बुटवलबाट हतियारसहित दुई जना पक्राउ

31

बुटवलबाट हतियारसहित  दुई जना पक्राउ

बुटवलको देवीनगरबाट हातहतियार र विष्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा नं. ४ अर्खावाङका ३५ वर्षीय नविनचन्द्र रेग्मी र कञ्चनपुर गणेशपुर नगरपालिका वडा नं. २ का २७ वर्षीय विश्वराज कार्कीलाई १ थान रिभल्वर, ३५ राउण्ड गोली लगायतका विष्फोटक पदार्थ सहित बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी गराउनु भयो ।
पक्राउ परेका उनीहरुलाई प्रहरीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा नविनको साथबाट १ थान रिभल्वर फेला परेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा सैनामैना नगरपालिका–१ पर्रोहास्थित नविनको कोठामा तलासी गर्दा ९ एमएमको गोली १४ राउण्ड, ७.२ एमएमको गोली ४ राउण्ड र ०.४ को गोली १७ राउण्ड गरि कुल ३५ राउण्ड गोली बरामद गरेको पनि उहाँले बताउनु भयो । त्यस्तै तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत प्रहरीले बरामद गरेको छ ।
विगतमा जनमुक्ति सेनामा रहेका नवीन स्वयच्छिक अवकास लिएर बसेको र उद्योगी व्यवसायीहरुको लिष्ट तयार पारी १० हजारदेखि लाखौ रकमसम्म असुलीका लागि धम्की दिने गरेको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताउनु भयो ।
त्यस्तो उजुरी पछि प्रहरीले अनुसन्धान थालेको र पक्राउ गर्न सफल भएको बताउँदै उहाँले उनीहरु उपर हातहतियार तथा विष्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।