रुपन्देही काँग्रेसमा अन्तरघातको आरोप–प्रत्यारोप

43

रुपन्देही काँग्रेसमा अन्तरघातको आरोप–प्रत्यारोप

रुपन्देहीमा नेपाली काँग्रेसका नेताहरुले अन्तरघातको आरोप प्रत्यारोप सुरु गरेका छन् । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३ सिट लिएर चुनावमा होमिएको नेपाली काँग्रेसले तीनै क्षेत्रमा जित निकाल्न नसकेपछि अन्तरघातको आरोप प्रत्यारोप सुरु भएको हो ।
सत्ता गठबन्धनमा भागवण्डा गर्दा नेपाली काँग्रेसले क्षेत्र नं. ३ मा गृहमन्त्री बालकृष्ण खाँण र क्षेत्र नं. ४ मा नेता प्रमोद यादव र क्षेत्र नं. ५ मा नेता भरतकुमार शाहलाई उम्मेदवार बनाएको थियो । पार्टीको संस्थापन पक्षका नेताहरु गृहमन्त्री खाँण र नेता शाहले चुनाव हारेपछि कतिपय व्यक्तिहरुको नाम किटान गरि केही अनलाईनहरुले समाचार प्रकाशित गरेका थिए ।
आफूहरु माथि अन्तरघातको आरोप लगाएपछि इतर पक्षका नेताहरुले जिल्लामा पार्टीको नतिजा निराशाजनक आउनुमा जिल्ला नेतृत्वले नै नैतिक जिम्मेवारी लिएर राजिनामा गर्नुपर्ने माग गरेका छन् । संस्थापन इतरका ११ जना नेताले बुधबार विज्ञप्ति जारी गरेर जिल्ला नेतृत्वको राजिनामा माग गरेका हुन् ।
संस्थापन इतरका नेताहरु लुम्बिनी प्रदेश समितिका सदस्यहरु रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, लुम्बिनी प्रदेश सभाकी पूर्वसदस्य रमा अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्वकेन्द्रीय सदस्य हरि न्यौपाने, पूर्वक्षेत्रीय सचिव जोगबहादुर खत्री, क्षेत्रीय प्रतिनिधिहरु खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईंले बिज्ञप्ति जारी गर्दै नेताहरूको हारको मुख्य जिम्मेवारी जिल्ला नेतृत्वले लिनुपर्ने बताएका छन् ।