बुटवलको एउटा सुकुम्बासी बस्तीमा भूमाफियाले आँखा लगायपछि त्यसको तरंगले संगै जोडिएको पुर्जावाला बस्तीलाई समेत हल्लाएको छ । कुरा बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगर नहरपुरको हो ।
बुटवलको मैनावगर हुँदै अमुवा वेथरी सडक कृषिमार्गको किनारमा पर्ने बुद्धनगरको भवानी पथको उत्तर र दक्षिणमा रहेका जग्गाको १७५ फिट मोहोडामा भू–माफियाले दावी गरेको जग्गा पिडित दीपक विक बताउनु हुन्छ । देशभर जग्गाको नापनक्सा तथा कित्ताकाट समेत रोकिएको बेला २०७४ सालमा सडक पूर्वको भरीएको सुकुम्बासी बस्तीमा १८ कट्ठा खाली जग्गा देखाएर कित्ताकाट समेत गरी प्लटिङ्को फाईल नक्सा तयार गरिएको थियो । बस्तीले भरिएको जग्गामा खाली जग्गा भनेर कसरी वार्डले सिफारिस दियो ?, कसरी पास भयो ? विक प्रश्न गर्नुहुन्छ ।
२०७४ मा सीता कार्की त्यसपछि उजुरसिंह दर्लामी हुँदै अहिले उक्त १८ कट्ठा मध्ये ७ कट्ठा जग्गा तोपनारायण पौडेलकी श्रीमती सीता पौडेलको नाममा छ । २०७४ मा श्रीमति सीताको नाममा ल्याएका तोपनारायणले कृषि मार्गपश्चिमकाे जग्गामा समेत आखाँ गाडेर त्यसभन्दा अगाडि नै नगरपालिकाबाट घरको निर्माण सम्पन्न लिईसकेका जग्गा खाली गराउन अनेक तिकडम गरेको अर्की पिडित ईश्वरी श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठले भवानी पथको चोकमा रहेको पुर्जावाला जग्गा २०६३ सालमा किन्नु भएको थियो । त्यपछि घर निर्माण गरेर २०६७ सालमा बुटवल उपमहानगरपालिकाले उहाँलाई घरको निर्माण सम्पन्नको प्रमाणपत्र समेत प्रदान गरिसकेको छ । आफ्नी श्रीमती सीता पौडेलबाट वारेस लिएर तोपनारायण पौडेलले ईश्वरी श्रेष्ठलाई जवरजस्ती आफ्नो जग्गामा घर बनाएको भनी जिल्ला अदालत भैरहवामा मुद्धा दिनु भएको छ ।
त्यस्तै क्रमशः मैना श्रेष्ठको घर निर्माण भएपनि सम्पन्नताको प्रमाणपत्र रोकिएको छ । तिलककुमार श्रेष्ठको दर्तावाला गाईगोठ छ र टोपलाल अर्यालको घर निर्माणको अनुमति दिएपनि निर्माण कार्य रोकिएको छ । कृषि मार्गसंगै जग्गाको केही पश्चिममा रहेको नहरले छोडेको घोलामा त्यहाँको बस्तीलाई पछाडि धकेल्ने र अगाडिको मोहोडा हडप्ने तोपनारायणको दाउ हो । त्यहाँका स्थानीय भन्छन् ।
मैनावगर अमुवा वेथरी सडकलाई अहिले नाम फेरेर कृषिमार्ग बनाईएको छ । यो सडक पहिले चलन चल्तीको बाटो हो । यहिबाटो मैनावगर, पाल्पाको नुवाकोट हुँदै पहाडी जिल्ला जोडिएको स्थानीय बताउँछन् । यो बाटो बिस्तारै ३३ फूटे हुँदै अहिले ५१ फूटे भएको छ ।
कृषिमार्गबाट पश्चिम तर्फको जग्गा भने २०२७ अघिकै पुर्जावाला जग्गा हो । बनध्वज गुरुङको बाउबाजे देखि नै हकभोग हुँदै आएको जग्गा हरिराज शाक्यलाई बेचविखन भयो । २०६२ सालमा प्लटिङ गरेर बेचबिखन सुरु भएको अर्का स्थानीय कृष्णप्रसाद अर्याल बताउनु हुन्छ ।
अर्को गज्ज्वको कुरा पुरानो चलनचल्तीको मैनावगर अमुवा वेथरी मार्ग ब्लुप्रिन्ट नक्सामा छैन । ‘यसैलाई देखाएर तोपनारायणले हामी माथि धावा बोलेको हो ।’ उहाँले भन्नुभयो–‘तर नगरपालिकाले दिएका नक्सापासमा भने सबै बाटाघाटा छन् ।’ यो केसमा अगाडि तोपनारायण देखिएपनि पछाडि अरु पनि हुनसक्ने उनीहरुको भनाई छ । ‘बाटोबाट पूर्वको कुरा हामीलाई थाहा हुने कुरा भएन ।’ ईश्वरी श्रेष्ठले भन्नुभयो–‘बाटोबाट पूर्वको जग्गाको लालपुर्जा नआउँदै बाटोबाट पश्चिममा हामीले किनेको जग्गामा कसैले दावी गर्न मिल्दैन ।’
तर तोपनारायण पौडेल भने यसलाई स्वीकार गर्नुहुन्न । पौडेलले बाटोबाट पश्चिम तर्फ पनि आफ्नो जग्गा रहेको दावी गर्दै आफू ठूलो अन्यायमा परेको बताउनु भयो । ‘मेरो जग्गा हडपेर घर बनाएका छन् ।’ उहाँले भन्नुभयो–‘खाली गराउन भन्दा उनीहरुकै कुरा ठूला हुन्छन् ।’ तर पौडेलले २०७४ मा जग्गा लिएको देखिन्छ । सडकबाट पश्चिम तर्फको भवानी पथको चोकमा सबैभन्दा पहिले ईश्वरी श्रेष्ठको घर बनेको त्यहाँका जानकारहरु बताउँछन् । श्रेष्ठको घर निर्माण सम्पन्नको प्रमाणपत्र नगरपालिकाले २०६७ सालमै दिएको छ । यस विषयमा किन नगरपालिकाले निर्माण सम्पन्न दियो नगरपालिकाले नै जान्ने विषय भएको प्रतिक्रिया दिनुभयो ।