निर्माणका काम वर्षाअघि नै पूरा गर्न निर्देशन

47

निर्माणका काम वर्षाअघि नै पूरा गर्न निर्देशन

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका मुख्यमुख्य योजनाहरुको अनुगमन गर्दै वर्षाअघि नै सबै योजनाहरुको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने संघ, प्रदेश र बुटवल उपमहानगरपालिकाको लगानीमा निर्माणाधीन योजनाहरुको शुक्रबार प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसहित बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको थियो ।
बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको सडक क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र, योगीकुटीदेखि रानीगञ्जसम्मका सडक, अभियान पथको पर्खाल र निर्माणाधीन योजनाहरुको अनुगमन गदै प्रमुख पाण्डेयले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई सचेत गराउनुभयो ।
उहाँले निर्माण शुरु गरेर निर्माण गर्नुपर्ने अवधिभित्र पूरा गर्नेलाई पुरस्कृत गर्ने र समयमा निर्माण पूरा नगर्ने कम्पनीलाई दण्डित गरिने बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले बुटवलभित्र निर्माण हुने संरचनाको काम समयमै सम्पन्न गर्नका लागि संघ र प्रदेशलाई समेत ताकेता गर्न आग्रह गर्ने र समयमा पूरा हुनसक्ने गरी बजेट विनियोजन भएका योजनाहरु समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिश गर्ने बताउनुभयो ।