रोकिएको कमिसनलाई निरन्तरता दिन पेट्रोलियम व्यवसायीको माग

1.3K

रोकिएको कमिसनलाई निरन्तरता दिन पेट्रोलियम व्यवसायीको माग

पेट्रोलियम पदार्थको खरिद विक्रिमा व्यवसायिलाई दिँदै आएको कमिसन निश्चित विन्दुबाट रोकिएको भन्दै त्यसलाई निरन्तरता दिन व्यवसायीहरुले नेपाल आयल निगमसंग माग गरेका छन् ।
पेट्रोलियम व्यवसायीहरुलाई निगमले निश्चित प्रतिशत कमिसन उपलब्ध गराउँदै आएको थियो । तर पेट्रोलको मुल्य १५० बाट माथि लागेपछि उक्त कमिसन यथास्थितमा रहेको भन्दै बढेको मुल्यमा पनि कार्यान्वयन गर्न माग गरेका हुन् ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनको शनिबार भैरहवामा भएको १७ औं साधारण सभा तथा आठौं अधिवेशनको उद्घाटन समारोहमा बोल्ने व्यवसायीहरुले व्यवसायीलाई दिँदै आएको कमिसनलाई निरन्तरता दिनुपर्ने भनाई राखेका थिए ।
त्यस्तै उनीहरुले नेपालमा भन्दा छिमेकी मुलुक भारतमा पेट्रोलियम पदार्थको मुल्य सस्तो भएका कारण सिमावर्ती क्षेत्रमा व्यवसायी मारमा परेको भनाई राखेका थिए । खुला सिमा नाकाका कारण यहाँका उपभोक्ता उता गएर तेल भरेर आउने गरेका कारण यो समस्या आएको भन्दै यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? सरकारको ध्यान जानुपर्ने उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक ईञ्जिनियर उमेशकुमार थानीले व्यवसायीले माग गर्दै आएको कमिसनको निर्णयलाई सुधार गर्न तयार रहेको बताउनु भयो । कार्यकारी निर्देशक थानीले नेपालमा पनि पेट्रोलियम पदार्थमा ईथाईल मिश्रणको लागि छलफल भईरहेको र त्यसको लागि अध्ययन समिति बनेको जानकारी गराउनु भयो । उहाँका अनुसार छिमेकी मुलुक भारतमा पनि १० प्रतिशत मिसाउन पाउने प्रावधान छ । उहाँले आफूले व्यवसायमैत्री वातावरण बनाउन तयार रहेको बताउँदै त्यसमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुलाई ईमान्दार हुन र माग मात्रै नतेस्र्याउन आग्रह गर्नुभयो ।
त्यस्तैगरी नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले व्यवसायीलाई प्राप्त हुँदै आएको कमिसन १५० मा स्थगन भएको स्मरण गराउँदै त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले छिमेकी मुलुक भारतमा नेपालमा भन्दा सस्तो मुल्यमा पेट्रोलियम पदार्थ पाईदा सिमावर्ती व्यवसायी मारमा परेको भन्दै त्यसलाई व्यवस्थापन गर्न पनि आग्रह गर्नुभयो । त्यस्तै उहाँले पेट्रोलियम व्यवसायलाई अग्नी बिमाको समेत प्रवन्ध मिलाईदिन आग्रह गर्नुभयो ।
नेपाल आयल निगम वितरण विभाग प्रमुख विरेन्द्र गोईत, नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले तेल घट्ने प्राविधिक कुरा भएको बताउँदै प्राविधिक कुरालाई धेरै नउचाल्न आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले व्यवसायीहरुले पुरा परिणाम तेल नपाएको गुनासो गर्दै निश्चित परिणामको लागि निश्चित मुल्य तिरिसकेपछि पुरा परिणाम पाउनु पर्ने भनाई राख्नुभएको थियो ।
नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव विश्वप्रसाद अर्यालले व्यवसाय सुधारको लागि व्यवसायीहरुले उधारोमा हुँदै आएको विक्रि वितरण र व्यवसायि विचको अस्वस्थ्य प्रतिस्पर्धा रोक्नु पर्ने भनाई राख्नुभयो ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा व्यवसायी वैजनाथ जयसवाल, एशोसियशनका पूर्व अध्यक्ष राजेन्द्र गुप्ता, पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यसै अवसरमा अपांगता सेवा केन्द्र बुटवललाई १ लाख रुपैंया आर्थिक सहयोग प्रदान गरिएको छ । एशोसियशनले स्थापना गरेको १० लाख रुपैंयाको कोषबाट व्याज स्वरुप प्राप्त १ लाख रुपैंया प्रदान गरिएको हो । उक्त सेवा केन्द्रलाई वार्षिक रुपमा आर्थिक सहयोग गर्ने गरी एशोसियशनले अघिल्लो वर्ष मात्रै १० लाखको कोष स्थापना गरिएको र त्यसबाट प्राप्त हुने व्याज प्रत्येक वर्ष साधारण सभामा उपलब्ध गराउने अध्यक्ष प्रेम न्यौपानेले बताउनु भयो । कार्यक्रम वरिष्ठ उपाध्यक्ष हिमाल गैरेको स्वागत तथा महासचिव हरिराम कसौधनको सञ्चालनमा भएको थियो ।