लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा एमालेले लिला गिरीलाई चयन गरेको छ । त्यस्तै नेपाली काँग्रेसले डिल्लीबहादुर चौधरी र नेकपा माओवादी केन्द्रले जोखबहादुर महरालाई चयन गरेको छ । एमाले, काँग्रेस र माओवादी तीन वटै दलले सर्वसम्मत रुपमा दलको नेता चयन गरेका हुन् ।
एमाले संसदीय दलको नेतामा चयन हुनु भएका पार्टीका केन्द्रीय सदस्य गिरी यस अंगाडि पनि प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । उहाँ रुपन्देही क्षेत्र नं. २ (क) बाट निर्वाचित हुनु भएको हो । लुम्बिनी प्रदेश सभामा सबै भन्दा ठूलो दल एमालेका २९ सांसद छन् ।
त्यस्तै नेपाली काँग्रेसले दाङको क्षेत्र नं. ३ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको हो । उहाँ यस अगाडि पनि लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । लुम्बिनी प्रदेश सभामा दोस्रो ठूलो दल नेपाली काँग्रेसका २७ जना प्रदेश सभा सदस्य छन् ।
त्यसैगरी माओवादी केन्द्रबाट दलको नेतामा चयन हुनु भएका जोखबहादुर महरा रोल्पाको प्रदेश सभा (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो । नेकपा माओवादीको तर्फबाट ९ जना प्रदेश सभा सदस्य छन् ।