गभर्नरलाई ज्ञापन पत्र : व्याज घटाउन आग्रह

25

गभर्नरलाई ज्ञापन पत्र : व्याज घटाउन आग्रह

रुपन्देहीको तिलोत्तमा उद्योग बाणिज्य संघले मुलुकको अर्थतन्त्रलाई चलायमान गराउन बढ्दो ब्याज बृद्धि घटाउन माग गरेको छ । संघले बिहीबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर मार्फत् राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल ब्याजबृद्धि घटाई अर्थतन्त्रलाई पूर्ववतः अवस्थामा फर्काउन सहजीकरण गर्न आग्रह गरेको हो । संघका अध्यक्ष गुणनिधि भण्डारीको नेतृत्वमा ज्ञापन पत्र बुझाउन पुगेका उद्योगी व्यवसायीले कोरोना भाइरस, रुस युक्रेन युद्ध लगायत विश्वव्यापी प्रभावबाट अर्थतन्त्रमा समस्या देखिएको वर्तमान चुनौतीपूर्ण परिपे्रक्षमा अर्थतन्त्रलाई चलायमान बनाउन ब्याजदर एकल विन्दुमा राख्न देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका हुन् । कोरोना भाइरसको प्रभावबाट पुरानै अवस्थामा आउन नपाउँदै बैंक तथा वित्तीय संस्थाहरुले अत्याधिक मात्रामा ब्याज वृद्धि गरेका कारण उद्योगी व्यवसायीहरु यो जटिल परिस्थितिको सामना गरिरहेका ज्ञापन पत्रमा उल्लेख छ । मूलतः बजारमा लगानीयोग्य रकमको अभाव हुँदा ब्याजदर बढिरहेको जनाउँदै संघका अध्यक्ष भण्डारीले कच्चा पदार्थ इन्धन लगायतको मूल्य समेत बढेकाले बजार भाउ निरन्तर उकालो लागिरहेको जनाउनुभयो । एकातर्फ बैंक तथा वित्तीय संस्थाले पूँजी तरलताको अभाव भन्दै कर्जा प्रवाहमा कडाई गरिदिने र अर्कातर्फ ब्याजदर चर्को कायम गरिदिनाले उद्योग व्यवसायीहरु विस्थापित बन्दै गएको उहाँको भनाईछ । यसलाई सहजीकरण गर्न उहाँले माग गर्नुभयो ।
ज्ञापन पत्रमा उत्पादित सामानको मूल्य आकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको संघले जनाएको छ । ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरुत्साहित बनेको संघले ठहर गरेको छ । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन संघले गरेको छ । संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्थामा एउटा क्षेत्र व्यवस्थापन गर्दा अर्को क्षेत्रमा समस्या हुनसक्ने तर्फ राष्ट्र बैंक गम्भीर बन्न आवश्यक रहेको ज्ञापन पत्रमा जनाइएको छ । संघले बुझाएको ज्ञापन पत्रमा अहिलेको जटिल परिस्थितिमा धेरै विषयहरु संशोधन गर्न आवश्यक रहेको उल्लेख छ । ज्ञापन पत्र बुझ्दै राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक थानेश्वर आचार्यले परिस्थिति केही असहज भए पनि पछिल्लो समय सुधार हुँदै गएको बताउनुभयो । उहाँले नेपालमा उत्पादन बढाउन जोड दिनुपर्ने बताउँदै राष्ट्रय बैंकमार्फत् हुने समाधानका विषयहरु विस्तारै समाधान गर्दै जाने बताउनुभयो ।
संघले ज्ञापनपत्रमार्फत् बैंक तथा वित्तिय संस्थाको आधार दर वृद्धि हुने क्रमसँगै प्रिमियम समेत अस्वभाविक रुपमा वृद्धि भई ब्याजदर आकाशिएर उद्योगी व्यवसायको लागत उच्च हुँदा आधार दर बढ्दा प्रिमियम भने नबढ्ने सुनिश्चितता हुनुपर्ने, प्रिमियम दरलाई वान्छित सीमाभित्र राख्न नीतिगत व्यवस्था आवश्यक रहेको जनाएको छ । उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाई तत्काल लागु गर्न माग गरिएको छ । बैंक तथा वित्तिय संस्थाले लिने अतिरिक्त शूल्क, सेवा शूल्क दोब्बरसम्म बढेको व्यवसायीहरुको गुनासो आइरहेको सन्दर्भमा अस्वाभाविक रुपमा शूल्क लिन नपाइने व्यवस्था गर्नुपर्ने, सम्बन्धित खातावालाको पूर्व स्वीकृति बिना खाताबाट रकम ट्रान्सर्फर तथा भुक्तानी गरिरहेको यो अवस्थामा ग्राहकले असुरक्षित महसुस गरेको हुँदा यो व्यवस्था संशोधन गर्न आवश्यक रहेको संघले जनाएको छ । यस्तै, चालूपुँजी कर्जासम्बन्धी मार्गदर्शन–२०७९ दफा ८.४ कर्जाको रकम व्यावसायिक प्रयोजनका लागि कर्जा खाताबाट सोझै रकमान्तर गरेर मात्र कारोबार गर्नुपर्ने र मासिक रुपमा कर्जाको सीमाको दुई प्रतिशतभन्दा बढि रकम सोझै वा अन्य खातामा रकमान्तर गरेर नगद भिक्न नपाइने व्यवस्था गर्न माग गरेको छ ।