‘प्रेमप्रसादको आत्मदाह लगायत प्रकाशमा आएका घटना प्रतिनीधिमुलक हुन्’

30

‘प्रेमप्रसादको आत्मदाह लगायत प्रकाशमा आएका घटना प्रतिनीधिमुलक हुन्’

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले प्रेमप्रसाद आचार्यको आत्मदाह लगायतका प्रकाशमा आएका घटना प्रतिनीधिमुलक घटना भएको बताएको छ । संघले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी प्रेमप्रसाद लगायतका घटनाले समग्र निजी क्षेत्रलाई मर्माहित र गम्भीर बनाएको बताएको हो ।
‘यी केही प्रकाशमा आएका प्रतिनीधी घटना मात्र हुन् र वर्तमान अर्थनीति तथा सरकारको निजी क्षेत्र प्रतिको रवैयामा सुधार नभएमा व्यवसायीहरु पलायन हुने मात्र नभई, प्रेमप्रसादकै नियती नआउला भन्न सकिन्न ।’ संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू र महासचिव बिमलराज भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘आगामी दिनमा व्यवसायीहरुको मनोवल बृद्धि गर्न अर्थ नीति, व्यवसायिक नीति, ऐन, कानुन, निर्देशनहरु, बैकिङ व्यवस्था, व्याजदर व्यवहारिक कार्यान्वयन योग्य व्यवसायमैत्री वातावरण बनिदिनका लागि निजी क्षेत्र सरकारको ध्यानाकर्षण गराउँदछ र अविलम्ब व्यवसायिक वातावरण सुधारको सम्बोधनका लागि जोडदार माग गर्दछौं ।’
मुलुकको कुल ग्राहस्थ उत्पादनमा ७० प्रतिशत भन्दा बढीको योगदान गरेको निजी क्षेत्रलाई प्रवद्र्धन र संरक्षण गर्नुको साटो राजस्व संकलनको माध्यम मात्रै ठानेको देखिएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ–‘अहिलेको यो जटिल अवस्थाले राज्यको यो शासन प्रणाली, कर प्रणाली, वैदेशिक व्यापार नीति, कृषि नीति, बैंकिङ नीतिले देशमा विकराल परिस्थिती सिर्जना नहोला भन्न सकिन्न ।’
ईलामका व्यवसायी प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा गम्भीर प्रश्नहरु उठान गरी यहि माघ १० गते संघीय संसद भवन अगाडि आत्मदाहको प्रयास गर्नु भएको थियो । प्रहरीले उद्धार गरी उहाँको उपचारका क्रममा माघ ११ गते विहान निधन भएको थियो ।
संघले जारी गरेको विज्ञप्तीमा यस अगाडि विराटनगर, लाहान, पर्सा, नेपालगञ्ज र केही महिना अगाडि बुटवलमा पनि यस्तै घटना भएको उल्लेख गरिएको छ । यस्ता घटना दोहोरिन नदिन देशमा उद्योग व्यवसाय सञ्चालन गर्ने बातावरण सिर्जना गर्न सरकारसँग अनुरोध गरिएको छ ।