लुम्बिनीका उद्योगी र व्यवसायीहरुको बुटवलमा भेला : जुत्ता चप्प्लमा नेपाल आत्मनिर्भर

1.3K

लुम्बिनीका उद्योगी र व्यवसायीहरुको बुटवलमा भेला : जुत्ता चप्प्लमा नेपाल आत्मनिर्भर

फूटवेर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालको आयोजना तथा बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित फूटवेर बस्तुगत समितिको सहआयोजनामा सोमबार बुटवलमा प्रदेश स्तरीय जुत्ता चप्पल व्यवसायीहरुको भेला भएको छ । एशोसिएसनका अध्यक्ष नानीराज घिमिरेको अध्यक्षता तथा बुटवल उद्योग वाणिज्य संघका महासचिव बिमलराज भट्टराईको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोशिएशन अफ नेपालले यहि पुसको २१, २२ र २३ गते काठमाण्डौं भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गरेको ‘गोल्ड स्टार १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ को बारेमा जानकारी गराउने उद्देश्यले यो कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका महासचिव भट्टराईले नेपाली माटो सुहाउँदो र गुणस्तरीय उत्पादन गर्ने हो भने राम्रो बजार पाउने बताउँदै त्यसको ज्वलन्त उदाहरण गोल्ड स्टार भएको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा नेपालमा वार्षिक १९ करोड जोर जुत्ता उत्पादन तथा विक्रि वितरण हुने बताउँदै रन सुजका रुद्र न्यौपानेले नेपाल जुत्ता चप्पलमा आत्मनिर्भर भएको जानकारी गराउनु भयो । जुत्ता चप्पलमा हुने चोरै पैठारी रोक्नको लागि पहल गरिदिन पनि उहाँले संघलाई आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष घिमिरेले तीन दिने प्रदर्शनीमा सहभागि हुनको लागि फुटवेयर व्यवसायीहरुलाई निमन्त्रणा गर्नुभयो ।
‘स्वदेशी उत्पादनको प्रयोग गरौं, नेपाली हुनमा गर्व गरौं ।’ भन्ने नारा सहित हुन लागेको प्रदर्शनीमा उद्योगी र व्यवसायी बिच परस्पर व्यवसाय प्रर्बद्धनको पुल निर्माण गर्ने लक्ष्य सहित आयोजनाको स्टल बुकिङ खुल्ला गरिएको उहाँले जानकारी गराउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कच्चा पदार्थ, मेशीनरी सप्लायर्स र क्रेताहहरु बिच जमघट हुने बताउँदै विश्व बजार आधुनिकीकरणको ज्ञान लिन पनि उहाँले आग्रह गर्नुभयो ।