बुटवलमा औद्योगिक प्रदर्शनी हुँदै : तयारी तिब्र

64

बुटवलमा औद्योगिक प्रदर्शनी हुँदै : तयारी तिब्र

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी गरिएको छ । रुपन्देही उद्योग संघको आयोजनामा यहि पुसको ७ गतेखि ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराकासाथ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव गर्न लागिएको हो । संघले सञ्चालन गरेको यो १५ औं संस्करणको औद्योगिक प्रदर्शनी रहेको र तयारी तिब्र रुपमा अगाडि बढेको शनिबार प्रदर्शनी सचिवालयमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदर्शनी मुल आयोजक समितिका संयोजक, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बुटवल मण्डपमा निर्माणाधिन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको महोत्सवको राष्ट्रपति विद्यादेबी भण्डारीबाट उदघाटन हुने जानकारी गराउनु भयो । उहाँले विभिन्न १० वटा पेभेलियनमा औद्योगिक प्रविधि, रेस्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका ४५० स्टल राखिने उहाँले जानकारी गराउनु भयो ।
स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र सँस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको र मेलामा युवा उद्यमीलाई प्रोत्साहन तथा स्वरोजगार सृजनाका लागि गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम समेत गरिने छ ।
प्रदर्शनीमा लोक दोहोरी प्रतियोगिता, ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती सहितको सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तर कलेजका प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल टिकटक ट्यालेन्ट हण्ट लगायतका प्रतियोगिताहरु गराईने छ ।
उद्योगसंघ सहित लुम्बिनी प्रदेश उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ काठमाण्डौ समेत आयोजक रहेको महोत्सवमा ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । पुसको १९ गतेसम्म १३ दिन सञ्चालन गरिने प्रदर्शनीमा प्रवेशको लागि ६० रुपैंया टिकटको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीका लागि ५० रुपैंया टिकट दर कायम गरिएको र प्रत्येक टिकबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको लागि ४ रुपैंया र शिक्षा क्षेत्रको लागि ४ रुपैंया छुट्याईएको मुल समितिका संयोजक पौडेलले बताउनु भयो ।