नेपाल पत्रकार महासंघ रुपन्देहीले सवारी दुर्घटनामा पनि मृत्यू भएका पत्रकार एनवि कंडेलको परिवारलाई एक लाख १० हजार रुपैयाँ प्रदान गरिएको छ । सत्ता संघर्ष पुस्तकको विमर्श कार्यक्रमका अवसरमा मुख्यमन्त्री लिला गिरीको उपस्थितीमा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले कंडेल पत्नी मञ्जु कंडेललाई चेक हस्तान्तरण गर्नु भएको हो । महासंघ रुपन्देहीले सदस्यहरुका लागि गरेको दुर्घटना विमा मार्फत कंडेललाई उक्त रकम सहयोग गरेको हो । यसैगरि सोही अवसरमा केहि समयअघि दुर्घटनामा परि घाईते भएका महासंघका सदस्य बसन्त बराललाई पनि सहयोग प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकबारे शनिबार बुटवलमा विमर्श गरिएको छ । विगत २५ बर्षदेखि पत्रकारितामा सक्रिय भण्डारीले ३० बर्षमा बनेका २८ सरकारका नालीबेली समेटेर ‘सत्ता संघर्ष’ नामक पुस्तक प्रकाशन गर्नु भएको छ ।
रुपन्देहीबाटै पत्रकारिता थालेका भण्डारीको पुस्तकको विमर्श लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गिरीले पुस्तकमा भोगेका, देखेका र छामेका बिषयबस्तुहरु समेटिएको बताउनु भयो । उहाँले दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा नेपालमा सत्ता संघर्षमा कस्को स्वार्थ हावी भएको छ, त्यसको पनि खोजी गर्नुपर्ने बताउनु भयो । उहाँले दुनियाँभर सत्ताका लागि अल्पमत र बहुमत हुने कुरा स्वभाविक भएपनि नेपालमा बहुमत हुँदा पनि सरकार किन गिर्छ ? यसको कारण खोजी हुनुपर्ने बताउनु भयो । ‘भूराजनीतिक हिसाबले कसैको स्वार्थ छ की’ मुख्यमन्त्री गिरीले भने–‘यतातर्फ पनि मेहनत गर्न लेखक भण्डारीलाई सुझाव छ ।’ मुख्यमन्त्री गिरीले राजनीतिक स्थिरताले मात्रै मुलुक बन्ने बताउनु भयो ।
बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले पुस्तकले जीउँदो इतिहास बोलेको बताउनु भयो । उहाँले राजनीतिक परिवर्तनसँगै संस्कारिक परिवर्तन हुन नसक्दा पनि नेतृत्वमा कमजोरी देखिएको बताउनु भयो । उहाँले वर्तमान निर्वाचन प्रणालीका कारण पनि सरकार गठनमा धेरै दलहरुको सहभागिता गराउदा अस्थिरता पैदा भएको बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सोनिया यादवले पुस्तक राजनीति गर्नेहरुका लागि संग्रहणीय रहेको बताउनु भयो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले पुस्तकमा देखिएका तथ्य र बिषयहरुले वर्तमान राजनीतिको सवाललाई उदाङगो पारेको बताउनु भयो ।
पुस्तकमाथि समीक्षा गर्दै विश्लेषक आरसी आचार्यले पुस्तकले समेटेका अधिकांश विषयवस्तु यथार्थपरक रहेको र दलहरुले सत्ताका लागि गरेका प्रपञ्चहरुलाई समेटिएको उल्लेख गर्नुभयो । विमर्शमा पुस्तकका लेखक रामकृष्ण भण्डारीले १० वर्षको मेहनेतबाट पुस्तक बजारमा आएको बताउँदै पत्रकारिता जीवनमा आफूले देखेका, भोगेका, महशुस गरेका, अनुभव गरेका र विभिन्न नेता एवं व्यक्तिसँगको कुराकानीका आधारमा पुस्तक तयार पारेको जानकारी गराउनु भयो ।
पुस्तक विमर्शमा मुख्यमन्त्री गिरी सहित नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष, सल्लाहकार, पत्रकारहरु, राजनीतिक दलका नेता, विश्लेषक, साहित्यकार, उद्योगी व्यवसायी एंव विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । सांग्रिला बुक्सद्धारा प्रकाशित पुस्तकमा २०४६ को राजनीतिक परिवर्तनदेखि ०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्तासंघर्षमा केन्द्रित विषयवस्तुलाई समेटिएको छ । कार्यक्रम पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षतथा, सचिव विनोद परियारको सञ्चालनमा सम्पन भएको थियो ।