बुटवलबाट पाल्पाको ऐतिहासिक बसन्तपुर र नुवाकोट केवलकार सञ्चालनको तयारी

133

बुटवलबाट पाल्पाको ऐतिहासिक बसन्तपुर र नुवाकोट केवलकार सञ्चालनको तयारी

पाल्पाको ऐतिहासिक तथा पुरातात्विक क्षेत्र बसन्तपुर र नुवाकोट जोड्नेगरी बुटवलमा दुईवटा केवलकार निर्माण भईरहेको छ । लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने बसन्तपुर र वडा नं. २ मा पर्ने नुवाकोट गढी जोड्नेगरी तिनाउ नदिको वारी र पारी वेस स्टेशन राखेर बुटवलमा लुम्बिनी केवलकार र सिद्धार्थ केवलकार निर्माणको काम तिब्र पारिएको हो ।
तिनाउ नदिको पुर्वमा सिद्धार्थ राजमागसँगै बुटवल उपमहानगरपालिका वडा नं. ३ बमघाटमा आधार स्टेशन रहेको लुम्बिनी केवल कारको टप स्टेशन पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ बसन्तपुरमा छ । यो केवलकार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको हो । बसन्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्य सहित त्यसको आधारको रुपमा केवलकार निर्माण गर्न लागिएको लुम्बिनी केवलकार प्रा.लि.का अधयक्ष चन्द्रप्रसाद ढकाल बताउनु हुन्छ ।
यसले पाल्पाको बसन्तपुर क्षेत्रमा नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र आसपासको पर्यटन विकास संगै आर्थिक गतिबिधिलाई पनि चलायमान बनाउने उहाँको भनाई छ । यो केवलकारको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गर्नुभएको थियो ।
साढे तीन अर्व बढी लगानीमा निर्माण भईरहेको लुम्बिनी केवलकार यहि चैतको अन्त्य वा बैशाखको सुरुमा उद्घाटन गर्नेगरी काम भईरहेको छ । बसन्तपुरमा रहेको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ । त्यस्तै आएका पर्यटकलाई बसाउनको लागि रिसोर्टहरु, पाँच तारे होटल र पार्क सहितका संरचना बनाउने काम भईरहेको छ । पाल्पाको बसन्तपुर डाँडामा १५० कोठा सहितको पाँचतारे होटल बन्दै छ ।
लुम्बिनी केवलकारमा २५ वटा गोण्डुला (बाकस) हुन्छन् । एउटा गोण्डुलामा ८ जना यात्रु सवार गर्न मिल्छ । यसमा प्रतिघण्टा ६ सय यात्रु आवतजावत गर्न सक्नेछन् । यो केवलकार नियमित रुपमा सञ्चालनमा आउँदा दैनिक ५ हजार जनालाई ओहोरदोहार गराउन सकिने अध्यक्ष ढकाल बताउनु हुन्छ ।

सिद्धार्थ केवलकार

त्यस्तै तिनाउ नदि पश्चिममा पुर्वपश्चिम राजमार्गसँगै मणिमुकुन्द सेन उद्यान (फलवारी)को उत्तरतर्फको शिखर देउराली बनमा आधार स्टेशन रहेको सिद्धार्थ केवलकारले पाल्पाको ऐतिहासिक एवं पुरातात्विक महत्वको नुवाकोटलाई जोड्ने छ । यो केवलकारको पनि आधार स्टेशन शिखर देउराली र पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. २ नुवाकोटमा पूर्वाधार निर्माणको कामलाई तिब्र बनाएको छ । सिद्धार्थ केवलकारले सुविधा सम्पन्न रिसोर्ट बनाईरहेको छ । त्यस्तै बसपार्क चिल्ड्रेन पार्क, पर्यटन सुचना केन्द्र, शान्ति पार्क, गुम्वा, भ्यू टावर, स्वस्थ्य केन्द्र लगायतका संरचना बन्ने छन् ।
यो केवलकारको २०७७ फागुन ९ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्नुभएको थियो । १.९४ किलोमिटर लम्बाईको सिद्धार्थ केवलकारमा शिखर देउराली बनमा रहेको वेस स्टेशनबाट नुवाकोट डाँडामा ८ मिनेटमा पग्न सकिने छ । यसमा २५ वटा गोण्डुला (बाकस) रहने छन् । एउटा गोण्डुलामा ८ जना यात्रु सवार गर्न मिल्ने छ । नियमित रुपमा केवलकार सञ्चालनमा आउँदा दैनिक ५ हजार यात्रुलाई ओसारपसार गर्न सकिने यसका अध्यक्ष ई. राजेन्द्र सिंह गुरुङले बताउनु भयो । उहाँका अनुसार यो केवलकार अवको करिव ६/७ महिनामा निर्माण सम्पन्न हुने छ ।
केवलकार निर्माणसँगै सिंगो रुपन्देहीले दुई ठूला पर्यटकीय गन्तव्य पाउन लागेको बताउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले केवलकार सञ्चालनमा आएपछि यहाँको आर्थिक गतिविधि पनि थप चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।
गर्मि मौषममा बुटवल तथा आसपासको तराईको अधिकतम तापक्रम ४०/४२ डिग्री सेल्सियस हुन्छ भने त्यहि समयमा पाल्पाको ती स्थानको अधिकतम तापक्रम २० देखि ३० डिग्री सेल्सियस रहने भएकाले केवलकारले तराईको गर्मि छल्नको लागि सबैको सहज पहुँच हुने उहाँले बताउनु भयो । त्यसले बुटवलसँगै पाल्पाका ती स्थानको आर्थिक गतिबिधि पनि बढ्ने उहाँले बताउनु भयो ।