पुनःप्रयोग योग्य वस्तुमा कर छुटको माग

35

पुनःप्रयोग योग्य वस्तुमा कर छुटको माग

पुनःप्रयोग योग्य वस्तु व्यवसायी संघमा आवद्व व्यवसायीले कर छुट गर्न सरकारसंग माग गरेका छन् । घरघरमा खेर गएका समान तथा वस्तुहरु संकलन गरेर उद्योगहरुलाई कच्चा पदार्थ पुराउने व्यवसायीलाई तिनै तहका सरकारले करमा छुट दिनुपर्ने बताए ।
नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित पद हस्तान्त्रण तथा सफथ ग्रहण कार्यक्रममा बोल्ने व्यवसायीले सरकारसंग कर छुटको माग गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भगवती जैशवालले सरकारले कर छुट गरेर पुनः प्रयोग वस्तु व्यवसायीका व्यवसायलाई उद्योग सरहको मान्यता दिन माग गर्नुभयो । कचडा समानहरु खरिद गरी व्यवसाय सञ्चालन गरेको बताउंदै जग्गाको अभावले व्यवसाय संकटमा परेको उहाँको गुनासो छ ।
कचडा तथा कवाड समानहरु संकलन गरी गुजरा चलाउने व्यवसायीका पसलहरुमा वडा कार्यालयहरुले ताला लगाइदिने काम गरेको गुनासो गर्दै यस्तो ज्यादती नगर्न स्थानीय सरकारहरुलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालकाका मेयर खेलराज पाण्डेले सबै पेशा व्यवसायलाई सहज हुनेगरी उपमहानगरपालिकाले समान रुपमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । बैज्ञानिक रुपमा करको दायरा कायम गर्ने बताउंदै व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था मिलाउने मेयर पाण्डेले बताउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञ पंगेनी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, गौरीशंकर गुप्ता, जवरलाल जैशवाल लगायतले बोल्दै तीनै तहका सरकारलाई व्यवसायीका हितमा काम गर्न आग्रह गर्नुभएको थियो । नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत अर्जुन कार्कीले सपथ ग्रहण गराउनु भएको थियो ।