जि ट्वान्टी फाईभ क्लव : सार्वजनिक शौचालयको लागि जग्गाको खोजी

1.3K

जि ट्वान्टी फाईभ क्लव : सार्वजनिक शौचालयको लागि जग्गाको खोजी

जि ट्वान्टी फाईभ क्लवले बुटवलको देवीनगर चौपारी आसपासमा सार्वजनिक शौचालय निर्माणको लागि जग्गाको खोजी गरेको छ । देवीनगर आसपासमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरेर त्यसको लागि क्लवले जग्गाको खोजी गरेको हो ।
बुटवल देवीनगरमा गठित जि ट्वान्टी फाईभ क्लवको विहिबार वार्षिक साधारण सभा गरिएको थियो । साधारण सभामा क्लवका अध्यक्ष निर्मल नेपालले संस्थाको भावी कार्यक्रममा देवीनगर चौपारी आसपासमा सार्वजनिक शौचालय निर्माण सहितका कार्यक्रमहरुको प्रस्ताव गर्नु भयो । देवीनगर आसपासमा सार्वजनिक शौचालय निर्माणको लागि कार्यसमितिले निर्णय गरेर साधारण सभामा प्रस्तुत गरिएको हो ।
जनघनत्व बढ्दै गएको देवीनगर चौपारी आसपासमा सार्वजनिक शौचालयको टट्कारो आवश्यकता हो । साधारण सभाले उक्त आवश्यकता महशुस गरी जग्गाको खोजी गर्ने र स्थानीय सरकारसंग समन्वय गरी निर्माण गर्ने प्रस्ताव पारित गरेको सचिव किशोर पंगेनीले बताउनु भयो ।
उहाँका अनुसार साधारण सभाले बुटवल उपमहानगरपालिका वडा नं. ११ भित्र संस्थाको भवन निर्माणको लागि पनि जग्गा उपलब्ध गराउन नगरपालिकासंग माग गरेको छ । विभिन्न पेशा व्यवसायमा आवद्ध युवाहरुको उक्त क्लवले सामाजिक योगदानका कार्यक्रमहरु स्वास्थ्य शिविर, विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई आर्थिक सहयोग, रक्तदान, सरसफाई लगायतका कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाका सदस्य गिरधारीलाल न्यौपानेले मुलुकको विकासको लागि औद्योगिक क्रान्ति आवश्यक रहेको बताउँदै त्यसको लागि आफू सहयोगी बन्न तयार रहेको बताउनु भयो । उहाँले औद्योगिक तथा व्यवसायिक वातावरण बनाउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्लवका संरक्षकहरु विमलराज घिमिरे, प्रेमप्रसाद पाण्डे, संस्थापक अध्यक्ष रमेशकुमार जोशी, निवर्तमान अध्यक्ष देवलाल अर्गाली, कानुनी सल्लाहकार केशवराज पोखरेल, समाजसेवी रणबहादुर थापा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । अध्यक्ष नेपालले प्रस्तुत गर्नु भएको वार्षिक तथा कोषाध्यक्ष सजनकुमार भारीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको सचिव किशोर पंगेनीले जानकारी गराउनु भयो । त्यसै अवसरमा क्लवले वर्षभरी सञ्चालन गरेका कार्यक्रमका संयोजकहरुलाई सम्मान गरिएको थियो ।