देहीको क्षेत्र नं. १, २ र ५ मा एमालेले जित निकालेको हो भने क्षेत्र नं. ३ मा राप्रपा तथा क्षेत्र नं. ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले जित निकालेको छ ।
२०७४ मा क्षेत्र नं. ४ र ५ दुई वटा निर्वाचन क्षेत्रमा जितेको नेपाली काँग्रेस भने शुन्यमा समेटियो । एमालेले जितेको क्षेत्र नं. १ मा अन्तिम समयमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई पराजित गर्दै सचिव छविलाल विश्वकर्मा, क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई पराजित गर्दै उपाध्यक्ष विष्णु पौडेल र क्षेत्र नं. ५ मा काँग्रेस उम्मेदवार भरतकुमार शाहलाई पराजित गरि एमालेका बासुदेव घिमिरे निर्वाचित हुनु भयो ।
२०७४ मा पनि एमालेले तीन वटा निर्वाचन क्षेत्रमा जित निकालेको थियो । अघिल्लो निर्वाचनमा एमालेले क्षेत्र नं. १, २ र ३ मा जितेको थियो भने अहिले क्षेत्र नं. ३ राप्रपालाई छोडेको थियो । अघिल्लो निर्वाचनमा एमालेले जितेको क्षेत्र नं. ३ अहिले राप्रपाले जितेको छ ।
क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै राप्रपा नेता दीपक बोहोरा विजयी हुनु भएको छ । बाेहोराले ३६ हजार ७१७ मत सहित विजयी हुनु भएको छ भने गृहमन्त्री खाँणले ३४ हजार ३६ मत प्राप्त गर्नुभयो ।
२०७४ मा त्यो क्षेत्रमा एमालेबाट घनश्याम भुसालले जित्नु भएको थियो । पार्टीले चुनावी तालमेल गर्दा त्यो क्षेत्र राप्रपालाई परेपछि उहाँले टिकट पाउनु भएन । अन्तिममा आएर भुसालले एमाले पार्टी छाडेर क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो । उहाँलाई सत्ता गठबन्धनले सघाएका थिए । यद्यपी निर्वाचन भने जित्न सक्नु भएन ।
अघिल्लो निर्वाचनमा काँग्रेसले जितेको क्षेत्र नं. ४ अहिले लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ । क्षेत्र नं. ४ मा काँग्रेसका प्रमोद यादवलाई पराजित गर्दै लोसपाका सर्वेन्द्रनाथ शुक्ल निर्वाचित हुनु भएको छ ।