लुम्बिनीमा मुख्यमन्त्रीमा दावी पेस गर्न प्रदेश प्रमुखको आह्वान

28

लुम्बिनीमा मुख्यमन्त्रीमा दावी पेस गर्न प्रदेश प्रमुखको आह्वान

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार गठनको लागि दावी पेश गर्न आह्वान गर्नु भएको छ । प्रदेश प्रमुख शेरचनले यहि पुसको २७ गते अपह्रान्न ४ बजेसम्मको समय दिएर सरकार गठनको लागि आह्वान गर्नु भएको हो ।
संविधानको धारा १६८ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेशमा सरकार गठनको लागि कुनै पनि दलको प्रष्ट बहुमत छैन । त्यसै अनुसार प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिको लागि बहुमत सदस्यको हस्ताक्षर सहित दावी पेस गर्न आह्वान गर्नु भएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विहिबार जारी गरेको सूचनामा यहि पुसको २७ गते बुधबार अपरान्ह ४ बजे भित्र दावी पेस गर्न आह्वान गरिएको छ । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन यहि पुसको १८ गतेदेखि सुरु भईसकेको छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतको लागि ४४ सांसदको आवश्यकता पर्दछ । लुम्बिनीमा कुन दललाई सरकारको नेतृत्व दिने भन्ने विषयमा सत्ता गठबन्धनमा सहमति भईसकेको छैन । यद्यपी एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीको दावी गर्दै आएका छन् ।