रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै

1.3K

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवद्र्धन एवं सरसफाई अभियानको सयौं श्रृङ्खलाको अवसरमा यहि चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो ।
तिलोत्तमा नगरपालिकाले २०७४ साउन ६ गते सुरु गरेको समुदायमा आधारित साप्ताहिक हरियाली प्रवद्र्धन एवं सरसफाई अभियान चैत १ गते एक सयौं श्रृङ्खला पुग्दैछ । नगरपालिकामा हुने ध्वनी प्रदुषणलाई नियन्त्रण गर्न नो हर्न नगरपालिका घोषणा गर्न लागिएको बुधबार नगरपालिकामा आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले जानकारी गराउनु भयो ।
हरियाली प्रवद्र्धन एवं सरसफाई अभियानको एक सयौं श्रीङ्खलाको अवसरमा नगरपालिकाले भोली बिहिबारदेखि साताव्यापी विविध कार्यक्रमको तयारी गरेको छ । जस अन्तरगत भोली बिहिबार टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालय स्तरीय वक्तृत्वकला तथा कला प्रदर्शन कार्यक्रम, २७ गते सरसफाई तथा रक्तदान, २८ गते शैक्षिक संघसंस्थाको परिषर तथा शौचालय सरसफाई कार्यक्रम, २९ गते लक्षित समुदायमा कम्पोष्टविन वितरण र ३० गते मानव सांङ्लो सहित सिक्सलेन सडक सरसफाई कार्यक्रम सञ्चालन गरिने छ । त्यस्तै मणिग्राम चोकमा निर्माण गरिएको सयौं श्रृङ्खलाको स्मारक उद्घाटन तथा साँझ नगरपालिकाको कार्यालयमा दीपावली गरिने नगरप्रमुख खाणले बताउनु भयो ।
अभियानको सयौं श्रृङ्दला पुग्ने दिन चैत १ गते मुख्य कार्यक्रमको आयोजना गरिने छ । जसमा झाँकी प्रदर्शन तथा सम्मान, नो हर्न नगरपालिका घोषणा तथा त्यसैदिन देखि नगरपालिकामा उत्पादन हुने कुहिने र नकुहिने फोहोर अलग अलग उठाउन सुरु गरिने छ । त्यसको लागि जनचेतना अभिबृद्धि गर्न सबै वडामा आफ्नो घर, आँगन, चोक, टोल, सडक, व्यवसायिक प्रतिष्ठान, कार्यालय तथा सार्वजनिक स्थानमा सघन सरसफाई गर्न नगरवासीलाई अनुरोध गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बालमैत्री नगरपालिका र सरसफाई अभियानका कारण तिलोत्तमा अरु नगरपालिका भन्दा अगाडि रहेको बताउँदै यसले नगरपालिकालाई एउटा लिकबाट अगाडि बढाएको बताउनु भयो । त्यस अवसरमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण अर्याल र कार्यपालिका सदस्य सुरेन्द्र श्रीले हरियाली प्रवद्र्धन एवं सरसफाई अभियानका बारेमा प्रष्ट्याउनु भएको थियो ।