तराईका जिल्लामा शुरु भएकाे शीतलहर अझै एक दुई दिन कायम रहने र अझै बढ्न सक्ने अनुमान गरिएकाे छ । माैषम पुर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै तराई भू-भागमा (नेपालगंजदेखि पूर्व जनकपुर सम्म) मंद शीतलहर को अवस्था रहेको र अझै एक दुई दिनसम्म कायम रहने संभावना रहेकाे जानकारी गराएकाे हाे ।
विगत तीन दिनदेखि नेपालका तराई भूभागमा दिनभरि हुस्सु तथा कुहिरो लागेको छ। त्यस्तै अधिकतम तापक्रम औसत अधिकतम तापक्रम भन्दा कम रहेकाे पनि महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार भैरहवा, सिमरा र जनकपुर केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम भन्दा ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ । यी स्थानमा अधिकतम र न्यूनतम तापक्रम बीच ५ डिग्री सेल्सियस भन्दा कम भिन्नता आएको छ । त्यस्तै तराईका धेरै भू-भागमा मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम भन्दा थोरै बढि देखिएको छ ।
यसलाई मध्यनजर गर्दै महाशाखाले मन्द शीतलहर रहेकाे नेपालको तराई भूभाग विशेषतः नेपालगंजदेखि पूर्व जनकपुरसम्म अझै कायम रहने र तापक्रम घट्दा मध्यम किसिमको शीतलहर हुनसक्ने संभावना देखाएकाे हाे ।
त्यसै नेपालगंज भन्दा पश्चिम र जनकपुर भन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बद्न गई बिहान हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाे जानकारी गराउदै महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।