वडा अध्यक्षकै नेतृत्वमा सडक डिभिजनमा डेलिगेसन : नालीमा तुरुन्त स्ल्याव राख्न माग

162

वडा अध्यक्षकै नेतृत्वमा सडक डिभिजनमा डेलिगेसन : नालीमा तुरुन्त स्ल्याव राख्न माग

बुटवलको मुख्य सडक किनारका नालिमा तुरुन्त स्ल्याव (ढक्कन) राख्न माग गर्दै वडा अध्यक्षकै नेतृत्वमा सडक डिभिजन कार्यालयमा डेलिगेसन गईएको छ । सडक विस्तारको काम भईरहेको बुटवलको मुख्य सडक किनारका नालामा ढक्कन (स्ल्याव) नभएका कारण दुर्घटना पनि बढेको र त्यस आसपासका व्यापारी समेत समस्यामा परेको भन्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का स्थानीय, जनप्रतिनीधिसहित सडक डिभिजन कार्यालयमा डेलिगेसन गएका हुन् ।
त्यस सडकमा दुर्घटनामा परेका व्यक्तिहरुले उपचारमा लागेको खर्चको क्षेतीपूर्ति माग गर्दै वडामा निवेदन दिन थालेपछि वडा अध्यक्षकै नेतृत्वमा स्थानीय सडक डिभिजन कार्यालय बुटवलमा डेलिगेसन गएको हो ।

डेलिगेसनका क्रममा बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेलले सडक डिभिजन बुटवलका डिभिजन प्रमुख ईञ्जिनियर होमबहादुर एसीलाई त्यस सडकमा दुर्घटनामा परेका व्यक्तिहरुले क्षेतीपूर्तिको माग दावी गर्न थालेको बताउँदै सडक किनारको नालामा ढक्कन (स्ल्याव) राखिदिन, सुस्त गतिमा भईरहेको कामलाई तिब्रता दिन र सडक किनारमा लामो समयसम्म खाल्डा बनाएर राख्ने जुन प्रबृत्ति छ त्यसलाई तुरुन्त व्यवस्थापन गरेर व्यवसायीलाई समेत सहज बनाईदिन आग्रह गर्नुभयो ।
उहाँले सडक किनारको नालामा परेर घाईते भएका व्यक्तिहरुले गरेको क्षेतीपूर्तिको माग दावीका सम्बन्धमा पनि व्यवस्थापन मिलाई दिन आग्रह गर्नुभयो । अहिलेसम्म त्यसरी घाईते भएको तीन चार जना व्यक्तिले वडामा क्षेतीपूर्तिको माग गर्दै निवेदन दिएको उहाँले जानकारी गराउनु भयो ।
त्यस क्रममा डिभिजन प्रमुख ईञ्जिनियर होमबहादुर एसीले मुख्य ठेक्केदारलाई आफूले पहिले छेउको क्लियर गरेर मात्रै अन्य काम गर्न आग्रह गरिएपनि त्यस अनुसार काम हुन नसकेको स्वीकार गर्नुभयो ।
उहाँले बिहिबार पनि मुख्य ठेक्केदारसंग बैठक बोलाएको र त्यस विषयमा गम्भिर हुन आग्रह गर्ने र सोही अनुसार काम गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले घाईतेको क्षेतीपूर्तिका सम्बन्धमा पनि ठेक्कदारसंग छलफल गर्ने बताउनु भयो ।
बुटवल ४ निवासी दिनेश ज्ञवालीले यहि मंसिर २ गते साँझ दाई ३३ वर्षीय उमेश ज्ञवाली नाली खनेको खाल्डोमा खसेर दुई वटै खुट्टा भाचिएको र अहिलेसम्म २ लाख रुपैंया बढीको उपचार खर्च भएको जानकारी गराउँदै उपचारको लागि आफ्नो आर्थिक हैसियत पनि नभएकाले क्षेतीपूर्ति उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले बुटवल उपमहानगरपालिका वडा नं. ४ को कार्यालयमा पनि सोही प्रकृतिको निवेदन दिनु भएको छ ।

नालीमा खसेर घाईते भएका उपचाररत उमेश ज्ञवाली ।

पूर्वपश्चिम र उत्तरदक्षिण जोड्ने बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोला सम्मको सडक अहिले विस्तारको क्रममा रहेको छ । यो सडकमा यो सडकमा ठेक्कदारले लापरवाही ढंगले काम गरेकै कारण दुर्घटना पनि बढेको छ भने सडक आसपासका व्यापारीलाई समेत समस्या परेको व्यवसायी लक्ष्मण कुवँरले बताउनु भयो । उहाँका अनुसार सडकमा हिड्ने पैदल यात्रुलाई समेत सास्ती र दुर्घटनाको जोखिम पनि उत्तिकै छ । यसमा सडक डिभिजन र ठेक्केदार गम्भिर र जिम्मेवार हुनुपर्ने उहाँले बताउनु भयो ।