६६ औं राष्ट्रिय सहकारी दिवस : रुपन्देहीमा विभिन्न कार्यक्रम गरी मनाईँदै

84

६६ औं राष्ट्रिय सहकारी दिवस : रुपन्देहीमा विभिन्न कार्यक्रम गरी मनाईँदै

राष्ट्रिय सहकारी दिवसको अवसरमा रुपन्देहीका सहकारीहरुले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेका छन् । २०१३ चैत २० मा चितवनबाट सुरु भएको सहकारी अभियान ६६ औं वर्षमा प्रवेश गर्दैछ ।
६६ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा रुपन्देहीमा जिल्ला सहकारी संघ तथा विषयगत संघहरु बचत तथा ऋण सहकारी संघ, कृषि सहकारी संघ, सामाजिक उद्यमी सहकारी संघ लगायतका १२ वटा संस्थाको आयोजना तथा समन्वयमा सहकारीहरुले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको दिवसका बारेमा जानकारी गराउन शनिबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ६६ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समिति रुपन्देहीका संयोजक भिमप्रसाद तुलाचनले जानकारी गराउनु भयो ।
आईतबारबाट आयोजना हुने ६६ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा जिल्लाका ४५ वटा सहकारीहरुले दिवस विशेषका कार्यक्रमको तयारी गरेका छन् भने ६६ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले २० गते रुपन्देहीको देवदहमा मुल कार्यक्रमको आयोजना गरिएको जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्तप्रसाद ढकालले जानकारी गराउनु भयो । यो वर्ष ‘सहकारीको दीगोपना, स्वनियमन र सुशासन’ भन्ने नारा तय गरिएको छ ।

५५४ वटा सहकारी – ३८ अर्ब बढी बचत

सरकारी तथ्यांक अनुसार जिल्लामा ५५४ वटा सहकारी संस्था छन् । यो संख्या अहिले अझै बढेको अनुमान छ । सहकारी विभागले २०७७ सालमा प्रकाशित गरेको तथ्यांक अनुसार जिल्लामा ५५४ वटा सहकारी संस्था छन् । जसमा १ लाख ७४ हजार ७३३ जना शेयर सदस्य र ती सहकारीमा १ अर्ब ९४ करोड बढी शेयर पुँजी थियो । उक्त तथ्यांक अनुसार ३७ अर्ब ४२ करोड बचत थियो भने करिव १ हजार १ सय जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्तप्रसाद ढकालका अनुसार यो अहिले बढेर गएको छ ।

संयमता अपनाउन सञ्चालक तथा शेयर सदस्यहरुलाई अपिल

‘सहकारीको दीगोपना, स्वनियमन र सुशासन’ भन्ने नारालाई सार्थक बनाउनको लागि राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले सहकारी संस्थाका सञ्चालक तथा शेयर सदस्यहरुलाई १३ बुँदे अनुरोध अपिल गरेको छ ।
कोभिड १९ महामारी तथा रसिया युक्रेन युद्धले विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दीका कारण नेपालको अर्थतन्त्रमा पनि असर गरेको उल्लेख गर्दै सहकारी ऐन नियममा भएका प्रवद्र्धनात्मक व्यवस्थाको कार्यान्वयन एवं सहकारी संस्थाहरुको तरलता व्यवस्थापनको लागि सहुलियतपूर्ण कर्जाको माग भईरहेको सन्दर्भमा सहकारी संस्था तथा शेयर सदस्यहरुलाई संयमता अपनाउन आग्रह गरिएको हो ।