शंकरनगर बनमा प्रतिनीधि सभा सदस्य घिमिरेलाई सम्मान

42

शंकरनगर बनमा प्रतिनीधि सभा सदस्य घिमिरेलाई सम्मान

शंकरनगर सामुदायिक बन उपभोक्ता समुहले नवनिर्वाचित प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेलाई सम्मान गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १–४ क्षेत्र समेटिएको शंकरनगर सामुदायिक बन उपभोक्ता समुहको शुक्रबार भएको २२ औं साधारण सभामा नवनिर्वाचित प्रतिनीधि सभा सदस्य घिमिरेलाई सम्मान गरिएको हो ।
उक्त बन समुहका पूर्व सल्लाहकार तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख घिमिरे रुपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँलाई बन समुहका अध्यक्ष रविन्द्र बस्नेतले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।
त्यस अवसरमा बोल्दै प्रतिनीधि सभा सदस्य घिमिरेले बन ऐनसँग बाझिएका कुरामा नीतिगत सुधारको लागि आफूले प्रयास गर्ने बताउनु भयो । उहाँले शंकरनगर बन भित्र निर्माण गरिएको शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्र आन्तरिक तथा बाह्य पर्यटकका लागि राम्रो गन्तव्यको रुपमा बिकास भएको बताउँदै सामुदायिक बनलाई आयआर्जनको माध्यम बनाउन सकिने भनाई राख्नुभयो ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले बन र मानिस एक सिक्काका दुईवटा पाटा भएको बताउँदै सामुदायिक बनको अवधारणाले एकातिर बनको विकास भएपनि भएको र अर्कोतिर जमिन पनि बचाएको बताउनु भयो ।
उहाँले बन सम्पदालाई संरक्षण गर्दै रोजगारी र आयआर्जनसँग कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने भनाई राख्नुभयो । बनलाई पर्यापर्यटन, बायोग्याँस उत्पादन, जैविक मल उत्पादनसँग जोड्न सकिने बताउँदै बनको संरक्षण संगै आयआर्जन पनि बढाउन सकिने उहाँको भनाई छ ।
त्यस्तै डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटाले बनको व्यवस्थापन त्यसको प्रवद्र्धनमा आधारित हुनुपर्ने भनाई राख्नुभयो । साधारण सभामा बन उपभोक्ता समुहका अध्यक्ष रविन्द्र बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तिलोत्तमा नगरपालिका वडा नं. १–४ मा उत्पन्न हुने फोहोर संरक्षित बन क्षेत्रमा विसर्जन गर्ने गरेको र त्यसको व्यवस्थापनको लागि स्थानीय तहको ध्यानाकर्षण गराउनु भयो । उक्त सामुदायिक बन क्षेत्रमा रहेका मृग, निलगाई, बदेल, खरायो, स्याल, चितुवा, लगायतका जंगली जनाबर तथा पशुपंक्षीको चोरी शिकारीको समस्या रहेकाले यसको दीर्घकालिन समस्या समाधानको लागि व्यवस्थित गर्न आवश्यक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका हरिलाल पाण्डे, एमालेका तामलाल पाण्डे, नेकपा माओवादी केन्द्रका वेलप्रसाद पाण्डे, तिलोत्तमा नगरपालिका वडा नं. १ का अध्यक्ष फर्सुराम गिरी, बन समुहका कानुनी सल्लाहकार खुमाकान्त पौडेल, सामुदायिक बन उपभोक्ता महासंघ रुपन्देहीकी सचिव देवकला आचार्य, पार्षदहरु बासुदेव घिमिरे, नविना भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।
कार्यक्रम बन समुहकी उपाध्यक्ष कमला ज्ञवालीको स्वागत तथा सचिव कालिका अधिकारीको सञ्चालनमा भएको थियो । त्यसै अवसरमा शंकरनगर बनको कार्यक्षत्रमा पर्ने ५ वटा सामुदायिक विद्यालयका विपन्न तथा जेहेनदार १५ जना बालबालिकालाई जनही ३ हजार रुपैयाका दरले छात्रबृत्ति प्रदान गरिएको थियो भने तीन जना महिला उद्यमीलाई सम्मान गरिएको थियो ।