बंगुरको मासुमा उच्च प्रोटिन

1.3K

बंगुरको मासुमा उच्च प्रोटिन

बंगुरको मासुमा उच्च प्रोटिन र खनिजयुक्त खाद्य पदार्थ हुने भएकाले यसको प्रयोगले मानव शरीरमा रोग विरुद्ध लड्न सक्ने शक्ति (एन्टिबडी) उत्पादनमा सहयोग पुग्ने बताईएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा भएको कृषि मेलामा सञ्चालन गरिएको प्रथम पोर्क फेष्टिवलको अवसरमा आयोजना गरिएको बंगुरपालन व्यवसायको वर्तमान अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तोताहरुले तुलनात्मक रुपमा बंगुरको मासु मानव स्वास्थ्यको लागि सबैभन्दा राम्रो भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बंगुरको मासुको उत्पादन प्रयाप्त भएपनि स्वस्थता परीक्षणमा समस्या हुँदा निर्यातमा पनि समस्या देखिएको बताउनु भयो । उहाँले पशुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन सक्ने हो भने उत्पादित मासु निर्यात गर्न पनि सहज हुने र उत्पादन बढ्नुको लागि किसानले मुल्य पनि पाउन सक्ने भनाई राख्नुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै पशुपालन तथा पोषण विज्ञ तुलसीराम भण्डारीले बंगुरको मासुमा उच्च प्रोटिन र खनिजयुक्त खाद्य पदार्थ हुने भएकाले यसको प्रयोगले मानव शरीरमा रोग विरुद्ध लड्न सक्ने शक्ति (एण्टिबडी) उत्पादनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले बंगुरको मासुले मानव शरीर र दिमागको सम्पूर्ण विकासमा आवश्यक पर्ने पशुजन्य उच्च प्रोटिन र खनिज प्रदान गर्ने जानकारी गराउनु भयो ।
पशुपालन क्षेत्रको करिव करिव ४ अर्व राष्ट्रिय पुँजीमा योगदान छ । लुम्बिनी प्रदेशमा वाषिक १ लाख २३ हजार ६७१ मट्रिक टन मासु उत्पादन हुने तथ्यांक छ । त्यमध्ये बंगुरको मासु १९ हजार ७५ मेट्रिक टन उत्पादन हुन्छ । यो कुल उत्पादनको १५ प्रतिशत हो । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी राँगा तथा मैसीको ४९ प्रतिशत, खसी बोकाको २३ प्रतिशत र त्यसपछि बंगुरको १५ प्रतिशत र कुखुराको १० प्रतिशत मासु उत्पादन हुने गरेको छ ।
राँगा–भैसी, खसी–बोका, कुखरा भन्दा बढी प्रोटिन र मानव स्वास्थ्यको लागि बंगुरको मासु स्वस्थ्यकर मानिएपनि सहज प्रयोग भने हुन नसकिरहेको उहाँले बताउनु भयो । त्यस्तै यसको उत्पादनमा पनि बिभिन्न भाईरसबाट लाग्ने रोग बाधक बनेको छ । पछिल्लो समयमा अफ्रिकन स्वाईन फिवर, क्लासिक स्वाईन फिवर र स्वाईन पक्स जस्ता समस्या देखिँदा बंगुर पालनमा थप चुनौती बढेको डा. प्रदिप शर्मा पौडेल बताउनु हुन्छ । यसका लक्षण उस्तै उस्तै देखिने र खास उपचार पनि नभएकाले जैविक सुरक्षा अपनाउन उहाँको सुझाव छ ।
कार्यक्रम बंगुर व्यवसायी संघ लुम्बिनीका अध्यक्ष लिलाबहादुर सुर्यबंसीले पछिल्लो समय बंगुको मासु उत्पादन भएपनि विक्रि वितरणमा समस्या आएको र पाठापाठी पनि विक्रि हुन छाडेको बताउनु भएको थियो । विक्रि भईहाले पनि लागत भन्दा न्यून मुल्यमा विक्रि गर्नु परेको समस्या उहाँले राख्नु भयो ।