संकटोन्मुख अर्थ व्यवस्थाको डाइग्नोस्टर विष्णु पौडेल

98

संकटोन्मुख अर्थ व्यवस्थाको डाइग्नोस्टर विष्णु पौडेल

नुरजंग केसी /

मुलुकको आर्थिक गतिविधिको समग्र रुप नै अर्थव्यबस्था हो । नेपालको आर्थिक गतिविधि अहिले गम्भीर संकटको अवस्थामा छ।तरलता अभाव, अस्थिर व्याजदर, राजस्वको अधिकरण, आयतमा वृद्धि, व्यापार घाटा चुलिदों, विदेशी मुद्राको संचितिमा कमि, सार्वजनिक खर्चमा कमि, उद्योग –व्यबसायमा शिथिलता, चालू खाता घाटा लगायतका समस्याले नेपाली अर्थब्यबस्था गम्भीर संकटको अवस्थामा पुगेको छ । रुस–युक्रेन युद्धको कारण इन्धनमा मुल्यवृद्धि र यसले उब्जाएको बहुआयामिक क्षेत्रमा प्रभावको असर देखिदै छ । संकटोन्मुख अर्थव्यवस्थालाई लयमा ल्याउन र मुलुकमा आर्थिक तथा वित्तिय स्थायित्व स्थापित गर्ने जिम्मेवारी नवगठित सरकारका अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । यस अघि पनि २ पटक अर्थमन्त्रालयको अनुभव लिइसकेका पौडेल अर्थमन्त्रालयको हकमा अनुभवी हुन् । र उनले अर्थतन्त्रलाई कसरी सुधार्ने हुन् ? उनीसंग के कस्तो विशिष्ट क्षमताहरु छन, जुन हिजो देखिएका थिएनन् अब देखिन्छन् र त्यो कसरी प्रदर्शन गर्लान त्यो पछि देखिएला नै ।
२०५६ सालबाहेक २०५१ सालदेखि निरन्तर संसदीय यात्रामा रहेका मन्त्री पौडेलमा शैक्षिक योग्यता भन्दा पनि लामो अनुभव देखिन्छ । उनको शैक्षिक योग्यता त एसएलसी सम्मको मात्र हो । त्यो लामो अनुभव र सारथी अनि सल्लाहकारको टिमको सहयोगबाट संकटको डिलमा रहेको अर्थव्यवस्थालाई पार लगाउनु पर्ने छ । हुन त उनी अर्थमन्त्रालयको हकमा अनुभव गरिसकेका सांसद हुनु । दुई पटक अर्थमन्त्रीको रूपमा नेपाली जनताले व्यहोरी सकेको र उनले पनि आफ्नो क्षमता तथा कुशलता देखाउने अवसर पाइसकेको र देखाइसकेको पनि हो । तर उनीमा के त्यस्तो विशिष्ट क्षमता देखाउन अझै बांकि रह्यो ? र उनि तेस्रो पटक अर्थमन्त्री हुदैछन्, यत्रो संकटको अवस्थामा पनि अर्थमन्त्रालयको जिम्मेवारी उनलाई नै किन दिइएको होला ? अर्थतन्त्रको बारेमा धेरै थोरै ज्ञान र चिन्तन गर्ने ब्यक्तिको मनमा रहेको जिज्ञासा हो । तर उनीसंग विशेष विशिष्ट क्षमता छ, त्यो विशिष्ट क्षमता देखाउन बांकी थियो र यो अवसर दिइएको पनि हुन सक्छ । अब त्यो विशिष्ट क्षमता र आफ्नो कुशलता मुलुकको हितमा प्रयोग हुने छ, त्यो क्षमताबाट अब मुलुकमा तरलताको अभाव हट्ने छ । अस्थिर व्याजदर स्थिर र लयमा फर्किने छ । उद्योग–व्यवसाय राम्रोसंग चल्नेछ, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र सर्वसाधारण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने छ । उत्पादन बढ्ने छ, अर्थव्यवस्थाको आकार बढ्ने छ लगायतका हाल अर्थब्यबस्थामा देखिएका समस्या हट्ने छन्, अर्थब्यबस्था लयमा फर्काउन आफुसंग रहेको विशिस्ट क्षमता भरपुर उपयोग हुने छ भन्ने अपेक्षा पनि गरिएको होला ।
नेपाली अर्थतन्त्रको धेरै विसंगतिहरु छन् । जस्तै ऋणको व्यापक दुरुपयोग छ । विलासिताका सामानमा भएको ठूलो खर्च नियन्त्रण गर्न सकिएको छैन । सुनचादीमा हुने तस्करी नियन्त्रण गरी डलर बाहिरनबाट जोगाउन सकिरहेको छैन । सरकारी फजुल खर्च नियन्त्रण गर्नुपर्ने छ । बजेटमा नयाँ आयोजना थप्नु भन्दा पुराना आयोजना सम्पन्न गर्नपर्ने छ । पुराना कार्यक्रमलाई अलपत्र पारेर सस्तो लोकप्रियताको लागि नयाँ कार्यक्रम ल्याउनु घातक हुन्छ । विकास बजेटको पाइपाइ हिसाब मुलुकको समृद्धिसंग जोडिने हुँदा योजना कार्यान्वयनमा ढृढ संकल्पित हुनुपर्ने देखिन्छ । यी सबै काम विष्णु पौडेलबाट हुन सक्छ भन्ने विश्वास पनि लिइएको होला ।
घरेलुु उत्पादन बढाउनमा जोड दिनु पर्ने छ । घरेलुु उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने जिम्मेवारी पनि छ । घरेलुु उत्पादन बढाउन सकियो भने निर्यातमा सुधार आउने छ । आयात निरुत्साहित हुन्छ । अर्थतन्त्रको माइक्रो इकोनोमिक्स सुचक सकारात्मक हुदै जान्छ । यसबाट तरलता अभाव र विदेशी संचिती बढ्दै जान्छ । यसतर्फ अर्थमन्त्री गम्भीर हुनुपर्ने नै छ । साथै विप्रेषण आय व्यबस्थित गर्ने तथा स्वाबलम्वी अर्थनीति लागू गर्ने तर्फ अझ वर्तमान अर्थमन्त्री गम्भीर हुनु पर्ने छ । यसो गर्न सक्यो भने मुलुकको आर्थिक धरातल बलियो हुन्छ । धरातल बलियो भएपछि आर्थिक विकास र समृद्धि प्राप्त गर्न सजिलो हुन्छ । यसका लागि सक्षम राजनीतिक नेतृत्व आवश्यक हुन्छ । नेतृत्वले त्यो क्षमता विश्णु पौडेलमा देखेको हुन सक्छ ।
अर्थमन्त्रीमा विष्णु पौडेल २ पटक अर्थमन्त्रालयको जिम्मेवारी लिइसकेको अनुभवी र सक्षम नेतृत्व भन्नु नै पर्छ ! यहि सक्षमताको कारणले अर्थब्यबस्थाको यत्रो संकटको अवस्थामा पनि उनलाई नै फेरी अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । सत्तारूढ दलहरूका सांसदहरू मध्ये उहाँमा जतिको विशिष्ट क्षमता अरुमा नभएरै होला । बारम्बार त्यही मन्त्रालय र त्यही पदको जिम्मेवारी उहाँलाई दिइरहेको छ ।
तर बारम्बार एउटै पदमा बसेर काम गर्दा मनोटनस हुन्छ, अर्थात काम गर्न मन लाग्दैन । काम गर्ने इच्छा लाग्दैन । एउटै काम गरिरहदा कामप्रति वाक्क दिक्क पनि हुन्छ । हाम्रा नेताहरुलाई सांसद र मन्त्री भैराख्न मनोटनस भए जस्तो त लाग्दैन तर मनोटनस कै कारणले हो जनता र विकास निर्माणको काम चाहीँ पटकै चित्तबुझ्दो गर्दैनन् । त्यही भएर होला निर्वाचन क्षेत्रमा उहाँले विभिन्न निर्वाचनको बेलामा प्रतिबद्धता गरेका धेरै काम गर्न बांकी छ ।
तर जे होस विष्णु पौडेल फेरि अर्थमन्त्री हुनु भएको छ । यसअघि उहाँले खासै काम गरेको जनताले अनुभुती गरेनन् । वालुवाटार सरकारी जग्गा प्रकरणमा मुछिए । प्रदेश राजधानी बुटवलमा स्थापित गर्छु भनेर बोलेर पनि गर्न सकेनन् । यिनै र यस्तै कारणबाट उनले अहिलेको निर्वाचनमा बालबाल चुनाव जितेको अवस्था छ । उनले काम गर्ने हो र काम गरेको देखाउने नै हो भने अहिले यसलाई अवसरको रूपमा लिदै आफ्नो निर्वाचन क्षेत्रलाई पनि विशेष ध्यान दिनुपर्ने छ । बुटवलमा रहेको प्रदेश राजधानी फर्काउनु पर्दछ (स्मरण रहोस चुनावी अभियानको क्रममा राजधानी सरेको सन्दर्भमा उहाँले ‘ढुङ्गाले लेखिएको होइन, चकले लेखिएको डस्टरले मेटिन्छ’ भन्नु भएको थियो) बुटवल सबल आर्थिक क्षेत्र बनाउन सक्नु पर्दछ । बुटवल औद्योगिक क्षेत्र अत्यन्तै साघुरो भएको छ । अर्को औद्योगिक क्षेत्रको रूपमा मोतिपुरमा औद्योगिक क्षेत्र तत्कालै निर्माण गर्नु पर्ने छ । बुटवल धागो कारखानाको भवन प्रयोगबिहिन भएको छ । त्यसलाई तत्कालै प्रयोगमा ल्याउन पहल गर्नुपर्छ । ज्योतिनगर– लक्ष्मिनगर पहिरोको स्थायी समाधान खोज्नु पर्ने छ । तिनाउ– दानव करिडोर तिब्रताका साथ बनाउनु पर्ने छ । सुकुम्बासीलाई जग्गा धनी लालपुर्जा वितरण गर्नुपर्ने छ । बजारको मध्ये भागबाट गएको हाइटेन्सन लाईन हटाउनु पर्नेछ । सिद्धबाबा सुरुङमार्गको काम तिब्र गतिले बढाउनु पर्ने छ । समय मै तिनाउ नदिमा सिङ्गेचर पुल बनाउन लाग्नु पर्ने छ । बुटवल–नारायणगढ सडक खण्डको निर्माणकार्य समयमै सम्पन्न गराउनु पर्नेछ । बुटवल बजार धुलोधुंवा मुक्त बनाएर बस्न लायक÷घुम्न लायक बजार बनाउन लाग्नुपर्छ । यी निर्वाचन क्षेत्र विशेष कामहरु गर्नुपर्ने नै छ । यसको अतिरिक्त समग्र अर्थब्यबस्थको कांचुली फेर्न दत्तचित्त भएर लाग्नुपर्छ। उनको नेतृत्वमा अर्थव्यवस्थाको डाइग्नोसिस गर्नुपर्छ । यसको डाइग्नोसिस विष्णु पैडेलले गर्न सक्लान् भनेर नै यो जिम्मेवारी दिइएको हुन सक्छ ।
अर्थव्यवस्थाको डाइग्नोसिस गरेर लयमा ल्याउदै समृद्धिको दिशामा मुलुक अगाडि बढाइन आगामी दिनहरु उहाँको लागि परीक्षा हुनेछ । अपेक्षा गरे अनुसार परिणाम दिन उनी कति सफल होलान ? त्यो समयको क्रममा देखिदै जाला ।