कपिलबस्तु क्षेत्र नं. २(१) बाट प्रदेश सभा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार बिक्रम सिंह थापाले चुनावमा मतले जित्न नसकेपनि जनताको मन जित्न सफल भएको बताउनु भएको छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आगामी दिनमा पनि रणनीतिका साथ अघि बढ्ने र कपिलबस्तु वासीको यस्तै माया, प्रेम, सद्भाव र स्नेह प्राप्त भईरहने अपेक्षा राख्नु भयो । “प्राबिधिक रुपमा झिनो मतले चुनावमा पराजित भएपनि छोटो समयमा म तपाईहरुको मनमा बस्न सफल भएको छु ।” सामाजिक सञ्जाल फेसबुकमा लामो लेख प्रकाशित गर्दै थापाले भन्नु भएको छ ।
आफनो निर्वाचन क्षेत्रमा बुथगत वा वडागत वा कसबाट मतगणनाको नयाँ परिपाटी बसालेर यस क्षेत्रमा पहिले देखि चल्दै आएको मतदातालाई प्रलोभनमा पार्ने ठेकेदारी प्रथालाई उजागर गरिदिएको उहाँको भनाई छ । “यसवाट पार्टी भित्रका छद्मभेषी ठेकेदारहरुको मुखडा उजागर भएको छ ।” उहाँले भन्नुभएको छ–“काँग्रेसप्रति गरेको गद्धारी, घिनलाग्दो खेल र द्वैध चरित्र उदाङ्गो भएको छ ।”
काँग्रेसका कर्मशिल कार्यकर्ताले गद्धारहरुलाई पहिचान गर्ने मौका पाएको उहाँको भनाई छ । मत गणनाको यो विधिले आगामी दिनमा सकारात्मक नतिजा दिने पनि उहाँले बताउनु भयो ।
उक्त प्रदेश क्षेत्रमा नेपाली काँग्रेसको लुम्विनी प्रदेश कार्यसमिति सदस्यका रुपमा पार्टीको नीति निर्देशन वमोजिम अघि बढ्ने बताउँदै थापाले कपिलवस्तुको बुद्धभूमी र महाराजगञ्ज क्षेत्रको विकासका लागी क्रियाशील रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रहरी सेवामा रहँदा अव्वल अधिकृतका रुपमा कहलिएका थापा प्रहरीको सर्वोत्कृष्ट सम्मान पूर्ण शान्ति पुरस्कारवाट पुरस्कृत हुनु भएको थियो । प्रहरी सेवामा रहँदा पनि कपिलबस्तुवासी सोझा, सिधा, दुःखीजनको सेवामा समर्पित रहेको उहाँको भनाई छ ।
काँग्रेसजस्तो गौरवशाली ईतिहास वोकेको पार्टीको तर्फबाट उम्मेदवार बन्न पाएकोमा गौरव गर्दै थापाले पार्टी प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । चुनाबमा अहोरात्र खट्ने गठबन्धन दलका कार्यकर्ता, मतदाता, सुरक्षाकर्मी सबै प्रति थापाले आभार प्रकट गर्नु भएको छ ।