स्ववियू निर्वाचन : रुपन्देहीका तीन क्याम्पसमा विवाद

24

स्ववियू निर्वाचन : रुपन्देहीका तीन क्याम्पसमा विवाद

स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीका तीन क्याम्पसमा त्यसै विषयलाई लिएर विवाद सिर्जना भएको छ । जसका कारण ती क्याम्पसमा अहिलेसम्म उम्मेदवारी दर्ता समेत हुन सकेको छैन ।
स्ववियू निर्वाचन हुने रुपन्देहीका ११ क्याम्पसमध्ये बुटवल उपमहानगरपालिकामा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस र तिलोत्तमा नगरपालिमामा रहेको राममणी बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएको हो ।
यहि चैतको ५ गते हुने स्ववियू निर्वाचनको सन्मुखमा बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा राष्ट्रिय जनमोर्चा निकटको अखिल छैठौंले संगठन दर्ता गर्न नदिएको भन्दै निर्वाचन कार्यालयमा तालावन्दी गरिदिएको छ । त्यसो त उक्त क्याम्पसमा विद्यार्थीका भर्नाको विवाद पनि छ । जसका कारण विद्यार्थी संगठनहरु एकठाउँमा हुन सकेका छैनन् ।
बुटवलकै लुम्बिनी वाणिज्य क्याम्पसमा सत्ता गठबन्धनमा आवद्ध दलका भातृं विद्यार्थी संगठनहरुले तालावन्दी गरिदिएका छन् । निर्वाचन कार्यालयले आचार संहिता कार्यान्वयन गर्न गराउन नसकेको, क्याम्पसले फर्जी प्रवेश परीक्षा गराई विद्यार्थी भर्ना गरेको लगायतका उनीहरुको आरोप छ । उनीहरुले छानविन समिती गठन गरि निश्पक्ष छानविन गर्न र सबै विद्यार्थी संगठनको सहमतिमा नयाँ निर्वाचन कार्यतालिका प्रकाशन गर्न माग गरेका छन् ।
तिलोत्तमा नगरपालिको मणिग्राममा रहेको राममणी बहुमुखी क्याम्पसमा नेपका एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववीयूले तालाबन्दी गरिदिएको छ । त्रिभुवन विश्वविद्यालयको निर्देशिका अनुसार फागुन ४ गतेसम्म भर्ना भएकाले मात्रै मतदान गर्न पाउने भए निर्वाचन अधिकृतको कार्यालयले फागुन १८ गतेसम्म भर्ना भएकाहरुको समेत मतदाता नामावली सार्वजनिक गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।
बाँकी बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, देवदह आर्दश बहुमुखी क्याम्पस, सहिद नारायण पोखरेल रामापुर क्याम्पस, हरैया बहुमुखी क्याम्पस, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस र सरस्वती संस्कृत क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता भएको ती क्याम्पसका निर्वाचन कार्यालयले जानकारी गराएका छन् ।