नाई संघ बुटवलमा पुनः विनोद ठाकुर

44

नाई संघ बुटवलमा पुनः विनोद ठाकुर

नेपाल नाई संघ बुटवल उपमहानगर समितिको अध्यक्षमा पुनः विनोद ठाकुरलाई चयन गरिएको छ । संघको सोमबार बुटवलमा भएको ३२ औं साधारण सभा तथा आठौं अधिवेशनले पुनः ठाकुरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विनोद ठाकुर, उपाध्यक्षमा दुर्गेश ठाकुर र महिला उपाध्यक्षमा सीतल केसीलाई चयन गरिएको छ । त्यस्तै सचिवमा कमल तिवारी, सहसचिवमा अजय ठाकुर र कोषाध्यक्षमा सर्वजित ठाकुर सहित १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको संघका लुम्बिनी प्रदेश अध्यक्ष सफातुल्ला रजाले जानकारी गराउनु भयो ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा आउन आग्रह गर्नुभयो । उहाँले करको दायरामा आउन समस्या भए त्यसमा छलफल गर्न आफू तयार रहेको बताउँदै नगरको सुन्दरता कायम राख्ने नगरपालिकाको अभियानमा समेत सहयोग गर्न आग्रह गर्नुभयो । नगरप्रमुख पाण्डेयले नाई व्यवसायीलाई आधुनिक र परिस्कृत हुन आग्रह गर्दै त्यसमा तालिम लगायतका कुरा नगरपालिका सहयोग गर्न तयार रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा बुटवल ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, मजदुर नेता काजिमान श्रेष्ठ, नेपाल नाई संघ लुम्बिनी प्रदेश अध्यक्ष सफातुल्ला रजा, पुराना व्यवसायी चुन्नीलाल ठाकुर रुपन्देही अध्यक्ष उमेश ठाकुर, उपाध्यक्ष जयश्याम ठाकुर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा संघमा योगदान गरेका सदस्यहरुलाई सममान गरिएको थियो ।